छलफल पश्चात शनिश्चरे–मदनपुर सडक खण्ड अवरोध खुल्यो « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

छलफल पश्चात शनिश्चरे–मदनपुर सडक खण्ड अवरोध खुल्यो


यलम्वर टाइम्स
९ कार्तिक २०७६, शनिबार ०४:१९

अर्जुनधारा । बाटो निर्माणमा ढिलाइ भएर धुलाम्ये सडक बनाएको भन्दै शनिश्चरे–मदनपुर सडक खण्डका स्थानीयहरुले गरेको अवरोध शुक्रबार साँझबाट खुलेको छ ।

बिहीबार धुलोको कारण पीडित बनेका स्थानीयहरुले स्वतः स्फूर्त सडकमा बाँस तेर्साएर सडक निर्माण चाँडो हुनुपर्छ भन्ने माग राख्दै अवरोध खडा गरेका थिए ।

स्थानीयहरुको आवाजलाई ध्यानमा राख्दै वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम र वडा नं. ७ का अध्यक्ष नविन ढुंगाना त्यसतर्फ पुग्दा सडक बन्ने प्रतिवद्धता नआएसम्म नखोल्ने तर्क राखेका थिए ।

यसै विषयलाई लिएर नगरपालिकाले आन्दोलनमा उत्रिएकाहरुसँग छलफल गरि बाटो अवरोध खुलाउने सहमति भएको छ ।

अवरोधमा उत्रिएकालाई नगर प्रमुख हरिकुमार राना, प्रदेश सांसद बृख प्रधान, नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल, नेकपाका नगर सचिव राजु शेर्मासँग सम्पर्कमा रहेका ठेकेदारसँगको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि बाटो खोल्ने निचोडमा पुगेका हुन् ।

ठेकेदारसँग गरिएको सम्झौता अनुसार ९ गतेबाट धुलोलाई न्यूनिकरण गर्न पानी हाल्ने, २० गते ठेकेदारमार्फत काम सुरु गर्ने, ठेकेदारले कस्तो काम गर्दैछ भनी निगरानी राख्ने र अनुगमन समिति बनाउनुपर्ने जस्ता सम्झौता भएको छ ।

टीकाको दिन र छठका दिन पानी लगाउन ट्याङ्करले नभ्याउने हुँदा त्यस दिनलाई अन्यथा नसम्झनु पर्ने समेत मौखिक सम्झौता भएको थियो ।

नगर प्रमुखको कक्षमा भएको छलफलमा सशस्त्र प्रहरी बेसका प्रमुख र शनिश्चरे प्रहरी चौकीका प्रमुखको समेत उपस्थिति रहेको थियो ।

नगर प्रमुख रानाले ठेक्कामा लागेका सडक माथिल्लो तहबाटै निगरानी र नघच्घचाइदिएको हुँदा जनताले सास्ती भोग्नु परेको बताए ।

बिर्तामोड–खुदुनाबारी सडक खण्ड चाँडो बाटो निर्माण होस् भनी पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरिरहेका छौं । प्रदेश सरकारले पनि हुन्छ भन्ने आश्वासन दिएको हुँदा जनताले यो सास्ती भोग्नु परेको बताए ।

प्रमुख रानाले स्थानीय सरकारलाई समस्यामा पार्न गरेको खेलप्रति स्थानीय चुप लगेर नबस्ने बताए । समस्याको समाधान प्रदेशबाटै हुने नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले प्रतिक्रिया दिए ।

खरेलका अनुसार बाटोबाट पीडित जनताको मागलाई ध्यानमा राख्दै प्रदेश सांसदले ठेकेदारलाई बोलाई चाँडो काम गर्नुपर्ने बताए ।

छलफलमा स्थानीय सुरेश गिरीको संयोजकत्व रहेको १९ सदस्यीय संघर्ष समिति समेतको उपस्थिति रहेको थियो ।

काठमाण्डौको कञ्चनजङ्गा शेर्पा, कञ्जनजङ्गा जेभीसँग २०७५ साल असार २७ गते सम्झौता भएको सम्झौता अनुसार काम नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको कारण स्थानीयले सडक अवरोध गरेका थिए ।