भ्रष्टाचार विरुद्ध अभियान, हस्ताक्षर गर्नेमा वृद्ध र विद्यार्थी बढी « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

भ्रष्टाचार विरुद्ध अभियान, हस्ताक्षर गर्नेमा वृद्ध र विद्यार्थी बढी


यलम्वर टाइम्स
२५ जेष्ठ २०७६, शनिबार ०५:१९

[राज खम्बू]

दमक । भ्रष्टाचार न्यूनिकरण अभियानमा जुटेको राष्ट्रिय जनमुक्ति पार्टी झापाले दमकबाट आफ्नो अभियान अगाडि सारेको छ ।

राज्यको उपल्लो तहमा मात्र होइन स्थानीय स्तरमा समेत भ्रष्टाचार झांगिन थालेपछि केन्द्रको नीति अनुसार झापामा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको थियो ।

दमकमा आयोजित अभियानलाई सफल पार्न पार्टीका कार्यकर्तामात्र नभई अन्य महानुभावहरुको समेत समर्थन र उपस्थिति रहेको थियो ।

२०४७ सालमा स्थापना भएर पार्टीले ठूलो आकार लिन नसके पनि शान्ति पक्रियाबाट संगठन विस्तार गर्दै आएको जनमुक्तिले निर्णायक विचार र निर्णायक सन्देश प्रवाह गर्दै आएको छ ।

दमकमा आयोजित हस्ताक्षर अभियान कार्यक्रममा युवादेखि वृद्धसम्मका मानिसहरुले हस्ताक्षर गर्दै मुलुकबाटै भ्रष्टाचारीलाई देश निकाला गर्नुपर्ने जस्ता माग पार्टीमा राखेका थिए ।

दमकको बिच चोकमा आयोजित हस्ताक्षर अभियानमा अधिकांश मानिसहरुले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेहरुमा सचेत नागरिकदेखि कलेज अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भ्रष्टाचारले आजित बनेको हाम्रो देश केही मानिस सम्भ्रान्त बने पनि गरिब, असाहय र असक्त नागरिकको ठाउँको प्रतिव्यक्ति ३६ हजार ऋण थुपरिएको हुँदा यसको मूल जडि भ्रष्टाचार नै हो भन्ने उद्देश्यले राष्ट्रिय जनमुक्ति पार्टीले देशव्यापी भ्रष्टाचार विरुद्ध अभियान अगाडि सारेको छ ।

अभियानलाई सम्बोधन गर्दै पार्टी संघीय सचिव पदम जवेगूले भ्रष्टाचारी यो देशको क्यान्सर रोग भएको हुँदा सचेत गराउन पार्टी अगाडि बढेको बताए ।

पार्टी झापा अध्यक्ष पर्शुराम मगरको अगुवाईमा भएको कार्यक्रममा पार्टीका प्रदेश सचिव कृष्णकुमार थेवे, जिल्ला सचिव पदम सुब्बा, बहुजातीय सांस्कृतिक मोर्चाका अध्यक्ष कैला थापा लगायतले भ्रष्टाचार रोक्न सबै नागरिक एक हुनुपर्ने बताए ।

अभियान झापाको जेठ २५ गते सुरुङ्गा, २९ गते बिर्तामोड र ३२ गते शनिश्चरे र असार १ गते चन्द्रगढी रहने छ ।

अभियानका संयोजक चन्द्र जिमी, डगमाया थापा मगर, पर्शुराम मगर, दिलीप राई, सेकेन्द्र राजवंशी रहेका छन् ।