न्वारन नगरेको दलसँग जनमुक्ति मिल्न सक्दैन « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

न्वारन नगरेको दलसँग जनमुक्ति मिल्न सक्दैन


यलम्वर टाइम्स
५ श्रावण २०७६, आईतवार १०:४९

अर्जुनधारा । आधिकारिक दस्तावेज र आम महाधिवेशन सम्पन्न हुन नसकेको दलहरुसँग जनमुक्ति नजिक हुन नसक्ने प्रदेश नं. १ का महासचिव कृष्णकुमार थेवेले बताएका छन् ।

शनिबार यलम्वर टाइम्ससँग कुराकानी गर्दै महासचिव थेवेले भने, ‘जनमुक्तिसँग समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टी एकताको लागि नआएका भने होइनन्, ति दुवै दलले महाधिवेशनको न्वारन नगरिकन, दस्तावेज निर्माण नभइकन एक्कासी मिलौ मात्र भनेको हुँदा हामी सोच्न बाध्य भएका छौं ।’

समाजवादी पार्टीसँग जनशक्ति मिल्दैमा मुलुक परिवर्तनको दस्तावेज बोक्न सक्दैन त्यसैले महाधिवेशन र दस्तावेजीकरण हुन जरुरी छ । राजपासँग पनि त्यस्तै । महासचिव थेवेले हामी संविधान पुनर्लेखन भन्ने गरेका छौं । ती दुई दल संशोधन मात्रै भन्दै हिंडेका छन् । त्यसले पनि एकता गर्नमा सोच्न बाध्य बनाएको छ ।

पार्टीको गतिविधिबारे महासचिव थेवे भन्छन्, ‘अहिले हामी भ्रष्टाचार विरुद्धको अभियानमा छौं । सात वटै प्रदेशमा हामी जस्ता कार्यकर्ताहरु भ्रष्टाचारीलाई कठघरामा उभ्याउ, तिनका सम्पत्ति राष्ट्रिय ढिकुटीमा जम्मा गर, स्थानीयदेखि संघीयसम्ममा भ्रष्टाचारको जालो अकुत फैलिएको छ त्यसलाई नियन्त्रण गर भन्दै हिंडेको हुँदा राज्य सत्ता कान नसुनेको जस्तो भएको छ । हामीले मात्र होइन, बुद्धिजीवि परिषद पनि भ्रष्टाचार बढ्यो भन्दै मैदानमा उत्रदैछन् । एक दिन कि शासक ढल्छ, कि शासकलाई नउठ्ने गरि जनताले धुलो चटाउँछन् ।’

हाम्रो पार्टी सबै थोकका मुक्तिका लागि गाउँबस्तीमा चलायमान छन् । हामीसँग विचार छ । अर्थ नहुँदा कार्यक्रम भव्य हुन नसकेको मात्र हो । गाउँ, टोल र प्रदेशमा सक्रिय हुँदै आएको हुनाले नगर, जिल्ला अधिवेशनमा व्यस्त छौं । चाँडै नै केन्द्रीय महाधिवेशन पश्चात पार्टीले छुट्टै रुप लिनेसमेत महासचिव थेवेले बताए ।

पार्टीले साउन २२ लाई कालो दिवसको रुपमा मनाएको हुँदा यो वर्ष पनि साउन २२ गते नेपाल बन्द जस्ता कार्य अघि सारेको बताउँदै त्यस दिन के–के गर्ने भन्ने कुरा केही दिनपछिको बेलबारीको भेलाले तय गर्ने भएको हुँदा हामी समानताको लडाइमा पछि नहट्ने बताए ।

उनले लोकसेवा आयोगले चालेको विषयलाई नीति संगत नभएको एकलौटी बनाउन खोजेको हुँदा यसको खारेज नभएसम्म जनमुक्ति चुप लागेर नबस्ने बताए ।