भ्रष्टाचार बढेको चर्चा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचार बढेको चर्चा


यलम्वर टाइम्स
१८ जेष्ठ २०७६, शनिबार ०३:००

कांग्रेसको देशव्यापी जागरण अभियान

अर्जुनधारा । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा अधिकांश वक्ताहरुले आफ्नो भनाई राख्ने क्रममा भ्रष्टचार मौलाएको कुरा व्यक्त गरेका छन् ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस भन्ने नारा सहित जागरण अभियान सञ्चालन गरेको कार्यक्रममा स्थानीय सरकारका आफन्तहरु आर्थिक मामलामा लपटिएको अभियानमा सरिक केन्द्रिय नेताहरुलाई दर्शाएका थिए ।

नेपाली कांग्रेस इतिहास रचेको दल भएको हुँदा लोकतन्त्रलाई खतरा मुक्त पार्न कांग्रेस दर्बिलो हुनुपर्ने पनि सुझाव दिएका थिए । संविधान लोकतान्त्रिक छ तर व्यवहार तानाशाही हुँदै गएको हुँदा लोकतन्त्रमा विश्वास राख्ने जो कोही जागरुक हुनुपर्ने जनाए ।

वक्ताहरुले अगाडि भने, पूर्ण प्रेस स्वतन्त्रतामा अंकुश लाउँने काममा सरकार तल्लिन भएको हुँदा भ्रष्टचारले स्थान पाएको हो ।

कार्यक्रममा जागरण अभियानको औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले जागरण अभियानले कार्यकर्तामाझ एकतामा बाँध्न सहयोग पुग्ने दर्शाउँदै गुट र उपगुटको अन्त्य गर्नुपर्ने सन्देश रहेको बताए ।

सभापति थापाले विधान संशोधनपछि संघीय संरचनालाई कार्यकर्ता माझ अवगत गराउन र लागू गर्न अभियान अगाडि सारिएको जानकारी दिए ।

थापाले इतिहास बोकेको दल नेपाली कांग्रेस अब नयाँ संरचनाबाट जनतामाझ अगाडि बढेको हुँदा झापामा शनिबार १५ स्थानमा कार्यक्रम गरी समापन गरिने समेत जनाए ।

सत्ता पक्षको एक वर्षे कार्यकाल राम्रासँगै नराम्रा काम पनि त्यतिकै भएको हुँदा त्यसलाई खबरदारी गर्नुपर्ने बताए ।

सरकारको एक वर्षे कार्यकाल यता भ्रष्टचार, अनियमितता र काला बजारीयाले स्थान पाउँदै गएको सभापति थापाले जागरण कार्यक्रममा अवगत गराएका थिए ।

अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित कार्यक्रममा जागरण अभियानका प्रमुख अतिथि पूर्व राज्यमन्त्री नारायण शर्मा पौडेलले कांग्रेस पार्टी जनताको भावनासँग जोडिनका लागि जागरण अभियान लिएर जनतामाझ आएको बताए ।

पार्टीलाई मनोक्रान्तिको आवश्यकता छ, कार्यकर्तालाई जागरुकताको सन्देश प्रदान गर्नु छ । आउने दिन गुट–उपगुटको अन्त्य गरी नेपाली कांग्रेस हौं भन्ने सन्देश दिनुपर्ने बताए ।

प्रमुख अतिथि पौडेलले चुनावको विषयलाई लिएर कार्यकर्ता माझ दोषारोपण गर्दा कांग्रेस पार्टीभित्र क्षति पुग्ने भएकोले विचार र सिद्धान्तको आधारमा हिड्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा महिला नेतृ सरस्वती सिटौलाले पार्टीभित्र परिक्रमा गर्नेहरुको संख्या बढेको हुँदा त्यसलाई अन्त्य गरी पराक्रमलाई जोड्न तर्फ लागे पार्टी मजबुत हुने कुरामा जोड दिए ।

जागरण अभियानका अर्जुनधारा नगर सभापति हेमराज खरेलको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता दिपेन्द्र ढकाल, विशाल शिवाकोटी, कृष्ण हुमागाई, हस्त परियार, सुशिला सुवेदी, सुवास बस्नेत आदिले एकताबिना कुनै काम गर्न नसकिने भएको हुँदा पार्टी भित्रको गुट र उपगुटलाई अन्त्य गरि अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

पार्टी सचिव प्रेम सम्वाहाम्फे, मजदुर नेता दिपक तामाङ, यज्ञप्रसाद अधिकारी, सुकुम्बासी आयोगका पूर्व अध्यक्ष लिलक सिटौला, महिला नेतृ सीता पौडेल, पार्वता गिरी, चन्द्रकला भण्डारी, उपसभापति राम कट्टेल, कांग्रेसका अग्रणी योद्धा डिल्ली सिटौला, दलित नेता राजकुमार बराईली, महासमिति सदस्य खड्ग प्रसाई, बिनकुमार विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो ।

वीपीको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा नगर सचिव रामबाबु बुढाथोकीको स्वागत रहेको थियो भने सञ्चालन सचिव मुक्ति सुवेदीले गरेका थिए ।

अभियानमा अधिकांश पार्टीका क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
आज शनिबार नेपाली कांग्रेस बिर्तामोड नगर समिति र दमक नगर समितिले संयुक्त रुपमा जागरण अभियान सञ्चालन गर्ने भएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।