सडक चाँडो निर्माण गर्न नगर प्रमुख रानाको आग्रह « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

सडक चाँडो निर्माण गर्न नगर प्रमुख रानाको आग्रह


यलम्वर टाइम्स
४ कार्तिक २०७६, सोमबार ०८:५७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार र महानन्द चोकमा तत्काल एक किलोमिटर सडक बनाउने भएको छ ।

डिभिजन सडक कार्यालयसँग भएको छलफलमा महानन्द चोकमा एक किलोमिटर सडक निर्माणका लागि प्राप्त बजेटले शनिश्चरे चोकमा समेत सडक निर्माण गरिने भएको हो ।

‘महानन्द चोकमा ३ सय मिटर र बाँकी ७ सय मिटर शनिश्चरे चोकमा सडक बनाउनु अहिलेको प्राथमिकतामा परेको छ’, नगरपालिकाका प्रमुख हरिकुमार रानाले भने, ‘जनताले सास्ती पाएको स्थानलाई नगरले महत्व दिएर काम गर्छ ।’

उनले डिभिजन सडक कार्यालयसँग प्राथमिकताका आधारमा सडक निर्माण गर्ने सहमति भएको जानकारी दिएका छन् ।

डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले नगरपालिकाले ‘राइट अफ वे’ तयार गरेको अवस्थामा सडक निर्माणलाई प्राथमिकतामा राख्ने बताए ।

उनले ढल निर्माणका लागि नगरपालिकाले चासो देखाए सडक बनाउन कुनै अप्ठ्यारो नपर्ने बताउँदा प्रमुख रानाले तोकिएको मापदण्ड बमोजिमको जमिन खाली गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघीय सरकारले बजेट विनियोजन भएपछि बिर्तामोडबाट शनिश्चरे हुँदै इलाम राजदुवालीसम्म जाने छोटो दुरीको सो मार्गलाई बेवारिसे बनाएको भन्दै नगर प्रमुख रानाले आपत्ति प्रकट गरे ।

संघीय सरकारले सो सडकलाई हाल प्रदेश मातहतमा स्वामित्वको बनाएको छ । प्रदेशले बजेट बिनियोजन नगरेको कारण यस बर्ष सो सडक बन्न नसक्ने भएको हो ।

नगरपालिकाको सक्रियतामा यसअघि संघीय सरकारबाट मर्मतका लागि विनियोजन भएको रकमले एक किलोमिटर नयाँ सडक निर्माण हुने भएको हो ।

बिर्तामोडबाट शनिश्चरे बजार पुग्न ५ र खुदुनाबारी साढे १३ किलोमिटरको दुरी पार गर्नुपर्छ । यो सडकमा पटक–पटक डीपीआर भए पनि निर्माण भने हुन सकिरहेको छैन ।

सडक विभाग भने राइट अफ वे क्लियर नभएका कारण ड्रेन नभई कालोपत्रे गर्न नसक्ने भन्दै पन्छिने गरेको छ । छलफलमा प्रमुख रानाले ड्रेन निर्माण गर्ने जिम्मा नगरपालिकाले लिएको बताएका थिए ।

इन्जीनियरसँग भएको छलफलमा नगरका प्रशासकीय प्रमुख पंकज भुर्तेल, वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम, वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम, वडा नं. ९ का पुष्प प्रसाई, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष कुमार भट्टराई, सचिव प्रेम आचार्य लगायतको उपस्थिति रहेको थियो ।