आईएलओमा आधारित ५ दिने खोज पत्रकारिता तालिम सुरु « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

आईएलओमा आधारित ५ दिने खोज पत्रकारिता तालिम सुरु


यलम्वर टाइम्स
१२ कार्तिक २०७५, सोमबार ०९:२३

इलाम । पाँच दिवसीय खोज पत्रकारिता प्रशिक्षण सोमबारबाट इलाममा सुरु भएको छ ।

खोजी पत्रकारिता गर्दै उत्तरदायी व्यवसायी प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) को आयोजनामा ‘उत्तरदायी व्यवसायका लागि अन्तरर्राष्ट्रिय श्रम संगठनको मापदण्ड तथा आधारहरु’ विषयक प्रशिक्षण सुरु भएको हो ।

अन्तरर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालित तालिममा पूर्वका ७ जिल्लाका २१ जना व्यवसायिक आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रशिक्षणमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटाबाट सहभागी छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) का १ नम्बर प्रदेश इन्चार्ज दिपीन राईले आदिवासी जनजाति नश्लका पत्रकारहरुले समाजको लागि जति उत्तरदायि भएर कलम चलाइन्छ त्योसँगै आफ्नो वर्ग र सम्प्रदायलाई कलमबाट जागरुक गराउन त्यतिकै दायित्व भएको हुँदा आईएलओमा आधारित विषयहरुलाई सुक्ष्म रुपमा ध्यान दिँदै अगाडि बढ्न तालिम उपयोगी रहने बताए ।

राईले अगाडि भने नेपालमा समग्र आदिवासी जनजाति र मधेसी मुलका पत्रकारको उदय नहुने हो भने तिनका भाषा संस्कृति र अधिकार गुमराहमा रहने थियो ।

त्यसैले अनिजबाट फोनिज हुँदै देशव्यापी आदिवासी जनजाति पत्रकारहरुलाई उठाउन फोनिज सक्रिय रहेको छ ।

फोनिज इलामका अध्यक्ष तथा परियोजना जिल्ला संयोजक राम योङहाङको अध्यतामा सुरु भएको प्रशिक्षणको उद्घाटन कार्यक्रमका वक्ताहरुले प्रशिक्षणबाट लिएका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि दिपीन राई, प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, फोनिजका संघीय सदस्य ख्याम भुजेल, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, इलाम शाखाका सहसचिव राजेश पराजुली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्य परियोजना संयोजक गंगा गुरुङले राखेकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) इलामकी सहसचिव सृजना श्रेष्ठले संचालन गरेको कार्यक्रमको स्वागत फोनिज इलाकी उपाध्यक्ष कौशिला राईले राखेकी थिइन् ।

प्रशिक्षण फोनिज, आईएलओ र एसीएफ परियोजना अन्तर्गत सुरु भएको हो ।