जेसीज युवाहरुको ढुकढुकी : राष्ट्रिय अध्यक्ष पौडेल « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

जेसीज युवाहरुको ढुकढुकी : राष्ट्रिय अध्यक्ष पौडेल


यलम्वर टाइम्स
१२ माघ २०७५, शनिबार ०९:०७

अर्जुनधारा जेसीजको छैठौं पद हस्तान्तरण

[राजन साम्पाङ]
अर्जुनधारा,

एउटा औपचारिक कार्यक्रम तोकिएको समयबाट सुरु होला ? यो प्रश्नको रेडिमेट उत्तर हुन्छ, ‘नेपाली समय हो, डेढ–दुई घण्टा त ढिलो भइहाल्छ नी !’ तर, यसको ठीक विपरित पूर्व निर्धारित समयमै कार्यक्रम सुचारु गरिएको थियो । न त कुनै तानावानासहितको भत्ता कार्यक्रम थियो न त उपस्थित अतिथिहरुले नै झन्झटिलो अनुभव गरे । यो दृष्य हो, अर्जुनधारा जेसीजको छैठौं पद हस्तान्तरणको ।

वास्तवमा निर्धारित समयमा कार्यक्रम सुरु गर्नु र समयमै समापन गर्नु चुनौतिपूर्ण कार्य हो । तर, आएका अनेकौ समस्यालाई निराकरण गर्दै अर्जुनधारा जेसीजले बिहीबार दिनको ठीक ३ः३० बजेबाट कार्यक्रमको सुरुवात गरि निर्धारित समयमै समापन गर्दै उदाहरणीय बनेको छ ।

‘तोकिएको समयबाटै कार्यक्रम सञ्चालन गर्नु निकै चुनौतिपूर्ण कार्य हो’ अर्जुनधारा जेसीज वर्ष ०१८का अध्यक्ष अजयकुमार देवले भने, ‘सम्पूर्ण टिमको अथक प्रयास र निरन्तरताले कार्यक्रम सफल भएको छ ।’ अध्यक्ष देवले यसलाई चुनौति नभई अवसरको रुपमा लिएको बताए ।

देवले अगाडि भने, ‘जेसीजले नेतृत्व र व्यक्तित्व विकाससँगै समय व्यवस्थापनलाई पनि सकाउँछ, त्यसको फलस्वरुप कार्यक्रम समयमै सुरु भएर समयमै अन्त्य भएको हो ।’ उनले कार्यक्रमलाई सफल बनाउन निरन्तर खटिएका वर्ष ०१८ को टिम र विभिन्न क्षेत्रबाट साथ, सहयोग प्रदान गर्दै आएका व्यक्तित्वहरुलाई धन्यावद ज्ञापन गरेका थिए ।

सीमित वक्ता, सबैको स्वागत सम्मान र बिच–बिचमा भएको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई रोचकता प्रदान गरेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आँटे के हुन्न र ? भन्ने उक्तिलाई चरितार्थ गर्दै अर्जुनधारा जेसीजले कार्य सम्पन्न गरेको छ । छिटो, मीठो र तोकिएकै समय सीमाभित्र भएको हुँदा कार्यक्रम भत्ता नभएको उपस्थित अतिथिहरुको प्रतिक्रिया छ ।

‘धेरै कार्यक्रमहरुमा सहभागि भएकी छु, तर यति भव्य र व्यवस्थित कार्यक्रम भने देखेकी थिइन’ उद्यमशिल महिला संघ अर्जुनधाराकी अध्यक्ष सरु बुढाथोकीले भनिन्, ‘वास्तवमै जेसीजले सकारात्मक सोचको विकास गराउँदै समय व्यवस्थापन पनि सिकाउदो रहेछ ।’

बुढाथोकीको जस्तै प्रतिक्रिया छ, स्थानीय महिला नेतृ मिश्राकुमारी राईको पनि । पद हस्तान्तरण कार्यक्रममा सहभागि बनेकी राईले जेसीजको कार्यक्रम गर्ने शैली अनुशरण योग्य भएको बताइन् ।

नेतृ राईले भनिन्, ‘हामीले सबैको आत्मसम्मान गर्न सक्नुपर्छ, त्यो कुरा कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत सम्मान गर्दै जेसीजले सिकाएको छ ।’

जेसीज युवाहरुको ढुकढुकी

अर्जुनधारा जेसीजको आफ्नै भवन परिषरमा भएको पद हस्तान्तरण कार्यक्रमलाई उद्घाटन गर्दै जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले जेसीज युवाहरुको ढुकढुकी भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेतृत्व निर्माणमा जेसीजले खेलेको भूमिका संसारभरि चर्चामा रहेको बताए । उनले अगाडि भने, ‘जसले जेसीज बुझेर संस्थामा आवद्ध भई लिडर बन्नका लागि सहभागि हुन्छ, उ सक्षम भएरै छाड्छ ।’

यस्तै कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष इनु थापाले राष्ट्रको विकासमा युवाको भूमिका महत्वपूर्ण भएको हुँदा जेसीजले युवाहरुमाथि गरेको लगानी सदैव स्मरण योग्य हुने बताइन् ।

जेसीजद्वारा सम्मान

पद हस्तान्तरण कार्यक्रमको अवसरमा अर्जुनधारा जेसीजले गरेको कार्यमा सञ्चार क्षेत्रबाट सहयोग पुर्याएको भन्दै स्थानीय सञ्चारकर्मी इन्द्रकुमार राईले भिमबाबु–राधाकृष्ण पत्रकारिता पुरस्कारले सम्मान गरिएको थियो ।

राईसँगै ०१८ का उपाध्यक्ष स्व. निर्मल काफ्लेलाई वर्ष उत्कृष्ट युवा पुरस्कारले मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

सोही अवसरमा कार्यक्रममा कार्यकारी उपाध्यक्ष भास्कर भट्टराई, संयोजक विमला भट्टराई, कानूनी सल्लाहकार सुरेश थापा र देबु बानियालाई सम्मान गरिएको थियो ।

मानार्थ सदस्य वितरण

अर्जुनधारा जेसीजले पूर्व महासचिवद्वय कुमार भट्टराई र चन्द्र राना ‘लाफा’लाई मानार्थ सदस्य प्रदान गरेको छ ।

मानार्थ सदस्य वर्ष ०१८को बोर्डले प्रदान गर्ने प्रावधान बमोजिम यस वर्ष भट्टराई र लाफालाई मानार्थ सदस्य प्रदान गरिएको थियो ।

यसरी भयो चेन हस्तान्तरण

मानार्थ सदस्यता वितरण गरे पश्चातको कार्यक्रम थियो जेसीज चेत हस्तान्तरणको । निर्वाचन आयुक्त तथा वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले चेन हस्तान्तरण कार्यक्रमको उद्घोष गरिरहेका थिए ।

ढुंगानाले उद्घोष गरिरहँदा वर्ष ०१८ का अध्यक्ष अजयकुमार देवको गलामा रहेको चेन मातृ शाखा वीरता जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेत, अर्जुनधाराका संस्थापक इन्दिवर खड्का, पूर्व अध्यक्षहरु दिपीन राई, सार्दुल ओली, प्रल्हाद ढुंगाना लगायतले संयुक्त रुपमा ०१९ का अध्यक्ष टीकाराम गौतम गलामा पहिर्याइदिएका थिए ।

सपथ ग्रहण

गलामा अध्यक्ष जिम्मेवारी बोध गराउने चेन पहिरिएपछि ०१९ का अध्यक्ष गौतमलाई राष्ट्रिय अध्यक्ष पौडेलको रोहवरमा वर्ष ०१८ का अध्यक्ष देवले सपथ ग्रहण गराएका थिए ।

अध्यक्षको सपथ ग्रहण गरेपछि गौतमले आफ्नो टीमलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पश्चात आफ्नो स्वीकारोत्ती मन्तव्य राख्दै अध्यक्ष गौतमले अर्जुनधारालाई उच्च राख्न आफ्नो कार्यकाल सक्रिय रहने बताए ।

०१८ अध्यक्ष अजय देवलाई पूर्व अध्यक्षमा स्वागत

पद हस्तान्तरण गरे पश्चात ०१८ का अध्यक्ष अजयकुमार देवलाई पूर्व अध्यक्ष प्रल्हाद ढुंगाना र सार्दुल ओलीले पूर्व अध्यक्षको रुपमा स्वागत गरेका थिए ।

संस्थापक इन्दिवर खड्का, ०१४ का अध्यक्ष बसन्त सोमानी, ०१५ का अध्यक्ष दिपीन राई, ०१६ का सार्दुल ओली र ०१७ का प्रल्हाद ढुंगाना रहेको पूर्व अध्यक्ष क्लबमा पद हस्तान्तरणपछि अजय थपिएका हुन् ।

सांगीतिक प्रस्तुति

पद हस्तान्तरण कार्यक्रमलाई थप रोचक बनाउन स्थानीय विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा रुपरत्न, स्वस्तिका, प्रगति, सूर्यज्योति र एम्स एकाडेमी प्रस्तुति दिएको थियो भने एविड ब्याण्डका अनिल एक्तेन लिम्बू, रोशन परियार, नविन लिम्बू, सन्दिप दनुवारले सांगीतिक कार्यक्रम पस्केका थिए ।

को–को थिए त सहभागि

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननिय धर्मशिला चापागाई, नेकपाका नेता कुन्दन भट्टराई, नेपाली कांग्रेसका हेमराज खरेल, महिला नेतृ सरस्वति सिटौला, कुसुम राई, मिश्रकुमारी राई, लीलादेवी कटवाल, उद्यमी सरु बुढाथोकी, गंगादेवी कटवाल, सहकारीकर्मी ज्ञानु थापा, ट्राफिक प्रहरी प्रमुख राजेश राई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, पूर्व खेलाडी दिपेन्द्र ढकाल, प्याव्सनका रुद्रप्रसाद सिटौला, शनिश्चरे बहुमुखीका अध्यक्ष सरोज ओली लगायतको आतिथ्य रहेको थियो ।

महासचिव देवेन्द्र मैनाली र उर्मिला दाहालको संयुक्त सञ्चालन रहेको कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष भास्कर भट्टराई र जेसीज आस्था विमला भट्टराईले गरेकी थिइन् । जेसीजको मिशन, भिजन भने उर्मिला दाहालले वाचन गरेकी थिइन् ।