दहिझोडाले विपन्नलाई घरमूली बनायो « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

दहिझोडाले विपन्नलाई घरमूली बनायो


यलम्वर टाइम्स
१९ कार्तिक २०७६, मंगलवार ०७:४०

अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समूहले अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का तीन विपन्न परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ ।

वनको हरियाली महिला बचत तथा ऋण परिचालन समूहको गरिबी न्यूनिकरण कार्यक्रम अन्र्तगत अनुदानमा निर्माण गरिएको घर सोमवार हस्तान्तरण गरेको हो ।

गरिब तथा विपन्न परिवारका दिनेश काफ्ले, कृष्णमाया सार्की र लत्ता दनुवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले घरको चावी हस्तान्तरण गरेका हुन् ।

घर निर्माण गर्न नसेका ती परिवारलाई वनले सोमवार अर्जुनधारा–४ स्थित सिंहवाहिनी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो ।

वनका अध्यक्ष खगेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालयका प्रमुख विष्णुराम घिमिरे रहेका थिए ।

स्वागत वनका उपाध्यक्ष रामप्रसाद गिरीले गरेको कार्यक्रममा जिल्ला बन महासंघका अध्यक्ष देवप्रकाश भण्डारी, वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, युवा संघ नेपाल प्रदेश कमिटी सदस्य खगेन्द्र खनाललगायतको उपस्थित थियो ।

कार्यक्रमको सञ्चालन वनकी सचिव निरामाया तामाङले गरेकी थिइन् ।