अर्जुनधारा जलेश्वरधाममा बालाचतुदर्शी भव्य हुने « Yalambar Times
३० बैशाख २०८१, आईतवार

अर्जुनधारा जलेश्वरधाममा बालाचतुदर्शी भव्य हुने


यलम्वर टाइम्स
९ मंसिर २०७५, आईतवार ११:४७

अर्जुनधारा । पूर्वकै प्रख्यात धार्मिक स्थल मानिएको अर्जुनधारा जलेश्वरधामले महाभारतकालित घटनाक्रम एवम् धामको उत्पत्ति बारे विद्युतीय प्रदर्शनी गर्दै ३६ औं वार्षिक अनुष्ठान गर्ने भएको छ ।

मंसीर ११ गतेबाट सुरु भई २० गते शतबिज रोपण गर्दै सम्पन्न हुने अनुष्ठानमा धाममा आउने भक्तजनहरुलाई धामको उत्पत्ति, विकास र यसका पौराणिक कथाबारे जानकारी दिने उद्देश्यले विद्युतीय प्रदर्शनी गर्न लागिएको हो ।

धामका अध्यक्ष नविन गट्टानीका अनुसार धामको अनुष्ठानलाई सभ्य र भव्य बनाउन प्रदर्शनी लगायत धामको पोखरीभित्र कलात्मक संगीतमय फोहोरा (फाउन्टेन) प्रदर्शनी, देवकोटा चोकबाट धामसम्म आकर्षक विद्युतिय गेट र धामको मूल मन्दिर लगायत अन्य मन्दिरहरुमा पनि विद्युतीय सजावट गरिने छ ।

यो सँगै रमाइलो धार्मिक मेलाको आयोजना पनि गर्ने भएको धाम समितिले जनाएको छ ।

धामको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गट्टानीले यस वर्ष तीन लाख आन्तरिक तथा बाह्य धर्मावलम्बी, पर्यटकभित्र्याउने लक्ष्य रहेको बताए ।

उनले धाममा आउने भक्तजनहरुका लागि २५ रुपैयाँमा शुद्ध शाकाहारी खानाको समेत व्यवस्था गरिएको जानकारी दिए । मारवाडी महिला मञ्च र महेश्वरी आमा समूह लगायत अन्य स्थानीय संघसंस्थाहरुले खानाको व्यवस्था गर्ने जनाईएको छ ।

महासचिव विष्णु निरौलाले संगीतमय वातावरणमा हुने अनुष्ठानमा प्रत्येक साँझ विशेष गंगा आरती गरिने बताए ।

महासचिव निरौलाले अनुष्ठान भरी विभिन्न भजन किर्तन गर्नुका साथै मन्दिरको वृद्धि र विकास, गुरुकुल संस्कृत विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न पहल गरिने बताए ।

विभिन्न झाँकी सहित नगर परिक्रममा गरी सुरु हुने अनुष्ठानमा भविष्यमहापुराण, रुद्राभिषेक महायज्ञ एवम् धनधान्याचल महायज्ञ हुने जनाइएको छ ।

अनुष्ठानमा भागवत भुषण कौशिकजी महाराजबाट अमृतमय कथा प्रवचन र पं. चीरञ्जीवि ढुंगानाले पाठ परायण गर्नेछन् ।

अनुष्ठानमा दानवीर दाताहरु, भक्तजनहरुबाट संकलित रकमले धामको विकाससँगै शनि मन्दिरको पूर्णता, पुष्पलाल स्मृति सन्त भवन, अन्नदान अक्षयकोष, गुरुकुल अक्षयकोष, धामको भूमि विस्तारका लागि निरन्तरता दिने जनाइएको छ ।

धामका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा भएको कार्यक्रममा धामका गुरु अग्नी सिग्देल, उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा, सदस्य शेखर प्रधान, शंकर सुवेदी लगायतको उपस्थिति थियो ।

प्रचारप्रसार सहसंयोजक चतुर्भुज काफ्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा धामको विज्ञप्ति वाचन महासचिव विष्णु निरौलाले गरेका थिए ।