१७९ जनाले गरे रक्तदान « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

१७९ जनाले गरे रक्तदान


यलम्वर टाइम्स
११ कार्तिक २०७५, आईतवार १०:५९

बिर्तामोड । वीरता जेसीजको आयोजनामा आज शनिबार झापाको बिर्तामोडमा २९ सञ्चारकर्मीसहित १७९ जनाले रक्तदान गरेका छन् ।

झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटीको आह्वानमा वीरता जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल जेसीजकी निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौलाको प्रमुख आतिथ्यमा भएको समारोहमा वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले ६३औं पटक रक्तदान गरेका थिए ।

रेडक्रस झापाका अनुसार शनिबार वीरता जेसीजमार्फत भएको रक्तदानको संख्या यस वर्षकै सवैभन्दा बढी हो ।

रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगका भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौला, रेडक्रस झापाका मन्त्री चन्द्रप्रसाद चुडाल, झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले रगत अभावका बेला मानवताको सेवाका लागि वीरता जेसीजले उदाहरणीय काम गरेको बताए ।

जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, उपाध्यक्ष रमेश पोखरेल, वीरता जेसीजका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, राजेन्द्र चम्लागाई लगायतले समेत रक्तदान कार्यक्रम बृहत र उत्साहजनक भएको भन्दै प्रशंसा व्यक्त गरे ।

महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत रक्तदान संयोजक लुइँटेलले गरेका थिए भने आस्था वाचन सहकोषाध्यक्ष घनश्याम चौधरीले गरेका थिए ।

कार्यक्रममा जेसीजका अध्यक्ष गिरीले कार्यक्रमका लागि कार्यक्रमभन्दा पनि आवश्यकताको परिपूर्ति र मानवताको सेवाका लागि रक्तदानको आयोजना गरिएको बताए ।

कार्यक्रममा जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

रक्तदाताका लागि पर्याप्त बेड नहुँदा कतिपय रक्तदाता समय अभावका कारण फर्कनुपरेको थियो । कार्यक्रममा रक्तदान गर्ने सबैलाई प्रमाणपत्र तथा प्राविधिक सहयोग पु¥याउने रेडक्रसकर्मीलाई कदर पत्र प्रदान गरिएको थियो ।

रक्तदानका लागि लेट्स रन नेपाल झापा, नेपाल प्रहरी (जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय), सशस्त्र प्रहरी, नेपाली सेना, डब्लु आर आर, वीरता लेडी जेसीज, नेप्लिज टिन्स, छठ समाज सेवा समिति, लायन्स, लियो, रोटरी, रोट्रयाक, मारवाडी मञ्च, वाई आर एस लगायत विभिन्न संस्थाको तर्फबाट उत्साहजनक सहभागिता र सहयोग रहेको थियो ।

२९ सञ्चारकर्मीद्वारा सामुहिक रक्तदानझापाका सञ्चारकर्मी आफ्नो पेशासँगै आवश्यक पर्दा मानवीय सेवामा पनि उत्तिकै अग्रसर छन् भन्ने उदाहरण शनिबार बिर्तामोडमा देखिएको छ ।

जिल्लामा रगतको अभाव भएर बिरामीलाई समस्या भइरहेको बेला २९ जना सञ्चारकर्मीले सामुहिक रक्तदान गरेका छन् ।

वीरता जेसीजले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन तिनै सञ्चारकर्मीहरुबाट सामुहिक रक्तदान मार्फत् गरिएको थियो ।

कार्यक्रममा ३७ औं पटक रक्तदान गरेका बीबीसी नेपाली सेवाका सम्वाददाता उमाकान्त खनालको प्रतिक्रिया थियो– ‘झापामा रगत अभाव भएका बेला हामी सञ्चारकर्मीहरु हेरेर बस्न सक्दैनौं, त्यसैले बिरामीको जीवन बचाउनका लागि रक्तदानमा सरिक भएका हौं ।’

वीरता जेसीजका अध्यक्ष एवम् पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले झापाली सञ्चारकर्मीको रक्तदानमा उत्साहजनक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

गिरीले भने– ‘सञ्चारकर्मी पत्रकारिता पेशासँगै समाजका समस्या समाधानमा उत्तिकै अग्रसर र सक्षम छन् भन्ने उदाहरण सामुहिक रक्तदानबाट पुष्टि भएको छ ।’

वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले यति धेरै सञ्चारकर्मीले एकैसाथ रक्तदान गरेको आफूले पहिलोपटक देख्न पाएकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा धेरै सञ्चारकर्मीहरुले पहिलोपटक रक्तदान गरेका थिए । झापाका सञ्चारकर्मीहरु मोहन काजी, उमाकान्त खनाल, रञ्जित प्रसाईं, दयाराम दाहाल, प्रेम आचार्य, गणेशमान मुखिया, राजेन्द्र गौतम, हिमाल खरेल, विनोद सापकोटाले उत्साहका साथ रक्तदान गरे ।

त्यस्तै सञ्चारकर्मीहरु मनकुमार शर्मा, यम विमली, लक्ष्मी काफ्ले, नेत्रविक्रम विमली, सुरेन्द्र भण्डारी, लक्ष्मी उप्रेती, विरु दर्नाल, राधा खनाल, युवराज उप्रेती, रविन भट्टराई, भूमिका सुब्बा, विष्णु रिमाल, विजय बराल, राजु पौडेल, नरेश खाती, प्रणित पुडासैनी, शार्दुल ओली, नरेन्द्र ढकाल, किरण हुमागाई, दुर्गा काफ्लेले समेत उत्साहका साथ रक्तदान गरेका थिए ।

सञ्चारकर्मी नेत्रविक्रम विमलीले कार्यक्रममा ९९औं पटक रक्तदान गरेका हुन् ।