झापाको कारागारभित्र साकेला उभौली « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

झापाको कारागारभित्र साकेला उभौली


यलम्वर टाइम्स
२१ जेष्ठ २०७६, मंगलवार ०९:२३

[राजन साम्पाङ]

भद्रपुर । २०७६ जेठ १२ गते आईतबारको दिन । कार्यक्रमको स्टेज अगाडि एउटा टेबल छ । टेबलमाथि नेपालमा प्रचलित विभिन्न धर्मका पवित्र ग्रन्थहरु छन् । टेबल किरात समुदायको किरात मुन्धम, हिन्दूहरुको गीता, बौद्ध धर्मालम्बीहरुको त्रिपिटक, क्रिश्चियनको बाइबल, मुसलमानको कुरान लगायत अन्य धार्मिक ग्रन्थहरुले सुशोभित छ । यो सँगै टेबलमा लेखिएको छ धर्म निरपेक्षता ।

यस्तो दृष्य देखिएको छ, झापाको कारागारभित्र आयोजित साकेला उभौली कार्यक्रममा । टेबलमाथि राखिएको धार्मिक ग्रन्थले धार्मिक सहिष्णुताको महत्व दर्शाइरहेको थियो । उपस्थित सबैको ध्यान आकृष्ट गरेको थियो ।

कारागारमा रहेका कैदीहरुले यो कार्यक्रममार्फत सबै धर्मको सार एउटै भएको सन्देश दिन खोजिरहेका थिए । धर्म निरपेक्ष मुलुकमा सबैले सबै धर्मप्रति सद्भाव राख्दै आफ्नो चाडपर्व मनाउन पाउनुपर्छ भन्ने सन्देश दिएका थिए ।

फरक र पृथक ढंगबाट आयोजित उभौली साकेला कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति बसोबास रहेको मुलुक भएको बताए ।

उनले विश्वमा धर्मका नाममा द्वन्द भइरहेको बेला नेपालमात्र त्यसबाट मुक्त रही एकआपसमा सद्भाव कायम गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सहायक प्रजिअ पोखरेलले धार्मिक सहिष्णुताको लागि कैदी बन्दिहरुले सबै धर्मको ग्रन्थलाई समान मान्दै प्रर्दशन गर्नु स्वागत योग्य रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा विशिष्ट अतिथि कारागार झापाका जेलर राजेन्द्र निरौलाले धर्म निरपेक्षताको कुरा उठिरहेको बेला कारागारका कैदी बन्दिहरुले सबै धर्म संस्कारलाई समेटेर कार्यक्रम गरेको हुँदा यसले एक आपसमा भातृत्व प्रदान गर्ने बताए ।

स्टेज अगाडि धार्मिक ग्रन्थ राखेर किरातीहरुको उभौली सोकला सिली नृत्य कार्यक्रम भइरहँदा बन्दी किरात साकेला मञ्चका संरक्षक मोहनप्रसाद धितालले कारागारभित्र यस्तो खालको कार्यक्रम नेपालमै पहिलो भएको बताउँदै कारागारभित्र भाइचाराको संस्कार स्थापना हुने बताउँछन् ।

कारागारभित्र सम्झना स्वरुप अस्थाई रुपमा राखिएको साकेला थानमा सिली माङ्पा सन्तोष राईले किराती मुन्धमबाट प्रकृतिलाई पुकार्दै सुरु गरिएको साकेला नृत्य कार्यक्रममा किराती परिकारका परम्परागत खाना कोदोको ढिडो, सिस्नो खुवाइएको थियो ।

मञ्चका संरक्षक धितालको सभापतित्वमा भएको कार्यक्रममा बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगर, बन्दी सहायता नेपाल पूर्वाञ्चल निर्देशक जगतबहादुर राना मगर लगायतको आतिथ्य रहेको थियो ।

सोही बेला कार्यक्रममा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

मञ्चका संयोजक हेमन्त राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार युवराज गिरीले गरेका थिए ।

किरात राई जातिले हरेक वर्ष बैशाख पूर्णिमाको दिनबाट करिब एक महिनासम्म उभौली सकेला पर्व मनाउने गर्छन् । यस वर्षबाट कारागारमा रहेका कैदीबन्दिहरुले पनि साकेला पर्व मनाएका हुन् ।