गीताको शव ल्याउन सरकारसँग परिवारको अनुरोध « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

गीताको शव ल्याउन सरकारसँग परिवारको अनुरोध


यलम्वर टाइम्स
२ कार्तिक २०७६, शनिबार ०४:२८

अर्जुनधारा । वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी गीता दर्जीको उतै मृत्यु भएपछि उनको शव घर ल्याउन बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

समाजले शुक्रबार बुढी सुखानी स्थित स्व. गीताकै घरमा एक कार्यक्रमको आयोजना गरी मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेका थिए । यसरी नै सोही दिन संघीय लिम्बूवान सामाजिक मञ्च प्रवास कतरले १० हजार २५ रुपैयाँ सहयोग गरेको थियो ।

बुढी सुखानी महिला समुहकी अध्यक्ष गंगादेवी बास्कोटाको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको उपस्थिति रहेको थियो भने रकम हस्तान्तरण कार्यक्रममा संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इङबुङ्ग रहेका थिए ।

कार्यक्रममा मृतक दर्जीका ससुरा खिनमान दासलाई नगर प्रमुख राना र इङबुङ्गले संकलित रकम हस्तान्तरण गरेका थिए । त्यसैगरी यलम्वर टाइम्सका सम्पादक दिपीन राईले २ हजार ७ सय सहयोग गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका वडा नं. ३ का सदस्य सिताराम भट्टराई, संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय सचिव शान्ता लिम्बू, झापा अध्यक्ष धनबहादुर पन्धाक, अर्जुनधारा कतार सेवा समाजका उपाध्यक्ष गणेश दुलाल लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन ओमप्रकाश सिटौलाले गरेका थिए । दर्जीको मृत्यु यही असोज १३ गते कुवेतमा भएको जनाइएको छ ।

खिनमान दास अर्जुनधारा नगरपालिकाका बोर्ड सदस्य हुन् । सहयोग रकम बुझ्दै नगरपालिका लगायत सहयोगी हातहरुलाई बुहारीको शवलाई स्वदेशमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।

खिनमानले मलिन स्वरमा सबैलाई आग्रह गर्दै भने, ‘यही मुखले जेठी बुहारीलाई मागेर झ्याँई झ्याँई विवाह गरी भित्र्याइएको थिएँ, त्यसैले उनको शव सबैको अगाडि दाहसंस्कार गर्न पाए राम्रो हुने थियो ।’

२ छोरीकी आमा गीता ४ वर्षअघि भारतको बाटो हुँदै कुवेद पुगेकी थिइन् । दशैंमा आमा आउने आशा राखेका गीताका छोरी सन्ध्या र सन्दीपाले पनि आमाको मुख हेर्न पाए हुन्थ्यो भन्दै सबैलाई आग्रह गरिन् ।

बिर्तामोडको बुट्टाबारी माईती घर भएकी गीत घरायसी अवस्था कमजोर भएकै कारण वैदेशीक रोजगारमा गएको छिमेकीहरुले बताए ।

शुक्रबार अर्जुनधारा–३ स्थित प्रवासी सुखानी सेवा समाजका अगुवा साम्योग सुब्बाको अगुवाइमा उक्त रकम संकलन भएको थियो ।

गीता दर्जीको शवलाई काठमाण्डौबाट घर ल्याउनका लागि दिलबहादुर लिङ्दम, नरेन्द्रकुमार राना, कमल राया, सन्तबहादुर तामाङ, गुञ्जबहादुर राना, दिलबहादुर भट्टराई, रमेश लिङ्दम, अनित तामाङ, प्रेम तामाङ, बुद्धराज सुब्बा, प्रेमकुमार राना, शुक्र लिम्बू, मिलन तामाङ, केवनसिंह तामाङ, डिल्लीराम भट्टराई, प्रदिप लिम्बू, निरज लामी सूर्य राया, गोपाल खाती, सन्जोक लिम्बू, हेम दोर्जे तामाङ, हरि राया, अनिस खजुम, रमेश मगर, मन्दिप लिम्बू, डिल्ली शिवा, सिमोन लिम्बू रहेका छन् ।

यसका साथै अन्य सहयोगी हातहरुमा नवराज विक, होमबहादुर मगर, पदमबहादुर कुमाल, बसन्तबहादुर खड्का, दिपकबहादुर गुरुङ, दिनेश थापा, छकबहादुर÷वरकुमारी मगर, वनकराम चौधरी, अब्दुल्ला आलम, जनक महत्तो र राजु पौडेल रहेका छन् ।

अर्जुनधारा कतार समाजले यसअघि अर्जुनधारा–२ निवासी दिलमाया नेम्वाङ बचाउ समितिलाई ६० हजार, अभिषेक बचाउ अभियानलाई १ लाख २० हजार, अर्जुनधारा–६ का कुमारी चौधरीलाई १५ हजार र दशैंअघि अर्जुनधाराका विपन्न वर्गका ५५ घर परिवारलाई वडादशैं सम्पन्न गर्न सहयोग समेत गरेको अर्जुनधारा कतार समाजका उपाध्यक्ष गणेश दुलालले यलम्वर टाइम्सलाई जानकारी दिए ।

परदेशमा रहेर आफ्नो नगरका असाहय तथा पीडितहरुलाई सहयोग पुर्याइ सामाजिक काममा अग्रसर भएको भन्दै नगर प्रमुख हरिकुमार रानाले प्रवासी कतार समाजलाई धन्यवाद प्रदान गरेका थिए ।