कुरितीको अन्त्य गर्न महागुरु फाल्गुनन्दको उदयः गुरु आत्मानन्द « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

कुरितीको अन्त्य गर्न महागुरु फाल्गुनन्दको उदयः गुरु आत्मानन्द


यलम्वर टाइम्स
१ जेष्ठ २०७६, बुधबार ०८:२६

अर्जुनधारा । तत्कालिन समयमा किरात संस्कारमा देखिएका कुरिती र विकृतिलाई हटाउन सजिलो कहाँ थियो र ? तर, ति समस्याका बाबजुद महागुरु फाल्गुनन्दले किरात समुदायका अगुवाहरुसँग सभ्य समाज निर्माणका एउटा मुचुल्का तयार गरेका थिए ।

किरात अगुवासँग गरिएको छलफलसँगै तयार भएको उक्त मुचुल्का लागू गर्न सजिलो थिएन । राणा शासनको दबदबा पश्चात् किरात समुदायमा उक्त मुचुल्का लागू गर्न अहोरात्र खटेको समय कष्टकर नै थियो ।

महागुरु फाल्गुनन्दको अथक प्रयास र निरन्तरताले तत्कालिन लिम्बूवानका अगुवाहरुलाई पाँचथरको लेब्रेकुटीमा भेला गर्दै जन्म, विवाह, मृत्यु जस्ता कार्यमा छोरीचेलीहरुको रीत नखाने, मासुमंश, मदिराको प्रयोग नगर्ने भनी सत्य मुचुल्का बनाएका थिए ।

वि.सं. १९८८ बैंशाख २५ गते तयार गरिएको उक्त मुचुल्कालाई किरात धर्मावलम्बीहरुले सत्यहाङ्मा मुचुल्का भन्ने गर्छन् । त्यसैगरी हरेक बैंशाख २५ गतेलाई समाज सुधार दिवसको रुपमा मान्दै आएका छन् ।

वर्तमान किरात धर्म गुरु आत्मानन्द लिङ्देनले पनि महागुरु फाल्गुनन्दका सद्विचारलाई जोड दिँदै आएका छन् । महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ती बाँडेको ज्ञानलाई वर्तमान गुरु लिङ्देनले फैलाउँदै आएका छन् ।

८९ औं समाज सुधार दिवसको अवसरमा खुदुनाबारीमा आयोजित शालिक अनावरण कार्यक्रममा आइपुगेका गुरु लिङ्देनले मानिसले मांशाहारी खाना र मदिराबाट टाढै रहनुपर्ने कुरामा जोड दिएका थिए ।

धर्म गुरु आत्मानन्द लिङ्देनले वर्तमान समयमा मानिसहरु विषादीयुक्त खानपान गर्ने हुँदा विभिन्न दीर्घरोगले च्याप्दै आएको बताउँदै त्यसैले सद्विचार, सत्कर्म र खानपानलाई ध्यान दिनुपर्ने जोड दिए ।

श्रृष्टिकै सर्वश्रेष्ठ प्राणी मानवले यस धर्तीमा पाइला टेके पनि मासुमंश, मदिरा सेवनबाट शरीरमा नकरात्मक तत्व फैलिएर हत्याहिंसा, झैझागडा जस्ता कार्य हुँदै आएको हुँदा धुम्रपान, मद्यपान जस्ता कार्य त्याग्नु पर्ने बताए ।

शालिक अनावरण कार्यक्रममा उपस्थित भक्तजनहरुलाई आशिर्वचन प्रदान गर्दै सदैव मित्र भावमा रही सत्यको बाटोमा मानव हिंडे विश्व शान्तिसँगै समृद्ध समाज निर्माण हुनेमा जोड दिए ।

उनले अर्जुनधाराको खुदुनाबारीमा समाज सुधारक गुरु फाल्गुनन्दको प्रतिमा राखेर सभ्य ठाउँका परिचय दिएकोमा धन्यवाद प्रदान गरेका थिए ।

सोही दिन गुरु आत्मानन्दले फाल्गुनन्द मार्गको अवलोकन गर्नका साथै फाल्गुनन्द पोखरी, फाल्गुनन्द कैदले वन बाटिका समेत अवलोकन गरेका थिए ।