अब बन्ने बजेट वडाबासीको भावनाबाट बन्नुपर्छ « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

अब बन्ने बजेट वडाबासीको भावनाबाट बन्नुपर्छ


यलम्वर टाइम्स
१३ जेष्ठ २०७६, सोमबार ११:५०

बैसाबाडी । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले वडाबासीसँग बसेर वडाको नीति कार्यक्रम ल्याए वडाबासीको भावना समेट्न सके विकास कार्यमा बाधा अड्चन नआउने बताएका छन् ।

सोमबार वडा नं. ५ ले आयोजना गरेको वडाको समिक्षा कार्यक्रममा प्रमुख रानाले वडाबाटै नगरको समृद्धि हुने भएको हुँदा जग बलियो बनाउन वडामा निष्पक्ष, निस्कलंकका साथ विकास गर्न जरुरी रहेको बताए ।

‘हामी नगरको विकास गर्न भनेर जनताले चुनेका हुन् । हामीले निर्माण गरेका भौतिक संरचना जनताले उपभोग गर्न पाएनन् भने लोकतान्त्रिक गणतन्त्र नेपालको कुनै अर्थ रहँदैन’ प्रमुख रानाले अगाडि भने, ‘हामी जे गर्छौं त्यसको प्रत्यक्ष लाभ जनताले पाउनुपर्छ ।’

बैसाबाडी स्थित वडा कार्यालयको सभाहलमा भएको समिक्षा कार्यक्रममा यस नगरलाई पर्यटकीय नगर बनाउने कार्यमा लागेको बताउँदै नगरलाई स्वच्छ राख्न नगरबासीमा आव्हान गर्दै कुहिने र नकुहिने फोहोरलाई छुट्याएर प्राङ्गारी मल र पेट्रोलियम पदार्थ जस्ता पदार्थ निर्माण नगर लाग्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष ध्यानबहादुर भारतीले प्रतिवेदनमार्फत वडाको सम्पूर्ण गतिविधि बताएका थिए ।

अध्यक्ष भारतीका अनुसार वडाले गत आर्थिक वर्षमा ल्याएको कार्यक्रमहरु करिब ८० प्रतिशत पूरा भएको र बाँकी २० प्रतिशत सञ्चालन हुँदै आएको छ ।

वडाले आर्थिक वर्ष ०७५÷०७६ का लागि १ करोड ११ लाख ५० हजारको बजेट विनियोजन गरेको थियो ।

कार्यक्रममा अध्यक्ष भारतीले बजेट वडा नं. ५ को बजेट फ्रिज भएर नजाने बताए ।

उनले प्रदेश सरकारबाट कृषकहरुका लागि डीप बोरिङ ल्याउन सफल भएको बताए ।

यसका साथै वडा नं. ५ ले चुरेसँग सहकार्य गर्दै बासबारी पश्चिम धर्धरेमा बाँध कसेको र कैलाश घाट छेऊमा तटबन्धनको काम हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा नेकपा वडा नं. ५ का अध्यक्ष वुद्धिसागर कट्टेल, नेपाली कांग्रेस वडा सभापति देवी खतिवडा, महिला नेतृ देवकला प्रसाई, अम्मरदीप भेटवाल, वडासदस्य कुन्दन भट्टराई, जीवनकुमार थापा, सन्तोष कार्की, भानु माविका अध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन डम्मर घिमिरे र स्वागत वडा सदस्य खड्गप्रसाद चौहानले गरेका थिए ।