विशाल र सञ्जीव पूर्वकै नमूना उद्यमी « Yalambar Times
३१ जेष्ठ २०८१, बिहीबार

विशाल र सञ्जीव पूर्वकै नमूना उद्यमी


यलम्वर टाइम्स
२ असार २०७६, सोमबार ११:४१

अर्जुनधारा । ब्रिटिस लाहुरेमा जान उनीलाई कति पनि असहज थिएन । त्यस्तो सहजतालाई त्यागेर स्वदेशमै उद्यमशीलतामा लाग्ने इच्छाअनुसार अहोरात्र खटेका विशाल राई हिजोआज कुशल कृषि उद्यमी हुन पुगेका छन् ।

बिर्तामोड–१० निवासी विशाल कृषि उद्यमशीलता अन्तर्गत मस्छ्यपालन, त्यसको अलवा बंगुर, विदेशी पन्छी पालेर युवा व्यवसायी हुन पुगेका छन् ।

एउटा राईको छोरो कलिलै उमेरमा स्वदेशमै केही गरेर देखाउने लक्ष्य राखेको हुँदा साकेला उभौली पर्वको समापन कार्यक्रममा सयौंको उपस्थितिमा किरात राई यायोक्खाले विशाललाई विशिष्ट सम्मान गरेको छ ।

विशाललाई मात्र होइन, कमल गाउँपालिकाका सञ्जीव कुलुङ राईलाई पनि सोही दिन भव्य सम्मान गरियो । यायोक्खाको कूल घरानामा उभिएका विशाल र सञ्जीव दुवै राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका सफल किसान हुन् ।

सञ्जीव कुलुङ सामान्य नागरिक हुन् । वैदेशिक रोजगारी पेशालाई उनी मनग्ये अंगाल्न सक्थे । तर, विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै पसिना बगाउनु उचित हुन्छ भन्ठानी छिमेकी जाति भाईकोमा रहेको बंगुरको एउटा पाठाबाट व्यवसाय सुरु गरेका कुलुङ अहिले पूर्वकै भव्य बंगुर फर्म खोलेर युवा उद्यमी बनेका छन् ।

तिनलाई पनि विशिष्ट सम्मान गरिएको थियो । सम्मानितहरुलाई शुभकामना दिँदै उभौली समापन कार्यक्रमका प्रमुख अतिथि माननिय प्रदेश सांसद अर्जुन राईले सञ्जीव र विशाल पूर्वकै नमूना उद्यमी भएको भन्दै उनीहरु जस्तै व्यवसायमा लाग्न आग्रह गरेका थिए ।

समापन कार्यक्रममा जिल्लाका २८ प्रासहरुले आफ्नो सिली प्रस्तुत गरिरहँदा सम्मानित विशाल राईले भने, ‘आफ्नै कूल थानमा यसरी हामीहरुलाई उभ्याएर सम्मान गर्नुभएकोमा यायोक्खा जिल्ला समितिलाई साधुवाद छ ।’

अर्का सम्मानित सञ्जीवले आफ्नो संस्थाबाट सम्मानित हुन पाउँदा उद्योगमा अझ प्रेरणा जागेको बताए ।

यायोक्खा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ सुमित्रा वाङ्देल, फोनिज प्रदेश इन्चार्ज दिपीन राई आदिले शुभकामना मन्तव्य राखेका थिए ।

कमल गाउँपालिका सीतापुरीमा शनिबार आयोजित समापनमा अधिकांश वक्ताहरुले किरात प्रदेशका विषयमा आफ्ना राय राखेको सचिव केवलराम राईले यलम्वर टाइम्स डटकमलाई जानकारी दिए ।

सन्देश राईले सञ्चालन गरेको कार्यक्रममा उपस्थित नृत्य टोलीहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।