‘अधिकार प्राप्त नभएसम्म वैचारिक रुपमा लडिरहनेछौ’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

‘अधिकार प्राप्त नभएसम्म वैचारिक रुपमा लडिरहनेछौ’


यलम्वर टाइम्स
१९ श्रावण २०७६, आईतवार ०९:१०

साउन २२ गते बन्दको आव्हान

मोरङको बेलबारीमा भएको एक कार्यक्रममा बन्दको विषयमा जानकारी गराउ“दै अध्यक्ष केपी पालुङ्वा ।

झापा । पहिचानको आधारमा स्वायत्त राज्य निर्माण गरिनुपर्छ भन्ने आवाज बोकेर आएको राष्ट्रिय जनमुक्ति पार्टी निकट किरात लिम्बूवान–खम्बूवान राज्य परिषदले साउन २२ गते अरुण पूर्वका नौं जिल्लामा बन्दको कार्यक्रम घोषणा गरेको छ ।

राज्य एकीकरणको बहानामा वि.सं. १८३१ साउन २२ गते तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले लिम्बूवानसँग सन्धि गर्दै लालमोहर खोसेको भनी प्रत्येक वर्षको साउन २२ लाई कालो दिनको रुपमा मान्दै बन्दको आव्हान गरेको हो ।

तात्कालिन समयमा लिम्बूवान गोर्खा राज्यमा एकीकरण भएको तर स्वायत्त शासन सञ्चालनको अधिकार लिम्बूवानलाई नै दिने कबुलका साथ सन्धी भए पनि अधिकार नदिएको हुँदा आफूहरु वैचारिक रुपमा राज्य सत्तासँग लडिरहेको राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश नं. १ का अध्यक्ष प्रकाश येङदेनले बताए ।

शनिश्चरे बजार स्थित नगर समितिको कार्यालय अर्जुनधारामा भएको बृहत छलफलमा प्रदेश अध्यक्ष येङदेनले वर्तमान सात प्रदेशले लिम्बूवानको भूगोल र इतिहासलाई समेट्न नसकेको बताए ।

उनले आम नेपाली जनताको भावना अनुरुप संविधान पुनर्लेखन गर्दै प्रदेश नम्वर १ लाई आत्मनिर्णयको अधिकारसहित लिम्बूवान नामाकरण गरिनुपर्ने माग राखेका थिए ।

छलफलमा प्रदेश सचिव कृष्णकुमार थेवेले लिम्बूवानको लालमोहर खोसेर अधिनायकवाद सृजना गरेको भन्दै विरोध स्वरुप लिम्बूवान क्षेत्र बन्द गर्दै आएको बताए ।

उनले बन्दलाई सफल बनाउन प्रदेश समिति, जिल्ला समिति, नगर तथा गाउँ समिति सक्रिय रुपमा लाग्ने जानकारी दिए ।

२२ गतेको बन्दलाई सफल बनाई दिन सम्पूर्ण कलकारखाना, उद्योगी, व्यवसायी, व्यापारीहरुमा आग्रह गरेका छन् ।

बन्दका दिन एम्बुलेन्स, जन्तीको गाडी, मलामकीको गाडी, कुटनीतिकको गाडी, भक्तजनको गाडी, प्रेसलाई खुल्लामात्र खुल्ला गरिएको जनाइएको छ ।

प्रदेश अध्यक्ष येङदेनको सभापतित्वमा भएको कार्यक्रममा संघीय परिषद सदस्य राज खम्बू, जिल्ला सचिव पदम लिम्बू, नगर अध्यक्ष दिलिप राई, विद्यार्थी मोर्चाका सुमन मगर, विनोद राई लगायतको उपस्थिति रहेको थियो ।