पाँचथर घटनाः दुई परिवारका नौ जनाको हत्या « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

पाँचथर घटनाः दुई परिवारका नौ जनाको हत्या


यलम्वर टाइम्स
७ जेष्ठ २०७६, मंगलवार ०५:३४

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

घटनाको पुष्टि वडाध्यक्ष हस्तराज फियाकले गरेका थिए ।

धनराजको परिवारका ५ जनाको हत्यापछि शव घर भित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घर भित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले बिहान मात्रै थाहा पाएका थिए ।

घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ लागेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।