बराल परिवारबाट अर्जुनधारा अस्पताललाई २ करोडको जग्गा प्रदान « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

बराल परिवारबाट अर्जुनधारा अस्पताललाई २ करोडको जग्गा प्रदान


यलम्वर टाइम्स
३ असार २०७६, मंगलवार ११:१२

अर्जुनधारा । प्राथमिक स्वास्थ्य केन्द्रले विरामीको चापलाई धान्न नसकिरहेको बेला अर्जुनधारा सामुदायिक अस्पतालका लागि शनिश्चरेका बराल परिवारबाट रु २ करोड मूल्य बराबरको एक विगाह जग्गा दिने निधो भएको छ ।

नगरपालिका, वडा कार्यालय र जग्गादाताबीचको अपसी सम्बन्धमा शनिश्चरे निवासी ख्याम बराल, पारसमणि बराल, चुडामणि बराल र कृष्णप्रसाद बरालले संयुक्त रुपमा वडा नं. ९ स्थित उक्त जग्गा प्रदान गर्ने निर्णय गरेका हुन् ।

हाल शनिश्चरे स्थित स्वास्थ्य केन्द्रमा दिनहुँ २ देखि ३ सय बिरामीहरुलाई चेकजाँच गर्नुपर्ने भएको हुँदा उक्त स्थानमा समस्या आउनका साथै जनघनत्व र आम नगरवासीको स्वास्थ्य सेवालाई ख्याल राख्दै नगरले सामूदायिक अस्पतालका लागि जग्गा खोजिरहेको बेला समाजसेवी बराल परिवारबाट उक्त जग्गा प्रदान हुने भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

बढ्दो नसर्ने रोग र सर्ने रोग दुवैको चाप अर्जुनधारामा देखा परेको हुँदा त्यतिमात्र होइन छिमेकी गाउँपालिका बुद्धशान्ति र रोङ साथै माई नगरपालिकाबाट पनि बिरामीको चाप प्राथमिक स्वास्थ्य केन्द्रले थेग्नु परेको हुँदा सामूदायिक अस्पतालको अवधारणा अगाडि सारेको थियो ।

यसै अनुरुप प्राथमिक स्वास्थ्यबाट सामूदायिक अस्पतालमा रुपान्तरण नगरिए नगरवासीले मात्र होइन अन्यले पनि दुःख पाउने भएको हुँदा सामूदायिक अस्पतालको अवधारणा अगाडि सारिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

आफ्नै वडामा सामूदायिक अस्पताल निर्माण गर्न लागिएको विषयलाई लिएर अध्यक्ष पुष्प प्रसाई भन्छन्, ‘यो अस्पताल निर्माणमा सबैको साथ उत्तिकै आवश्यकता रहेको छ ।’

उक्त अस्पताल निर्माणका लागि संघ र प्रदेश सरकारसँग सहयोग लिने नगरले जनाएको छ । मुटु, मृगौला लगायतका रोगीहरुका लागि उक्त अस्पतालबाट सेवा लिन पाउन सक्ने क्षमता बनाउन नगर लागेको नगरपालिकाले जनाएको छ ।