सहकालेमा बत्ती बल्दा स्थानीयहरु हर्षित « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

सहकालेमा बत्ती बल्दा स्थानीयहरु हर्षित


यलम्वर टाइम्स
५ जेष्ठ २०७६, आईतवार ०७:१४

अर्जुनधारा । सिरसिर बतास डाँडामा टन्नतलापुर घाम । नजिकै आफ्नै भाकामा सुसेल्दै सुसाउँदै बगिरहेको खानी भञ्जाङ खोला । साँझपख धिपधिप बल्ने कुपी । समसाँझैं सुनसान बन्ने गाउँ । चकम्मन, एकान्त र अनकन्टार छ । न त उज्यालोमा घरधन्दा हुन्छ, न त बालबालिकाहरुले उज्यालोमै पढ्न पाउँछन्, दैनिक कामकाज गर्न सधैं अप्ठयारो छ ।

यसरी नै कैयौं पुस्ताले आफ्ना जीवनका अध्याँरा पलहरु अध्यारो कोठामा बिताए थिए, झापाका अर्जुनधारा नगरपालिका वडा–२ स्थित सहकाले बस्तीका बासिन्दाले । जहाँ २ सयको संख्यामा बसोबास रहेको छ ।

अर्जुनधारा–२को खुदुनाबारी–बेलटार–लाप्चेटार र ईलामको रोङ गाँउपालिका–२ अन्र्तगत रहेको मंगलटार–धनसार हुँदै पुल विहिन टाङटिङ नदी पार गरेपछि पुगिन्छ सहकाले ।

मिश्रित बसोबास भएको उक्त बस्तीमा राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्री समुदायको बसोबास छ ।

उत्तरमा इलामको शिरिसे बतासे, पूर्वमा फिक्कल, पश्चिममा माई नगरपालिका, दक्षिणमा रोङ र अर्जुनधारा नगरपालिका पर्दछ । जो कोही मानिस त्यस ठाउँ पुग्दा खुलेर बोल्न नसक्ने यहाँका बासिन्दाहरुको घरघरमा बजुली बत्ती बल्न थालेपछि आफ्नो जीवनका अध्याँरा अध्यायहरु अब सकिएको छ । अर्थात् सो क्षेत्रमा १७ घुरधुरीमा बिजुली बत्ती बल्न पुगेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–२, सहकालेका स्थानीय ५५ वर्षीया धनबहादुर बस्नेतले निर्वाचनमा खसाएको मत खेर नगएको बताए ।

‘गाउँमा बिजुली बत्ती आउँछ भनेर सपनामा पनि देखेको थिइन्’ उनले भने, ‘स्थानीय सरकारको गर्ने आँट भए जे पनि हुँदोरहेछ ।’

स्थानीय सहकालेबासीहरु भन्छन्, ‘साविक खुदुनाबारी गाविस हुँदा रकम विनियोजन भएर कुनै विकासको काम भएको हामीलाई थाहा छैन, तर अहिले गाउँमा पहिलो पटक बिजुली बत्ती बल्दा मनै हर्षित भएको महसुस गरेका छौं ।’

सहकाले बस्तीमा बिजुली पुग्दा यहाँका स्थानीयहरु खुसी छन् । वल्लतल्ल दुःखले निर्माण भएको सामान्य ट्रयाक हिडडुल गर्ने पुगेँ पनि वर्षायाम सुरु भएपछि त्यो पनि ठप्प हुन्छ ।

यहाँका स्थानीयले बिजुली बत्तिको मुख देख्न पाएका थिएनन् । खुदुनाबारी र इलामको सिमले क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्नु पर्ने यहाँका बासीहरु अन्तोतगतः आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी भएको ७० वर्षीय छविलाल मगर बताउँछन् ।

‘आफ्नो जीवनकालमा गाउँमै बिजुली बत्ती बल्छ भन्ने कल्पना गरेको थिइन्’ उनले हर्षित हुँदै भने, ‘तर स्थानीय सरकार हाम्रा लागि बरदान सावित भएको छ ।’

आफू निर्वाचित भएपछि भूगोल नहेरी बाटो निर्माणका लागि नगरपालिकाकोतर्फबाट योजना पठाएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए ।

त्यस क्षेत्रको विकासको लागि पटक–पटक स्थानीय जनताको आवश्यकता र मागको विषयमा मसिनो गरी संवाद गरेर योजना अगाडि सारेको बताउँदै बाटो निर्माण सम्बन्धमा आउने वर्षको योजनामा नगरपालिकाले प्राथमिकतामा राख्ने छ ।

निर्माण र विकासले सौतेनी डाहाँ परेको क्षेत्रहरुलाई समुन्नत समुचित र समयानुकुल विकास निर्माण गर्दै अगाडि बढाउने प्रमुख रानाले बताए ।

सानु बस्ती भए पनि नगरपालिकाले लगानी गरेर नागरिक बस्न योग्य ठाउँ बनाउने अठोट गरेकोप्रति प्रदेश सांसद बृख प्रधानले प्रशंसा गरेँ ।

जोडिएको विद्युतको संरक्षण, सम्वद्र्धन र दीर्घकालिन रुपले अघि बढाउन अब स्थानीयको दायित्व बुझेँर काम गर्नुपर्नेमा जोड दिए ।

विद्युत् प्राधिकरण शनिश्चरे उपशाखाका कर्मचारी कमल रायले स्थानीय सरकारको लगानीमा ग्रामीण विद्युत्तीकरणलाई तीव्र पारिएको बताए ।

स्थानीय सरकारको पहलमा इलामको सिमलेबाट करिब ५ किलोमिटर क्षेत्रबाट विद्युतको पहँुच सहकालेमा पु¥याएको प्राविधिकरणका कर्मचारी रायाले जानकारी दिए ।

पर्यटकीय गन्तव्य बन्न सक्छ सहकाले

पर्यटकीय र सुन्दर ठाँउ हो, सहकाले । निकै गर्मी मौसममा समेत चिसो सिरेठो चल्ने विशेषता बोकेको छ सहकालेले ।

यहाँ जनताका चरम गरिबी अभाव र असैय पीडा छन् । झापा जिल्लाको सम्भवत उच्च स्थान भनेर चिनिने अर्जुनधारा नगरमा रहेको सो क्षेत्र पर्यटकीय केन्द्रका रुपमा समेत विकास गर्नका लागि कार्यक्रम समावेश गर्ने नगर प्रमुख हरिकुमार रानाले बताए ।

बिजुली त बल्यो, गाउँघर खोप क्लिनिक भवन निर्माणका लागि शिलन्यास भइसकेको छ, बाल शिक्षाको कार्यक्रम आगामी वर्षबाट सञ्चालन गरी यहाँको जनजीवन फेर्ने लक्ष्य राखिएको नगर प्रमुख रानाको भनाइ छ ।

सांसद प्रधान र प्रमुख रानाले बत्ती बाले

प्रदेश सांसद बृख प्रधान नगरपालिका प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा स्विच अन गर्दै बत्ती बत्ती बाले । प्रधान र रानाले बत्ती बाल्दा स्थानीयहरु दंग देखिन्थे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख हरिकुमार रानाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पूरा गरेको जनाए ।

अर्जुनधारा नगरपालिकाको ११ लाख र जनश्रमदानबाट २ लाख ८१ हजार ५ सय ३९ रुपैयाँ गरी १३ लाख ८१ हजार ५ सय २९ रुपैयाँको लागतमा सहकालेमा बिजुली बत्ती बलेको पोल र तार विस्तार समितिका अध्यक्ष कृष्ण दंगालले जानकारी दिए ।

नगरको योजनालाई प्रदेश सरकारले सहयोग गर्ने

अर्जुनधारा नगरपालिकाले शहर बजारसँग गाम्रीण क्षेत्रलाई जोड्नु पर्छ भन्ने मान्यता राख्दै आएको छ ।

दुर्गम बस्ती र भूभागलाई विकासका लागि आँखाको नानी झैँ अघि बढेँको पाइन्छ । त्यसमा प्रदेश सरकारले पनि साथ दिने प्रतिबद्धता सांसद प्रधानले दिए ।

कृषिमा विषादी रहित उत्पादन आईपीएम पाठशाला र पशुमा बाख्रापालनको पकेट क्षेत्र बनाउने अवधारणा रहेको प्रमुख रानाले जानकारी दिए ।

सहकालेका लागि कार्यक्रम सञ्चालन गर्न सीमित श्रोत दिने त्यसलाई भरपूर सदुपयोग गर्नुपर्ने उनले सुझाव दिए ।

नगरका ५५ वटा टोल मध्ये एउटा नमूना टोल बन्नेमा आफूले विश्वास लिएको प्रमुख रानाको भनाई रहेको छ ।

कार्यक्रममा नगरका उपमेयर कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडा–२ अध्यक्ष रघुनाथ खनाल, बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, समाजसेवी रुपनारायण समाल, स्वास्थ्य संयोजक मुकुन्द बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले गरेका थिए ।