नदीजन्य सामग्रीको जथाभावी उत्खनन् रोक्न चारकिल्ला « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नदीजन्य सामग्रीको जथाभावी उत्खनन् रोक्न चारकिल्ला


यलम्वर टाइम्स
२ मंसिर २०७५, आईतवार ०६:५४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षका लागि बिरीङ र टाङटिङ नदीमा लगाएको ठेक्काबाट नदीजन्य सामग्री उत्खनन्का चार किल्ला गर्ने काम सकेको छ ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले हार्डविडबाट नदीजन्य सामग्री उत्खनन्का लागि ३ करोड ६१ लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।

आईईई प्रतिवेदनका आधारमा नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा वातावरणविद्, भूगर्भविद्, सुरक्षाकर्मी, सञ्चारकर्मी र ठेकेदारहरुसहितको सहभागितामा संघ, प्रदेश र स्थानीय तहको नीति र विधिअनुसार उक्त स्थानहरुमा चार किल्ला गरिएको हो ।

चुरेक्षेत्रको संरक्षण तथा त्यस क्षेत्रमा सम्बन्धित ठेकेदारले जथाभावीरुपमा नदीजन्य सामग्रीको उत्खनन् गर्ने कार्यलाई नियन्त्रण गर्न तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेख भएको मापदण्डअनुसार नदीजन्य सामग्रीको उत्खनन् गर्न चार किल्ला गरिएको नगर प्रमुख रानाले बताए ।

नदीको दुवै किनाराबाट नदीजन्य सामग्री निकाल्न नपाइने, नगरपालिकाले चार किल्ला गरेको स्थानबाट मात्र उत्खनन् गर्न मिल्नेगरी चार किल्ला गरिएको उनले बताए ।

‘प्रतिवेदनअनुसार उत्खनन् गर्न मिल्ने र नमिल्ने क्षेत्र किटान गरेकाले तोकिएको स्थानबाट नदीजन्य सामग्री निकाल्दा त्यसले पहिलेजस्तो असर गर्दैन’, प्रमुख रानाले भने । चार किल्ला गरिएको क्षेत्रको निगरानीका लागि स्थानीयबासीको सहभागितामा समिति खडा गरेर त्यसको संरक्षण गरिने पनि उनले बताए ।

चार किल्ला गरिएको क्षेत्रमा पनि कति मिटर खन्न मिल्ने भन्ने उल्लेख गरिएको उनको भनाइ छ । ‘बेल्चा लगाउने हो कि, मेसिन प्रयोग गर्न मिल्ने हो हामीले मापदण्ड तयार गरी प्रतिवेदनकै आधारमा तोकिएको छ’, उनले भने ।

उक्त क्षेत्रमा आधा मिटरदेखि तीन मिटरसम्म उत्खनन् गर्न मिल्ने भनी आईईई प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

प्रतिवेदन अनुसार नदीजन्य सामग्री उत्खनन्का लागि ठेक्का लागेको १८ वटा स्थानमा ७२ वटाभन्दा बढी किल्ला राखिएको छ । चारकिल्ला गर्ने कार्य बिन्दुली बाँधमुनिदेखि बिरिङ पुल मुनिसम्म गरिएको छ । त्यस्तै टाङटिङ खोलामा पनि चार किल्ला गरिएको छ ।

चार किल्ला गर्ने टोलीमा नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, बरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईं, वातावरणविद् ज्ञानेन्द्र चौधरी, भूगर्भविद् यदुनाथ तिम्सिना, ठेकेदारहरु उत्सव ढकाल, मित्र गोम्देन, शनिश्चरे प्रहरी चौकीका प्रमुख सई राजन खड्का, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, सचिव प्रेम आचार्यलगायतको सहभागिता रहेको थियो ।