दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुहोस् « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुहोस्


यलम्वर टाइम्स
९ असार २०७६, सोमबार १२:५६

अर्जुनधारा । डेंगु नियन्त्रणका लागि छरिने औषधी मानव जीवनका लागि घातक हुने भएकोले डेंगु फैलन नदिने उपायतर्फ लाग्नु पर्ने बताएका छन् ।

अर्जुनधारा नगरपालिकामा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सोमबार साक्षत्कार गर्दै घरमा राखिएका सफा पानीबाटै लामखुट्टेको लार्भा उत्पन्न भई डेंगु जस्ता महामारी मानव जीवनमा आईपर्ने हुँदा घर परिवारबाटै सचेत रहनुपर्ने जोड दिए ।

रोग नियन्त्रण महाशाखा टेकुका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले डेंगु नियन्त्रणका लागि छरिने धुँवाले मानिसको फोक्सोमा ठाडै असर पार्ने भएको हुँदा औषधी प्रयोग नगर्ने नीति बनाइएको जनाए ।

मालाथिन र डिजेलको मिश्रणबाट उत्पन्न धुँवाले वयस्क लामखुट्टे मात्र मर्ने तर लार्भाहरु नष्ट नहुने भएको हुँदा लार्भा उत्पन्न हुने सफा पानी, टायरमा जमेका पानी, खानका लागि राखिएका पानी ट्यांकीलाई सफा गरिनुपर्ने बताए ।

पिउनका लागि जमाएका आकाशे ट्यांकीलाई नछोपी राखिदा अत्याधिक लार्भा उत्पन्न भई डेंगु देखापर्ने हुँदा ति ट्यांकीमा ओभरफ्लो हुने गरी पानी जम्मा गरेर पिउन साक्षत्कार कार्यक्रममा डा. मधुसुदन कोइरालाले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय झापाका प्रमुख समेत रहेका डा. कोइरालाले घाम उदाएदेखि नअस्ताएसम्म डेंगु सार्ने लामखुट्टे सक्रिय हुने हुँदा दिउँसो सुत्नु परे झुलको प्रयोग गर्नुपर्ने बताए ।

जनस्वास्थ्य झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चम्लगाईले सन् २०१२ मा झापाको काँकरभिट्टामा सर्वप्रथम डेंगु रोग देखापरेको बताउँदै दमक, बिर्तामोड, मेचीनगर र अर्जुनधारा क्षेत्रमा महामारीको रुप लिएको बताए ।

उनले यस वर्ष दमकमा ७, बिर्तामोडमा ७, मेचीनगरमा ६, अर्जुनधारामा २ जना गरी झापामा २३ जनामा संक्रमण देखा परेको बताए ।

डेंगु एडिस एजिप्टाई जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै यसप्रति सचेत रहँदा त्यति डरलाग्दो नभएको बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले सरकारको नीति अनुसार औषधी आव्हान प्रक्रिया अवलम्बन गर्नुपर्ने र प्रक्रियाबाट आएको मध्ये सबैभन्दा सस्तो लिनुपर्ने भएको हुँदा नियन्त्रणमा कठिनाई उत्पन्न भएको बताए ।

उनले आव्हान प्रक्रिया खुलाउनु पर्ने तर, कहाँबाट कस्तो औषधी आयो त्यो बारे चाही नगर अनविज्ञ हुने हुँदा दोष जति सबै जनप्रतिनिधितर्फ आउने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख रानाले सस्तो औषधीमात्र होइन गुणस्तरीय औषधी प्रयोगमा ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।