जलेश्वरधामले ५ सयलाई कृत्रिम खुट्टा, ५ हजारलाई चश्मा वितरण गर्ने « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

जलेश्वरधामले ५ सयलाई कृत्रिम खुट्टा, ५ हजारलाई चश्मा वितरण गर्ने


यलम्वर टाइम्स
२७ आश्विन २०७६, सोमबार ०८:४९

अर्जुनधारा । यस पटक अर्जुनधारा जलेश्वर धामले आफ्नो वार्षिक अनुष्ठानको क्रममा पुराणसँगै सामाजिक कार्यमा महत्वपूर्ण काम गर्ने भएको छ ।

धाम समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सामाजिक काम अन्तर्गत हातखुट्टा नभएका व्यक्तिलाई कृत्रिम हातखुट्टा लगाइदिने भएको छ । मंसिर महिनामा आयोजना हुने ३७ औँ अनुष्ठानका क्रममा ५ सय जनालाई कृत्रिम हातखुट्टा र ५ हजार जनाई आँखा शिविरको आयोजना गरी चश्मा वितरण गर्ने भएको छ ।

धामले हातखुट्टा नभएका व्यक्तिलाई लक्षित गरी भारत कोलकोत्ताको महावीर सेवा सदनसँगको सहकार्यमा मंसिर १३, १४ र १५ गते कम्तिमा ५ सय जनालाई हातखुट्टा वितरण गर्ने धामका अध्यक्ष नविन गट्टानीले बताए ।

उनका अनुसार ५, ६ र ७ गते सोही सदनको प्राविद्यिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने बताइएको छ ।

जगन्नथा धामबाट परम पुजनीय अनन्त श्री विभुषित जगतगुरु मुमुक्षानन्द महाराजजीको प्रमुख आतिथ्य र सदनका अध्यक्ष विनोद वगाडीयाको विशेष आतिथ्यमा आयोजना हुने उक्त शिविरमा आँखाको दृष्टी कम भएका पाँच हजार जना भन्दा बढीलाई निःशुल्क चस्मा वितरण गरिने कार्यक्रम रहेको उपाध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी दिए ।

कृत्रिम हातखुट्टा र आँखा शिविर दुवै कार्यक्रम हेमानन्दजी महाराजको पहलमा हुन लागेको कोषाध्यक्ष मनोज जोशीले बताए ।

दुवै कार्यक्रमको लागि जिल्लाको १५ वटा स्थानीय तह र छिमेकी जिल्ला इलामका दुई स्थानीय तह माई नगरपालिका र रोङ गाँउपालिकासँग समन्वय गरिने बताइएको छ ।मंसिर २ गतेदेखि ९ गतेसम्म बाला चतुर्दशीको दिन सत्वीज रोपण गरी सम्पन्न हुने ३७औँ वार्षिक अनुष्ठानमा श्रीवामण पुराण, रुद्राभिषेक महायज्ञ, धान्याचलमा प्रमुख वाचक पण्डित कुवेरप्रसाद सुवेदी रहनेछन् ।

पुराणमा दैनिक यज्ञका साथै रुद्राभिषेक महायज्ञ, धन धान्याचल, गंगा आरतीलगायत हुने बताइएको छ । समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष भट्टराईले र कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए ।