अस्ताउँदै गए रमाइलो बस्तिका योद्धाहरु « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

अस्ताउँदै गए रमाइलो बस्तिका योद्धाहरु


यलम्वर टाइम्स
२६ आश्विन २०७६, आईतवार १०:४२

[लीला राई]

प्रकृतिले सुख्खा मरुभूमी बनाएको स्थानलाई मानवले चाहे भने सुन्दर बनाउँन सक्छन् भन्ने उदाहरण झापा, अर्जुनधाराको रमाइलो बस्तिलाई नियाले पुग्छ । अहिले बस्ति बसेको ठाउँमा ५१ वर्ष अघिसम्म खोला कुदेको थियो । वि.सं. २०२५ सालमा पूर्वतर्फको (हाल बिरिङ्ग नदी बगेको ठाउँ) फुलमतिमा नदीले धार परिवर्तन गरेपछि पहिला बिरिङ्ग नदी बगेको ठाउँ अहिले रमाइलो बस्तिको रुपमा परिचित बन्न पुगेको छ ।


खोलाले धार परिवर्तन गरेपछि स्वर्गबासी अग्रजहरुले दश नङ्ग्रा खियाएर सुख्खा मरुभूमी बगरलाई खेतियोग्य जमिनमा परिणत गर्न अथक प्रयास गरेका थिए ।

रमाईलो बस्ति अर्जुनधारा नगरपालिकाकै वडा नं. ७ मा पर्छ । यस बस्तिलाई रमाईलो बस्तिको रुपमा स्थापित गर्न स्व. भीमबहादुर लामिछाने, स्व. निरबहादुर लामिछाने, स्व. मोहन काफ्ले, स्व. कृष्णबहादुर थापा (थापा माईला), स्व. यमबहादुर कटुवाल, स्व. डम्बर गौतम, स्व. कृष्ण थापा (थापा कान्छा), स्व. धनबहादुर राई लगायतको महत्वपूर्ण योगदान रहेको छ । खोलाले धार परिवर्तन गरेपछि स्वर्गबासी अग्रजहरुले दश नङ्ग्रा खियाएर सुख्खा मरुभूमी बगरलाई खेतियोग्य जमिनमा परिणत गर्न अथक प्रयास गरेका थिए । त्यसो त डिल्लीराम ओली, तारा चौहान, मनमाया लिम्बु (फूलमति साइँली), जसमाया लिम्बू (तुम्मा) पनि नाम छुटाउन मिल्दैन ।

२०३६ सालदेखि उक्त बगरमा ढुङ्गा र बालुवा कोट्याउँदै बालीनाली लगाउँदै आएको बताउँछन् ८१ वर्षिय वेदप्रकाश ढुङ्गाना । घर शनिश्चरे बजारमा भएका कारण वर्षेनी जोखिम मोल्दै बिरिङ्ग खोला तरेर खेति गर्न आउनु प¥थ्यो रे ! गङ्रङ्ग परेको गिटी पन्छाएर बाली लगाउँदा हातका नङ्ग सबै खिइएर घाउ हुन्थे, खुट्टामा चोटै चोट हुन्थ्यो ती दुःखका दिनहरु सम्झँदै उनले भने, यति दुःख गरेर खेति लगाइन्थ्यो तर उब्जनी नै हुँदैन थियो । त्यतिबेला गरेको दुःख र मिहेनतका कारण अहिले त्यही जमिन बहुमूल्य र खेतियोग्य बन्न पुगेको छ ।

अहिले थोरैमात्र मिहेनत गरे मनग्ये अन्न उब्जनी गर्न सकिन्छ, हसिलो मुहार पार्दै ढुङ्गानाले भने । ‘ त्यो ढुङ्गे बगर यस्तो रमाईलो र हराभरा हुन्छ भन्ने कहाँ सोचेको थियो र ? ’ , विगतका ती दिनहरुलाई सम्झदै स्थानीय अग्रज श्रीप्रसाद कटुवाल भन्छन्, ‘अहिले रमाईलो बस्ति साँच्चिकै रमाईलो भएको छ ।’

‘बिरिङ्ग खोलामा फालिएका मरेका गाईगोरु, कुकुर साथै फोहोर कुहिएर बसि नसक्नु गरी गन्हाउँथ्यो तर के गर्नु नबसेर सुखै थिएन । जाउ त कहाँ जाउ, त्योे गन्हाएको सिनो सम्झिदा अझै नि टाउको दुखेर आउँछ’, स्थानीय मन्धरा राई(६८)ले भनिन् । शनिश्चरे बजारबाट डुमहरुले ल्याएर खाडल गहिरो नखनी त्यतिकै पुरेका लासको हात, खुट्टा कुकुरले बोकेर कहिलेकाहीं घरसम्म ल्याउँने गरेको,’ २०२३ सालदेखि स्थायी रुपमा बसोबास गर्दै आएकी राईले बताईन् ।

हुन पनि हो । त्यतिबेला रमाईलो बस्ति कहाँ यस्तो थियो र ? २०३८/०३९ सालसम्म शनिश्चरे बजारबाट मरेका गाईगोरु, कुकुर त्यतिकै फालिन्थ्यो । औलोका कारण ज्यान गुमाएका पहाडका मानिसहरुलाई त्यहि बगरमा पुरिन्थ्यो । २०४०/०४२ सालसम्म बजारका फोहोर फ्याँक्ने ठाउँ बनेको थियो बिरिङ्ग र फुलमति खोला ।

फोहोरको थुप्रो यत्रतत्र देख्दा लाग्थ्यो, उक्त स्थान फोहोर फ्याँक्ने डम्पिङ्ग साइड हो । यसरी फ्याँकिएका फोहोरहरु सडेर, कुहिएर दुर्गन्धित हुन्थ्यो, पूर्वको हावा चल्दा रमाईलो बस्तिका बासिन्दाले उक्त दुर्गन्ध सहेर बस्न बाध्य हुनु पथ्र्यो ।


५ सय रुपैया पैसाका लागि झर्के थाल र लोटा राख्नु प¥यो पछि पैसा तिर्न नसक्दा थाल र लोटा उकास्न सकिन । कहिले काहीं त गाउँ नै छोडेर जाउ जस्तो लाग्थ्यो तर ‘बसे लेउ लाग्छ, छोडे छेउ लाग्छ’, बुढाबुढीले भन्ने गरेको उखान सम्झिएर लालाबाला सम्हालेर बसें ।’

धेरै खेती हुनेहरुकोमा मात्र अन्न हुन्थ्यो । थोरै हुनेले त तीन चार महिना मात्र अन्न आफ्नो घरमा राख्न पाउँथे । मरीमरि बाली लगायो फलेको अन्नले वर्ष दिन खान नै नपुग्ने अनि चाडपर्वका बेला साहु माहाजन कहाँ ऋण काढ्नु पर्ने तितो अनुभव स्मरण गर्दै रामकुमारी लिम्बुले भनिन्, ‘दशैंको बेला घरमा चामल नहुँदा घरमा भएको स्टिलको थाल ज्याकटि राखेर ४ माना चामल ल्याएर छोराछोरीलाई खुवाएको छु । ५ सय रुपैया पैसाका लागि झर्के थाल र लोटा राख्नु प¥यो पछि पैसा तिर्न नसक्दा थाल र लोटा उकास्न सकिन । कहिले काहीं त गाउँ नै छोडेर जाउ जस्तो लाग्थ्यो तर ‘बसे लेउ लाग्छ, छोडे छेउ लाग्छ’, बुढाबुढीले भन्ने गरेको उखान सम्झिएर लालाबाला सम्हालेर बसें ।’

२०३७ सालमा विवाह गरेर यो गाउँमा भित्रिएकी देवकुमारी लामिछानेको विगतका पीडा पनि उस्तै छन् । उनले भनिन्, दिउँसै स्याल कराउँने उराठलाग्दो ठाउँ थियो । घरहरु पातला थिए । रात पर्न पाउँदैनथ्यो हात्तिका हन्जा त्यतिकै आउँथे । त्यतिखेर अहिले जस्तो चारैतिर बाटो थिएन । हाम्रो घर छेउको बाटोबाट दिनदिनै लास बिरिङ्ग खोलामा लगिन्थ्यो ।

विवाह हुँदा म १६ वर्षकि मात्र थिएँ, केटाकेटी नै थिए क्यार ! शंख बजेको सुन्दा साह्रै डर लाग्थ्यो । बेलुकाको खाना खाइसकेपछि सबै आ–आफ्ना ओछ्यानतिर लाग्थे । म भने एक्लै खाना खानु पर्ने, डरले ढोका थुनेर खाना खान्थें । दुई छोरी जन्मिएपछि छुट्टिएका थियौं । हाम्रो भागमा परेको १ विघा जमिनमा २ वर्ष त धान काट्नै परेन । बर्खाभरि दुःख गरेर धान रोपियो तर नफलेपछि साह्रै दुःख भयो । त्यतिबेला १ किलो चामलले १५ दिनसम्म पु¥याएको छु ।

हामी दुईजना (बुढाबुढी) जहाँ काम ग¥यो त्यही खान्थ्यौं अनि त्यो चामलको खोले पकाएर दुई छोरीलाई खुवाउँथें । यस्ता दुःख त कति गरियो कति भनिसाध्य छैन, एकै सासमा आफ्ना पुराना कुरा खोतलिनसक्दै उनका गला अवरुद्ध बने ।

श्रीमतिको कुरामा थप्दै डिल्लीबहादुर लामिछाने (लामिछाने ठूले) ले अगाडि भने, १ हल गोरु जोतेको १ पल्ला चामल दिन्थे । त्यो चामल भइञ्जेलसम्म आफ्नो खेत जोतिन्थ्यो । हल गोरु पनि कहाँ आफैं जोड्न सकिन्थ्यो र ? पानामा ल्याउँनु पथ्र्यो, वर्षको ९ सय रुपैंयामा । चामल सकिएपछि फेरी अर्काकोका काम गर्न नगए जातमुख जोडिदैन थियो ।

भारतको आसामबाट २०३५ सालमा बसाइँ सरी आएकी तुलसा थापा (हजुरआमा भनेर चिनिन्छिन्) लाई पनि पहिला यो बस्तिमा आउँदा वैराग लाग्थ्यो रे ! उनले भनिन्, ‘चैत, बैशाखमा हावाहुरी चल्दा कुहिरी मण्डल हुने गरी बालुवा उड्थ्यो, आँखा हेर्नै सकिँदैन थियो । मान्छे नै उडाउँला जस्तो हुन्थ्यो । भदौ असोजमा सेताम्मे काँस फुल्थ्यो ।’ यस्तै यस्तै कारणले यस ठाउँलाई रमाईलो बस्ति भनिन्थ्यो रे !


समयक्रमसँगै परिवर्तित यो बस्तिको मुहार फेरिएको छ अहिले । झुप्रा छाप्राहरु मात्र देखिने उजाड बगर आज उर्वर मलिलो माटोमा परिणत भएपछि रुख विरुवाहरु जताततै हुर्किन पाउँदा चारैतिर हरियाली बनेको छ ।

कुनै समय हलिया, अध्यारी र सुकुम्बासी बस्ने बगरे बस्ति भनेर चिनिन्थ्यो, यो बस्ती । हो, आज त्यही बस्ति ‘रमाईलो बस्ति’मा परिणत भएको छ । समयक्रमसँगै परिवर्तित यो बस्तिको मुहार फेरिएको छ अहिले । झुप्रा छाप्राहरु मात्र देखिने उजाड बगर आज उर्वर मलिलो माटोमा परिणत भएपछि रुख विरुवाहरु जताततै हुर्किन पाउँदा चारैतिर हरियाली बनेको छ ।

काँसको छानो, बाँसको खम्बा र बलो अनि सुन्टिको छाना भएका पातला घर भएको स्थान रङ्गिन जस्ता पाताले सजिएका बाक्लो बस्ति बनेको छ, आज । घर–घरमा सवारी साधनहरु छन् । चारैतिर बाटाहरु बनेका छन् । बिजुली बत्ति, धारापानीको सुविधा सम्पन्न यो बस्ति आगन्तुकहरुको नजरमा पर्न सफल हुँदैछ ।

अन्न उब्जनी नभएर खान धौ–धौ हुने खेत अहिले भिट्टाको रुपमा बिक्री हुन थालेको छ । बजारका संभ्रान्त परिवारले यो गाउँलाई हेर्ने दृष्टिकोण बद्लिएको छ । बिरिङ्ग नदीमा पूल बनिएपछि रमाईलो बस्तिका साथै बिरिङ्ग पश्चिमका वडा तथा गाउँलाई राहत मिलेको छ । हिजोको त्यो दयनीय र कहाली लाग्दो अवस्थाबाट वर्तमान अवस्थामा आइपुग्दा अलि सक्षम बनेका कारण रमाईलो बस्तिबासीको पीडामा थोरै मलमपट्टी लागेको छ ।

पछिल्लो समय बढ्दो जनसंख्या तथा बसाइँ सरी आउँने क्रम बढेपछि बजार क्षेत्र साघुँरिदै गएको छ भने रमाईलो बस्ति बस्न लायकको स्थान बन्दै आएको छ । स्वच्छ, सुन्दर र शान्त वातावरणका साथै उचित बासस्थान हुने भएका कारण पनि धेरै मान्छेको रोजाईमा पर्न थालेको छ, यो बस्ति । हाल निर्माण भएको विलकन इन्डष्ट्रिज प्रा.लि. ले थप आर्कषक बनाएको छ । विलकनले स्थानीयलाई रोजगारी प्रदान गरेका कारण केही मात्रामा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानबाट रोकेको छ ।

बस्तिको बिचमा रहेको दुर्गा पाञ्चायन मन्दिरले रमाईलो बस्तिलाई थप शोभा बढाएको छ । मन्दिरलाई स्थानीय अग्रज रुद्रबहादुर लामिछानेले जग्गा प्रदान गरेका हुन् । लामिछाने बन्धुहरुले आफ्ना बुबाआमाका नाममा स्थापना गरेको जङ्गे चौतारो पनि मन्दिरकै सामिप्यमा रहेको छ । चौतारोले मन्दिरलाई थप आर्कषण दिएको छ ।

फराकिलो सोच, विचार राखेर सकारात्मक ढंगबाट उक्त मन्दिरलाई सञ्चालन गर्ने हो भने रमाईलो बस्तिलाई अझ बढी सुन्दरता प्रदान गर्न थप मद्दत पुग्नेमा दुई मत नहोला । यस मन्दिरको चौतर्फी विकासका लागि स्थानीय बासिन्दाहरु एक ढिक्का भएर हातेमालो गर्न जरुरी देखिन्छ ।

समाज निर्माणका लागि हाम्रा पूर्वजहरुले दिएको योगदान अतुलनिय छ । उनीहरुको अथक प्रयासबाट आज रमाईलो बस्ति रमाइलो र सुन्दर बनेको छ । शुरुवाती दिनमा निडरताकासाथ बस्ति बसाउन उनीहरुले देखाएको साहस, हिम्मत र मिहेनतलाई वर्तमान पुस्ताले विर्षनु हुँदैन ।

ढुङ्गे बगरलाई उर्वर भूमिमा परिणत गर्ने पूर्वजहरु आज रमाईलो बस्ति र बस्तिका बासिन्दालाई छाडेर अनन्त यात्रामा गइसकेका छन् । यो जन्मरुपी भव सागरबाट पार पाइसक्नु भएका ती महान पूर्वजका आत्माले बैकुण्ठमा बास पाओस् । हार्दिक श्रद्धाञ्जलि सहित नमन !!

लीला राई