तरकारीको भाउ आकाशियो « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

तरकारीको भाउ आकाशियो


यलम्वर टाइम्स
११ श्रावण २०७६, शनिबार ०४:०३

भारतीय तरकारीमा अत्याधिक विषादीको प्रयोग, नेपालमा कम्ती

अर्जुनधारा । भारतबाट आयातित तरकारीमा अत्याधिक विषादी प्रयोग भएको भेटिएपछि यो बेला प्रतिबन्ध लगाइएको छ ।

भारतबाट आउने तरकारीमा रोकावट भएपछि यो बेला तरकारीको भाउ उच्च बनेर आएको हो । भारतबाट आउने तरकारी २४ घण्टा नबित्दै सडिने गरेको छ ।

अत्याधिक विषादीको प्रयोगबाट तरकारी सडिने गरेको विज्ञहरुको भनाइ छ । तर, साइकलवाला व्यापारीले लुकाइछिपाइ पर्वल, कच्छु र भिन्डी ल्याउने गरेका छन् । त्यस्ता तरकारी बढी सेवन गर्न नहुने समेत बताएका छन् ।

भारतीय तरकारी प्रतिबन्धित हुँदा नेपाली किसानहरुले उत्पादन गरेको तरकारीको मूल्य उच्च भएर आएको छ ।

विषेश गरी नेपाली किसानले तयार पारेको भिन्डी, बोडी, बैगुन, अकबरे र हरिया तरकारीमा विषादी न्यून भएकै कारण चाँडै सडेर नजाने स्थानीय व्यापारीहरुले बताए ।

दुई दशक अघिदेखि व्यापार गर्दै आएका राजेन्द्र साहु गुप्ताका अनुसार भारतीय तरकारीमा प्रतिबन्ध लगाउने हो भने नेपाली किसानहरुको आयस्रोतमा वृद्धि हुनेछ ।

‘हामी व्यापारीले पनि नेपाली किसानले उत्पादन गरेको तरकारी लामो समयसम्म बिक्री वितरण गर्न पाउँछौं’, उनले थपे ।

शनिश्चरेमै सब्जी व्यापार गर्दै आएका सुमन सेखका अनुसार सब्जी महंगो भए पनि विषादीको कम प्रयोग भएको हुनाले नेपालमा उत्पादित तरकारी खान लायक भएको बताउँछन् ।

उनले उपभोक्ताको मागलाई ध्यानमा राख्दै ५ केजी पर्वल भारतीय व्यापारीबाट झिकाएका थिए, २४ घण्टा नबित्दै कुहिएर गाएको देखाउँदै भने, ‘विषादी प्रयोग भएको हुनाले तरकारी यसरी कुहिएको हो । यस्ता तरकारीले व्यापारीलाई फाइदा देखिए पनि मानव शरीरमा गम्भीर रोग देखापर्छ ।’

यसरी नै अर्का व्यापारी लक्ष्मी यादवका अनुसार हाल नेपाली बजारमा आएको तरकारी नेपाली किसानले नै तयार पारेको हुँदा बर्खाको समयमा तरकारीको भाउ उच्च भएर आएको हो ।

उनले अगाडि भने, ‘यो बेला भारतीय तरकारी भए पनि तरकारीको भाउ बढेर आउथ्यो नै ।’ उनका अनुसार स्कुस ५०, टमाटर ८०, आलु ६०, अकबरे ४००, भिन्डी ८०, प्याज ४०, बोडी ८०, तामा ६० रुपैयाँ प्रतिकेजी पुगेको छ ।

यसरी नै अर्का व्यापारी सलिया खातुनका अनुसार स्थानीय सरकारले कृषकहरुलाई प्रोत्साहित गरेर नेपालका अग्र्यानिक तरकारी खेती बाहिर बेच्न सक्ने वातावरण बनाए नेपाली जनताले खाने गरेको तरकारीबाट अप्रत्यक्ष विष सेवन गर्नु नपर्ने बताए ।

यस विषयलाई लिएर सम्बन्धित पक्षलाई सम्पर्क गर्दा अग्र्यानिक उत्पादन गर्ने कार्यमा किसानहरुलाई प्रोत्साहित गर्दै आएको नगरपालिकाको कृषि शाखाले बताएको छ ।