सकारात्मक सन्देश छर्दै गाउँबेसीको माया परदेशीलाई कोसेली « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सकारात्मक सन्देश छर्दै गाउँबेसीको माया परदेशीलाई कोसेली


यलम्वर टाइम्स
१६ कार्तिक २०७६, शनिबार ०६:३६

अर्जुनधारा । समाजमा चतुर्भुज काफ्ले नामले परिचित उनलाई घरपरिवारले बोलाउने मायालु नाम भने राम हो । उनका हजुरबुबा मानबहादुर काफ्ले धर्मप्रेमी तथा फाल्गुनन्दका सच्चा चेला भएका कारण उनको परिवार धर्म संस्कारमा बढी विश्वास गर्छन् । त्यसैले उनका स्वर्गीय पिताजी मोहन काफ्लेले छोराहरुको नाम राम, श्याम, भरत, अर्जुन, गोकुल राखेका रहेछन् ।

उनका घरमा हुने जुनसुकै शुभ कार्यमा पनि काटमार हुँदैन । समाज सुधारक महागुरु फाल्गुनन्दले भनेका छन्, हत्या, हिंसा, काटमार जस्ता कार्य समाजका लागि घातक हो । सक्छौं नहुनेलाई देउ, सक्दैनौं अवसर दिलाइदेउ । उक्त वाणीबाट प्रभावित भएर उनका हजुरबुबा मानबहादुरले आत्मसाथ गरेको हुँदा समाजमा भएका पीडा, अप्ठ्यारा कार्यमा चतुर्भुज भावनात्मक शैलीमा भेटिन्छन् ।

भावनामा बढी विश्वास राखेर हिड्ने काफ्ले गाउँ समाजको गतिविधिलाई प्रसारण गर्न आफ्नै लगानीमा गाउँबेसीको माया परदेशीलाई कोसेली फेसबुक पेज लिएर आइरहेका छन्, मानौं एउटा पत्रकारले गर्ने काम । उनी जहाँ पुग्छन्, त्यस क्षेत्रको विकासका गतिविधि, विचार र सांगीतिक गतिविधि आफ्नो पेजमा उजागर गर्न पछि हट्दैनन् ।

त्यतिमात्र नभइ विकासप्रेमी युवा तथा प्रौढ नेताहरुलाई आफ्नो स्टुडियोमा बोलाएर पेज मार्फत सार्वजनिक गर्छन् ।
थुप्रै सामाजिक संघसंस्थामा आबद्ध भइसकेका चतुर्भुजले समाजलाई चिर्ने र हेर्ने खुबी बनाइसकेका छन् ।

पछिल्लो पटक उनी आफ्नो प्यारो पेज गाउँबेसीको माया परदेशीलाई कोसेलीमा रमाइरहेका भेटिन्छन् । उक्त पेज नहेरी परदेशीलाई चित्तै बुझ्दैन । थुप्रै कमेन्ट र लाइक भेट्दा वास्तवमा एउटा स्वदेशी नागरिकले परदेशीलाई दिने कोसेली उनले दिएका छन् भन्दा फरक नपर्ला ।

कान्छा छोरा शिशिर कलिलै उमेरमा परदेश लाग्दा चतुर्भुजलाई रमाइलो त कहाँ लागेको थियो र ? अनि परदेशी छोरा कान्छालाई आफ्नो गाउँघरमा भएका गतिविधि देखाउँदा मन शान्त हुन्छ होला भन्ने कल्पनासँगै उनले गाउँबेसीको माया परदेशीलाई कोसेली पेज निर्माण गरेका थिए । यो पेज चलाउँदा उनलाई धेरैले खिसीट्युरी पनि नगरेका होइनन् । त्यस्ता मित्रहरुलाई उनले सहेरै हाँसिहाँसि पन्साइदिए ।

नजिकिदै आएको चाडवाडमा चतुर्भुज सम्झन्छन्, बाल्यकालमा गोगो पेन्ट लगाएको । ती दिन अब कहाँ फर्केर आउँछ र ? बाल्यकालमै रोटेपिङ्गसँगै प्रजापतिदेखि खुदुनाबारी हुँदै अर्जुनधारासम्म देउसी–भैलो खेलेर रमाइलो गरेको सम्झिदा आङ्ग जिरिङ्ग भएर आउने गरेको उनी बताउँछन् ।

एक दिनको कुरा हो । पारस टाकिजमा सिन्दुर फिल्म हेर्दै गर्दा जीवनका गोरेटो त्यहाँबाट बुझ्दै आए । आँखा भरी आँशु पनि आयो । जीवनलाई चलाउँदै यो उमेरसम्म आइपुग्दा सिन्दुर फिल्मको सम्झना आलै रहेको स्मरण गर्छन् उनी । मन पर्ने नेपाली नायिका शान्ति मास्के, भारतीय नायिका हेमा मालिनी, मनपर्ने नेपाली नायक भुवन केसी, मनपर्ने हाँस्य कलाकारद्वय हरिवंश, मदनकृष्ण रहेको मुस्कुराउँदै बताउँछन् ।

गीत र संगीत घन्किएपछि कम्मर हलाउन पछि नहट्ने चतुर्भुज चर्चित हिन्दी गीत लुङ्गी डान्स………. गुञ्जिना साथ नृत्यमा सहभागी हुनपुग्दा खुट्टा झण्डै बिग्रिएको प्रसङ्ग पनि बताए । मन पर्ने गायक नारायण गोपाल भएको हुँदा उनकोे प्रायः सबै गीतले मन छुन्छ रे ! उनको ।

पहिलो पटक खुशीको क्षण जेठा छोरा बादलले एसएलसी फस्ट डिभिजनमा उत्तीर्ण गरेको समय थियो भने पैसा भएर पनि टिचिङ्ग अस्पतालमा बुबाको उपचार सम्भव हुन नसक्दा साह्रै दुःखी बनाएको मधुर स्वरमा बताए ।

उनलाई नेपाली राजनीतिमा उचारचढाव भएको पटक्कै मन पर्दैन रे ! त्यसलाई अन्त्य गर्न सच्चा राजनीतिक नेताको खाँचो भएको औंल्याउँछन् । घरकी गृहिणी र जन्मदिने आमाको साथ नभइदिएको भए यो जीवन यसरी कहाँ चल्थ्यो होला र ? प्रसङ्ग बदल्दै काफ्ले भन्छन्, ‘जीवन र जगतलाई चलायमान गर्नुमात्र जिन्दगी होइन, समाजमा देखिएका अप्ठ्याराहरुलाई मिलाएर समुन्नत समाज निर्माणमा जुट्न सक्नु पनि जिन्दगीको एउटा पाटो हो ।’