भ्रष्टाचार रोक्न सक्छौं सरकार ? : जनमुक्ति « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचार रोक्न सक्छौं सरकार ? : जनमुक्ति


यलम्वर टाइम्स
१३ जेष्ठ २०७६, सोमबार ०७:२५

काठमाण्डौ । व्याप्त देखिएका भ्रष्टाचारलाई रोक्नका लागि राष्ट्रिय जनमुक्ति पार्टीले १५ गतेबाट भ्रष्टाचार विरुद्ध अभियान सञ्चानल गर्ने भएको छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जनमुक्तिले स्थानीय तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार जस्ता क्रियाकलाप देखिदै आएको हुँदा त्यस्ता भ्रष्टाचारीहरुलाई रोक्न सक्छौं सरकार ? भन्दै प्रश्न गरी अभियान सञ्चालन गरेको पार्टी महासचिव केशव सूर्यवंशीले बताए ।

‘हामी साना दल भए पनि प्रजातन्त्र उदय पश्चात् आम नेपालीको मन–मनमा छाएका छौं । भलै सत्तामा पुग्न नसकेतापनि यसले उठाएको आवाज अन्तर्गत धर्म निरपेक्षता, संघीय राज्य र समानुपातिक जस्ता कार्य राज्यले गर्न बाध्य भएको छ । हामी यतिमा मात्र सीमित छैनौं, संविधान पुर्नलेखनको पक्षमा उभिएका छौं’ महासचिव सूर्यवंशीले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै राज्यको हरेक तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक सहभागितासहितको प्रतिनिधित्व र नेपाली जनताले चाहेको संरचनागत १२ संघीय राज्य नभएसम्म पार्टी सानै भए पनि भ्रष्टाचार विरुद्ध अभियानमा जुटेको बताए ।

पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा भ्रष्टाचारीलाई देश द्रोहको मुद्दा, प्रमाणित भए जन्मकैद र बहुदलीय व्यवस्था यता उपल्लो दर्जामा बसेर अकुत सम्पत्ति कमाएकाहरुमाथि छानबिन हुनुपर्ने महासचिव सूर्यवंशीले बताए ।

उनले भ्रष्टाचारलाई हेर्ने विशेष अदालत भए पनि त्यो नाममात्रको दस्तावेज राख्ने अदालत भएको हुँदा शक्तिशाली नागरिकको अदालत बनाउनुपर्ने बताए ।

हिजोआज गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा भए देखिएका भ्रष्टाचारमा सरकार मौन छ । सरकार आफै एनसेल, बालुवाटार, मेलम्ची र गुठी जस्ता कार्यमा फसेर अकुत आर्जन गरिरहेको देखिन्छ । त्यसका विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी चुप लागेर बस्न नसक्ने भएको हुँदा अभियान अगाडि बढाइएको बताए ।
पदको दुरुपयोग गरेर विभिन्न ठाउँमा मोजमस्ती गर्नेहरुको संख्या बढ्दै गएको हुँदा त्यसलाई रोक्न अभियान जारी रहने जानकारी दिए ।

भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण नगरेसम्म प्रत्येक नेपाली नागरिक घरैमा बसिबसि ऋणको बोझ बोक्ने अवस्था भएको हुँदा अभियानलाई सफल पार्न आम नागरिकमा आव्हान गरेको छ ।