जनशक्तिको अभावमा नेपाली तरकारीको विषादी मापन हुँदैन « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

जनशक्तिको अभावमा नेपाली तरकारीको विषादी मापन हुँदैन


यलम्वर टाइम्स
१८ श्रावण २०७६, शनिबार ०३:२२

बिर्तामोड । कृषिथोक बजारमा राखिएको विषादी अवशेष वृद्धि अन्वेषण प्रयोगशालामा नेपालको तरकारी मापन नहुने कुरा खुलेको छ ।

कम जनशक्तिको अभावले नेपाली कृषकले उत्पादन गरेका तरकारीमा कति र कस्तो विषादी प्रयोग गरिएको छ भन्ने आंकडा निकाल्न सकिएको छैन ।

सिदा भन्ने हो भने नेपालमा उत्पादित तरकारीमा के कति विषादीको प्रयोग भएको छ त्यसको मापन नभई बिक्री वितरण हुने गरेको खुलेको हो ।

प्रयोगशालाबाट विराटनगर, काँकरभिट्टा र सुनसरीको नाकाबाट भित्रिने तरकारी तथा फलफुलमा विषादी मापन गरिदै आएको प्राविधिक अञ्जु आचार्यले बताइन् ।

विषादी अवशेष वृद्धि अन्वेषण प्रयोगशालामा जनशक्तिको अभावमात्र छैन, मापन गर्ने ठाउँको समेत अभाव छ ।

‘भन्सारबाट भित्रिएको तरकारी चेकजाँच गर्नमात्र ३ देखि ४ जना प्रविधिक जनशक्ति र मेसिनको आवश्यकता हुन्छ । तर, पर्याप्तमात्रमा मेसिन र जनशक्ति दुवैको अभाव छ’ प्राविधिक आचार्यले भनिन् ।

तरकारीमा रुकावट प्रतिशत ३४ हुँदा सेवन गर्न मिल्ने त्योभन्दा माथि ३६–४५ सम्म भए सेवन गर्न नमिल्ने प्राविधिक आचार्यले जानकारी दिइन् ।

नेपालका पूर्वी पहाडी क्षेत्रमा विषादीको असर महिलामा अत्याधिक देखिएको छ । तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलाहरु खेतीमा खटिने र विषादीको प्रत्यक्ष सम्पर्कमा आउने हुँदा महिलामा बढी असर देखिने गरेको हो ।

विषादीको क्रोनिक असर छाला हुँदै मृगौला, फोक्सो र क्यान्सर समेत हुने हुँदा जनचेतनाको खाँचो रहेको समेत प्राविधिक आचार्यले जानकारी दिइन् ।

बिर्तामोडको प्रयोगशालामा ४ जना कर्मचारी रहेको तर, विषादी मापन गर्ने प्राविधकको संख्या भने १ जनामात्र रहेको हुँदा नेपाली तरकारीमा प्रयोग गर्न नभ्याइएको हो ।

विषादी मापनमा रहेका यस्ता अनगिन्ती समस्याहरु स्थानीय तथा प्रदेश सरकारलाई समेत जानकारी गराएको तर कतैबाट प्रभावकारी रुपमा कदम नचालिएको उनीहरुको गुनासो छ ।

यसै विषयलाई लिएर वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग बुझ्दा उनी भन्छन्, ‘तरकारी संकलनका लागि एक जना स्थानीय सरकारमार्फत कर्मचारी राखिएको तर, प्राविधिक भने राख्न सकिएको छैन ।’