चिनियाँ राष्ट्रपतिसँग २० बुँदे सहमति ऐतिहासिक « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

चिनियाँ राष्ट्रपतिसँग २० बुँदे सहमति ऐतिहासिक


यलम्वर टाइम्स
२६ आश्विन २०७६, आईतवार १०:२३

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङ र नेपाल सरकारबीच २० बुँदामा सहमतिमा हस्ताक्षर भएको छ ।

आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमतिपछि हस्ताक्षर भएको हो ।

सहमतिका बुँदामा सीमा व्यवस्थापन प्रणालीदेखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि कानूनी सहकार्य गर्ने लगायतका विषय समावेश छन् ।

यस्तै राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानी र सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति भएको छ ।

त्यस्तै काठमाडौं तथा वुटवलको चीनका शहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्नेलगायतका सहमति भएका छन् ।

यस्तो छ नेपाल–चीनबीच भएको सहमतिका बुँदाहरु

१) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ ।

२) नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ ।

३) नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ ।

४) नेपाल र चीनबीच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ ।

५) लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।

६) चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ ।

७) नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ ।

८) काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।

९) बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।

१०) परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ ।

११) नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ ।

१२) चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ ।

१३) नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ ।

१४) नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस(अमिलो स्वादका) फलफूल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्यविधि निर्माण गर्ने समझदारी भएको छ ।

१५) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ ।

१६) नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी भएको छ ।

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ ।

१८) नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्िष्ट्रय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ ।

१९) नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदानप्रदान भएको छ ।

२०) चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ । नयाँ पेजबाट