यलम्वर टाइम्स १२ वर्षमा प्रवेश, स्थानीय सरकारसँगै दलहरुले दिए शुभकामना « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

यलम्वर टाइम्स १२ वर्षमा प्रवेश, स्थानीय सरकारसँगै दलहरुले दिए शुभकामना


यलम्वर टाइम्स
४ श्रावण २०७६, शनिबार ०३:३०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारबाट निरन्तर प्रकाशनमा रहेको यलम्वर टाइम्स साप्ताहिक साउनको पहिलो हप्ताबाट १२ औं वर्षमा प्रवेश गरेको छ ।

१२ औं वर्ष प्रवेशको अवसरमा अर्जुनधारा नगरपालिकासँगै स्थानीय राजनीतिक दलहरुले शुभकामना दिएका छन् ।

सकारात्मक सन्देश लिएर राष्ट्रभरि फैलियोस् : उपप्रमुख आचार्य

नगरकी उपप्रमुख तथा कार्यवाहक प्रमुख कमला आचार्यले यलम्वर टाइम्सले सकारात्मक सन्देश बोकेर राष्ट्रभरि फैलिन सकोस् भन्दै शुभकामना दिएकी छिन् ।

शुक्रबार वर्ष १२ प्रवेशको अवसरमा उपप्रमुख आचार्यले जनताको हितका लागि नकारात्मक दृष्टिकोण राखेर अगाडि बढे नगर समृद्धमा बाधा पर्ने भएको हुँदा स्वस्थ समाचार र ज्ञान बद्र्धक विचार लिएर जनताको घरआँगनमा पुगोस् ।

नगरले गरेका विकासे कार्यमा यस अखबारको साथ रहेकै छ । त्यसमा अखबारलाई साधुवाद प्रकट गर्न चाहन्छौं ।

स्थानीय अखबार भएकाले सहयोग पनि गर्छौं । नगरले गर्दै जाँदा गल्ती भए औल्याइदिन आग्रह गर्दै समृद्ध नगर निर्माणमा सञ्चारको भूमिका महत्वपूर्ण भएको बताइन् ।

उपप्रमुख आचार्यले प्रकाशन टीमलाई बधाई ज्ञापन गर्दै कृषि, पशु र शिक्षामा भएका गतिविधिलाई उठान गरि सहयोग पुर्याई दिन समेत अनुरोध गरिन् ।

यलम्वर टाइम्स इन्द्रावती जस्तै बगिरहोस् : नेकपा अध्यक्ष सापकोटा

नेकपाका अर्जुनधारा नगर अध्यक्ष प्रेम सागर सापकोटाले यलम्वर टाइम्स इन्द्रवती नदी जस्तै बगिरहोस् भनी शुभकामना दिएका छन् ।

साउनको पहिलो हप्ताबाट १२ औं वर्ष प्रवेश गर्दै गरेको यस अखबारलाई शुभकामनामार्फत समृद्ध नगर निर्माणमा अह्म भूमिका खेलेको हुँदा निष्पक्षता र ग्रामिण आवाजलाई बुलन्द गर्न सदैव अग्रसर होस् ।

गाउँमा आएर आफ्नो प्रकाशन शुभारम्भ गर्न चानचुने कुरा होइन, यस्तो अवस्थामा पनि यस अखबार निरन्तर प्रकाशित भइरहेको छ । अहिलेसम्म निष्पक्षतामा आधारित छ ।

नगरको पहिलो अखबार भएकोले स्थानीय संघसंस्था र सरकारले सहयोग गर्न आवश्यक देखिन्छ ।

यस अखबारको एउटा पाठक पनि भएको नाताले विशेष गरी साना–साना कुरालाई आम जनतामाझ ल्याइदिने काम गरेको छ ।

त्यतिमात्र होइन कृषिलाई प्राथमिकताका साथ प्रकाशित गर्ने काम भएको छ । भोलीका दिनमा यस्तै काम गर्दै जाओस् । पत्रिका सञ्चालक टीमलाई बधाई दिन चाहन्छु ।

हाम्रो नगर समृद्धिको बाटोमा हिंड्दै गरेको नगर हो । त्यसैले साप्ताहिक अखबारबाट दैनिकमा जान सकोस् कामना गर्न चाहन्छु ।

सकारात्मक सन्देशको भण्डार यलम्वर टाइम्स : नेपाली कांग्रेस सभापति खरेल

नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले यलम्वर टाइम्सलाई शुभकामना दिँदै सकारात्मक सन्देशको भण्डार हो, यलम्वर टाइम्स भनेका छन् ।

यस अखबारको १२ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा शुक्रबार सभापति खरेलले शुभकामना दिँदै निष्पक्षतामा आधारित बनेर सञ्चालन भएको हुँदा लोकतान्त्रिक विधि र नीतिमा नगरलाई अगाडि बढाउन कलमको माध्यमबाट सफल बनोस् भनी आग्रह गरेका छन् ।

हामी प्रतिपक्षमा छौं, हाम्रो आवाज र तमाम् नगरवासीको आवाजलाई बुलन्द गर्न यलम्वर टाइम्स सफल होस् ।

अर्जुनधारा नगर कृषिमा आधारित नगर बनेको हुँदा अग्र्यानिकतातर्फ लम्कन नगरपालिकाले अग्र्यानिक मलको विकासमा जोड दियोस्, यहाँकै अखबारमार्फत भन्न चाहन्छु ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै समृद्धि नेपालका लागि जनताले धेरै आशा र अपेक्षा गरेको यो अवस्थामा नगरको ध्यान त्यसतर्फ जान जरुरी छ ।

त्यसैमा सूचना तथा सञ्चार पनि परेको हुँदा यसको विकास हुनमा पनि नगरको ध्यान जान उत्तिकै आवश्यक छ ।

अर्जुनधारा जस्तो ठाउँमा आफ्नो प्रकाशन प्रारम्भ गरी निरन्तरता दिँदै आएको र डिजिटल मिडिया यलम्वर टाइम्स अनलाइन खबर समेत यस टीमले सञ्चालन गरेको हुँदा टीमलाई बाह्रौं वर्ष प्रवेशको शुभकामना दिन चाहन्छु ।