पाँचथरमा धसिङग्रेको कच्चा तेल उत्पादन शुरु « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

पाँचथरमा धसिङग्रेको कच्चा तेल उत्पादन शुरु


यलम्वर टाइम्स
३ आश्विन २०७३, सोमबार ०८:०९

सन्देश सुब्बा

पाँचथर / जिल्लाको २ वटा गाविसबाट धसिङग्रेको कच्चा तेल उत्पादन सुरु भएको छ । विभिन्न औषधीजन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्लाको लुङरुपा र सिदिनबाट एकैसाथ संचालनमा ल्याइएको हो ।

सिदिन–३, स्थित वूढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा–२ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न सुरु गरेको सोमबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेले अहिले २ वटा उद्योगबाट दैनिक ५ लिटरसम्म कच्चा तेल उत्पादन हुने र यो प्रति लिटर २ हजार देखि ३ हजार रुपैंयाँसम्ममा बिक्री हुने वताए । कर्मचारीको तलब कटाएर पनि दुवै उद्योगबाट वार्षिक ५ लाखसम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले बताए ।

यो तेल अहिले काठमाडौंका विभिन्न कम्पनीमा खपत हुँदै आएको वूढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्ण कुमार गुरुङले बताए । वनमा आफैँ उम्रिएको धसिङग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल बाहिरी युरोप लगायतका बाहिरी मुलुकमा लगेर प्रशोधन गरेर सन्चो, मालिस तेल, मुभ बनाउन प्रयोग गरिने बताइएको छ ।