जलेश्वरधाम परम्परागत शैलीमा नजान बोर्डको सुझाव « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

जलेश्वरधाम परम्परागत शैलीमा नजान बोर्डको सुझाव


यलम्वर टाइम्स
३१ बैशाख २०७६, मंगलवार ०७:३४

अर्जुनधारा । पर्यटन बोर्डका प्रतिनिधि उदय भट्टराईले नेपालका सय वटा पहिचानमध्ये अर्जुनधारा जलेश्वरधाम पनि परेको बताएका छन् ।

शुक्रबार बिहान धाम परिसरमा भएको पत्रकार सम्मेलनमा सरकारले सन् २०२० को महत्वकांक्षी पर्यटन वर्ष बोकेर आए पनि त्यसलाई सफल बनाउन सबै जागरुक हुनुपर्ने बताएका छन् ।

उनले गत वर्ष नेपालमा १० लाख पर्यटक भित्रिएको आंकडा आए पनि सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

अर्जुनधारा धाम पर्यटन सूचिभित्र राखिए पनि यसको प्रचार स्थानीय तह वा समितिबाट नभएको पाइएको हुँदा समिति जागरुक हुनुपर्नेमा जोड दिए ।

अर्जुनधारा धाम कंक्रिट निर्माणले मात्र प्रचार नहुने हुँदा यसको वास्तविकतातर्फ जानुपर्ने सुझाव दिए ।

बोर्डका प्रतिनिधि भट्टराईले काठमाण्डौ, ललितपुर र भक्तपुर मात्र पर्यटन क्षेत्र नभएको हुँदा संघीयतालाई पूर्णता दिनका लागि उपत्यका बाहिरका धार्मिक सम्पदाहरु पनि पर्यटकको सूचिमा पर्ने हुँदा पूर्वको अर्जुनधारा धार्मिक पर्यटनको सूचिमा राखिएको समेत जानकारी दिए ।

हाम्रो देशमा पर्यटन भित्र्याउने मुख्य आकर्षण धार्मिक सम्प्रदा, प्राकृतिक स्रोत, तालतलाउ र हिमशिखर जस्ता ठाउँ भएको हुनाले यस्ता ठाउँ मन पराउने राष्ट्रमध्ये भारत र चिन भएको हुँदा ति दुई देशका पर्यटकहरु भित्र्याउने माध्यममा नेपाल पर्यटन बोर्ड लागि परेको बताए ।

उनले धाम समितिलाई सुझाव दिँदै भने, ‘अर्जुनधारा जलेश्वर धाम परम्परागत शैलीबाट सञ्चालित भएको हुँदा अब फराकिलो भएर अगाडि बढ्नुपर्छ ।’

धाम कार्यवाहक अध्यक्ष अम्बिका खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य धामका गुरु अग्नी सिग्देलले गरेका थिए ।

बिहीबार धाम समितिले स्थानीय संघसंस्था, राजनीतिक दल र नगरपालिकाबीच अन्तरक्रियाको आयोजना गरेको थियो ।

नगर उपप्रमुख कमला आचार्यले धामलाई धार्मिक पर्यटन क्षेत्रमा होइन सबैको अपनत्व हुने खालको भावि कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

अन्तरक्रियामा धाम समितिले गर्दै आएको गतिविधि र गर्ने कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।