रमाइलोबस्तीमा कालोपत्रे बन्दा स्थानीय हर्षित « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

रमाइलोबस्तीमा कालोपत्रे बन्दा स्थानीय हर्षित


यलम्वर टाइम्स
३१ बैशाख २०७६, मंगलवार ०५:४४

अर्जुनधारा । ‘नगरपालिका भएपछि बाटो कालोपत्रे बन्छ भन्ने त थाहा थियो तर यति चाँडै बन्छ भन्ने चाँही लागेको थिएन’ स्थानीय युवराज पौडेल भन्छन्, ‘नगरपालिकाको सहयोगमा र स्थानीय युवाहरुको सक्रियतामा कालोपत्रे बनेको छ, उपभोग गर्न पाएका छौं खुशी लागेको छ ।’

अर्जुनधारा नगरपालिका वडा नं. ७ निवासी पौडेल आफ्नो घर छेवैको बाटो कालोपत्रे बन्दा दंग छन् ।

पौडेलसँगै स्थानीयहरु पनि पक्की बाटो बन्दा हर्षित भएका छन् । ग्राभेल बाटोमा हिंड ढुल गर्दा केही असज हुने र बर्खाको समयमा पानी जम्मेर समस्या हुन्थो । बाटो पक्की भएपछि त्यो समस्या नरहेको उनीहरुको प्रतिक्रिया छ ।

यता वडा नम्वर ७ का अध्यक्ष नवराम ढुंगाना ‘नविन’ले वडामै पहिलो कालोपत्रे बाटो बनाउन सफल भएकोमा सन्तुष्टि मिलेको बताए ।

‘पौडेल चोकदेखि दाहाल चोकसम्म बन्ने यो बाटो वडाकै पहिलो कालोपत्रे बाटो हो । यसलाई पूर्ण रुपमा बनाउन नसके पनि सन्तुष्टि मिलेको छ’, अध्यक्ष ढुंगानाले भने ।

शुक्रबार यस वर्ष तोकिएको स्थानसम्म बाटो निर्माण सम्पन्न गरिसकेपछि आयोजित सार्वजनिक कार्यक्रममा अध्यक्ष ढुंगानाले आफ्नो कार्यकालसम्ममा मदनपुरदेखि डीएमसीसम्म कालोपत्रे गरिसक्ने बताए ।

‘मदनपुरदेखि डीएमसी खोलासम्म करिब ४ किलोमिटर होला । साढे ३ किलोमिटर वडा नं. ७ मा र आधा किलोमिटर वडा नं. ४ मा पर्छ’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी यसलाई जसरी भए पनि कालोपत्रे बनाइ छाड्छौं ।’

उनले बाँकी आधा किलोमिटरका लागि वडा नं. ४ सँग समन्वय गरेर जाने बताए ।

अध्यक्ष ढुंगानाले मदनपुर–डीएमसी सडक खण्ड वडा नं. ७ को प्रमुख बाटोको रुपमा रहेको हुँदा प्रदेश र नगरले आगामी आर्थिक वर्षमा भौतिक निर्माणमा बजेट कम्ति निकासा गरे पनि बाटोलाई पूर्णता दिने बताए ।

उनले बाटो सन्तुष्टिमूलक ढंगबाट तोकिएको मिति अगावै काम सम्पन्नकोमा समितिलाई धन्यावाद प्रदान गरेका थिए ।

उक्त बाटोको हिसाब सार्वजनिक गर्दै समितिका सदस्य समिर गिरीले वडाको २५ लाख अनुदान र ३ लाख ७५ हजार ६ सय २२ रुपैयाँ जनसहभागिता गरी कुल २८ लाख ७५ हजार ६ सय २२ रुपैयाँमा निर्माण सम्पन्न भएको बताए ।

नगरपालिकाबाट बाटोका चौडाइ साढे ५ मिटर र लम्बाई ४४० मिटरसम्म कालोपत्रे गरिने भनिए पनि उपभोक्ताको सक्रियतामा चौडाइ साढे ६ देखि साढे ७ मिटरसम्म र लम्बाई ४८० मिटरसम्म गरेको उनले जानकारी दिए ।

निर्माण समितिका अध्यक्ष दिलिप पौडेलेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’, स्थानीय श्रीप्रसाद भट्टराई, जुकेखाडी सामुदायिक वनका पूर्व सदस्य सुशिला पौडेल, कमल निरौला लगायतको उपस्थिति रहेको थियो ।