टिम्बुरे हत्या काण्डमा बँचेकी मनुको निधन « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

टिम्बुरे हत्या काण्डमा बँचेकी मनुको निधन


यलम्वर टाइम्स
३१ श्रावण २०७३, सोमबार ०६:५०

सन्देश सुब्बा

Untitled-1 copyपाँचथर / एकै परिवारका ५ जनाको ज्यान लिने गरी भएको पाँचथरको टिम्बुरे हत्या काण्डमा बँचेकी मनु दुलाल (प्रसाई) को आइतबार निधन भएको छ । मनुको अमेरिकाको न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा निधन भएको हो ।

वि.सं.२०५० सालमा पाँचथरको लुङरुपा–९ टिम्बुरेमा एकै परिवारका पाँच जनाको विभत्स हत्या भएको थियो । सो हत्या काण्डमा मनुका बाबु कुवेर दुलाल, आमा सरस्वती, भाईहरु उमेश र उद्धव त्यस्तै वहिनी कृष्ण दुलाल गरी पाँच जनाको हत्या भएको थियो । हत्याकाण्डमा बँचेका ज्ञानु र मनुमध्ये मनुको आइतबार निधन भएको हो । मनु डाइभरसिटि भिसा मार्फत सन् २०१४ मा श्रीमान नरेश प्रसाई, एघार बर्षीय छोरा निसम र पाँच बर्षिया छोरी निष्ठा सहित अमेरिका पुगेकी थिइन् ।

जानकारहरुका अनुसार लुङरुपा–९, टिम्बुरेका कुवेर दुलाललाई छिमेकी नाँगीन गाविस वडा नम्वर ३ सेजेपामा मारिएको थियो । त्यस्तै उनकी श्रीमती सरस्वती, छोराछोरी कृष्ण, उमेश र उद्ववलाई घरैमा टिम्बुरे स्थित घरैमा खुकुरी प्रहार गरी एकसाथ हत्या गरिएको थियो । अन्वेषक तथा लेखक डा.देवी क्षेत्री दुलालका अनुसार पारिवारिक राजनीतिक इगोका कारण टिम्बुरे हत्याकाण्ड भएको थियो ।

लामो समयसम्म हत्याकाण्डका दोषी पत्ता नलागेपछि दुलाल परिवारका आफन्तले अनुसन्धान टोलीको साथमा कुकुर ल्याएर अनुसन्धान गरेका थिए । अनुसन्धानमा खटाइएको कुकुरले कुबेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलाल सहित ८ जनालाई समातेको थियो । ओमनाथसंगै मणी, धर्म र युवराज दुलाल, विष्णु र कृष्ण दाहाल, दुर्गा नेम्बाङ लगायतलाई कुकुरले समातेको थियो ।

त्यसपछि पक्राउ परेका ८ मध्ये ७ जनाले आफूहरुलाई ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउँन लगाएको बयान थिएका थिए भने ओमनाथले पनि पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए । हत्या गराएको स्वीकारेपछि अदालतले ८ जनालाई जनही २० वर्षको कैद सजाय सुनाएको थियो । उनीहरु ३ वर्ष अघि कैद भुक्तान गरी जेलबाट छुटेका छन् ।

सो हत्याकाण्ड भएको बेला मनु नांगीन–५, स्थित पिपलवोटे उच्च माविमा पढ्थिन । ज्ञानु आफन्तको घर इटहरी गएकी थिइन । त्यसैले हत्याकाण्डबाट मनु र ज्ञानु बँच्न सफल भएका थिए । निर्मम र विभत्स उक्त हत्याकाण्ड टिम्बुरे हत्याकाण्को नामले चर्चित छ ।