राजपासँग लिम्बूवान « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

राजपासँग लिम्बूवान


यलम्वर टाइम्स
१४ भाद्र २०७६, शनिबार ०५:१७

झापा । सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बूवान पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

संघीय लिम्बूवानका उपाध्यक्ष राजकुमार नाल्बोले उत्पीडितहरुको राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले एकता वार्ता चलिरहेको र अहिले अन्तिम चरणमा पुगेको बताए ।

उनले पहिचानको आन्दोलनलाई थप सशक्त ढंगले अघि बढाउने लक्ष्यसहित राजपा र लिम्बूवानबीच एकता हुन लागेको बताए ।

एकता हुन नसक्ने अवस्था आए पनि उत्पीडितहरुको आन्दोलनमा मोर्चाबन्दी गरिने उनले बताए ।

यसै बीच पूर्व संविधानसभा सदस्य समेत रहेका नेता नाल्बोले कुमार लिङ्देन नेतृत्वको संघीय लोकतात्रिक राष्ट्रिय मञ्च र आफूहरुको पार्टीबीच धेरै कुरा नमिल्ने बताए ।

‘कुमार लिङ्देनसँग छलफल भएको छैन, उहाँ र हाम्रोबीचमा धेरै कुरामा फरक छ,’ नाल्बोले भने, ‘त्यही फरकले गर्दा नै आज हामी यहाँसम्म आएका छौ ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टीबीच के फरक छ भन्ने प्रश्नको ठोस जवाफ नाल्बोले दिएनन् ।

राजपाका नेता लक्ष्मणलाल कर्णसँग आफूले संविधानसभामा रहँदा एउटै समितिमा काम गरेको र शरतसिंह भण्डारीसँग पनि विगतमा धेरै काम गरेकाले पार्टी एकता वार्ता सहज भएको नाल्बोको भनाइ छ ।

दुई पार्टी एकता टुंगो लगाएर एक दुई दिनमै सार्वजनिक गर्ने तयारी रहेको सुनाए ।