गुरु अङसिमाङ आत्मानन्दले भन्नुभयो, ‘धामहरुको त्रिवेणी धाम हो अर्जुनधारा’ « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

गुरु अङसिमाङ आत्मानन्दले भन्नुभयो, ‘धामहरुको त्रिवेणी धाम हो अर्जुनधारा’


यलम्वर टाइम्स
२३ कार्तिक २०७६, शनिबार ०३:५२

माङ्सेबुङ । किरात धर्म गुरु महिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङले हिन्दू धर्मशास्त्रमा किरातीहरुको कुरा लेखिएन भने शास्त्र पूरा हुन नसक्ने बताउँनु भयो ।

अर्जुनधारा जलेश्वर धामको ३७ औं वार्षिक अनुष्ठानमा देवासनका लागि बिन्ती–पत्र चढाउँन बिहिबार लारुम्बाको माङ्सेबुङ गुरु आश्रममा पुगेका बेला गुरु आत्मानन्दले उक्त कुरा बताउँनु भएको हो ।

गुरुले हिन्दू देवताहरुको हरेक युद्धमा देवताहरुलाई साथ दिन किराती देवताहरु योद्धा भएर पुगेको बताउँनु हुँदै राम र रावण, कौरव र पाण्डवको युद्धको स्मरण गर्दै उदाहरण दिनु भएको थियो ।

गुरु आत्मानन्दले अर्जुनधारा जलेश्वर धाम पूर्व क्षेत्रको त्रिवेणी धाम भएको बताउँनु हुँदै विराट राजाका गाई हरण गरेर कप्परसुका र लुकानीमा लुकाइ राखेका बेला अर्जुनले पत्ता लगाइ फर्काउँदै गर्दा अर्जुनधारामा बाण हानी पानी निकालेर तिर्खाएका गाईलाई खुवाएको महाभारतमै उल्लेख भएको हुँदा अर्जुनधारा धाम माइठकुरानी, फुरुङ्गी, गजुरमुखी, माङ्सेबुङ, शिवसतासीको त्रिवेणी धाम भएको बताउनु भयो ।

भारतको उत्तर दिशामा रहेको माइठकुरानी हाल माङ्सेबुङ गाउँपालिका अन्तर्गत पर्छ । माइठकुरानीलाई यस अघि कालेन्द्रगढी भनिने गरिन्थ्यो ।

विराटका गाईहरु हरण गरेर ल्याउँदै गर्दा कालेन्द्र गढीका देवताहरुले छेकेको हुँदा त्यहाँबाट अन्य ठाउँ लान नसकेको समेत बताउँदै उहाँले अगाडि भन्नु भयो, देवताहरु खेलेको ठाउँमा हामी बसेका छौं । सत्य मन चिताऔं, सत्य बाटोमा हिडौं । यहाँका मानव जातिहरुलाई केही अनिष्ठ आइलाग्दैन ।

अर्जुनधारा क्षेत्र पनि देवताको बास भएको स्थान हुनाले उक्त ठाउँका बासिन्दा भाग्यमानी भएको बताउँनु भयो ।

आफू धेरै पहिला जलेश्वर धाम पुगेको स्मरण गर्दै त्यसबेला मैले स्थानीयहरुलाई केही कुरा भनेको थिएँ । यो स्थान भविष्यमा सुन्दर र स्वर्ग हुने छ । आज तपाईहरु निम्तो दिन म कहाँ आइपुग्नु भयो । मेरो उपस्थिति अवश्य रहने छ ।

बिन्ती–पत्र चढाइसकेपछि धामका अध्यक्ष नविन गट्टानीले धामको विस्तृत गतिविधि दर्शाउँदै ३७ औं अनुष्ठानमा हुने सामाजिक कार्यहरुका बारेमा प्रष्ट्याउँदा महिङगुम अङसिमाङ आत्मानन्द गुरुले भन्नु भयो, अर्जुनधारा धाममा अदृश्य शक्ति छ । त्यसलाई नियम संगत सञ्चालन गर्दै लौजानु तपाई हाम्रो कर्तव्य पनि हो । अब हुने धार्मिक अनुष्ठान मानव कल्याणकारी, भाइचारा एकता, प्राणी जगतको कल्याण हुने कार्यमा ध्यान पुग्ने छ । त्यो कार्य धार्मिक युवा तथा धार्मिक चरित्र बोकेका मानवले मात्र गर्नसक्छ ।

बिन्ती–पत्र चढाउँन पुगेका अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नविन ढुङ्गानाले आफ्नो वडामा रहेको जलेश्वर धामको इतिहासबारे चर्चा गर्दा गुरु आत्मानन्दले भन्नुभयो, जहाँ देवधाम हुन्छ, त्यहाँका जनता खुशी रहन्छन् । त्यही धामको एउटा प्रतिनिधि तपाई हुनु भएको छ । तपाईको कार्यकालमा जनताले सन्तुष्ट प्राप्त गर्नेछन् । यस अघि नगरिएका कार्य पनि तपाईको हातबाट हुनेछ ।

गुरुले बिन्ती–पत्र प्राप्त गरिसकेपछि उपस्थित अतिथिहरुमाझ दाङको स्वर्गद्वारीका गाईहरु अन्न र पानी खान नपाएर मर्न थालेको सन्देश महागुरु फाल्गुनन्दले आसनबाट भनेपछि त्यस क्षेत्रमा पूर्वी किरातीहरुले मुस्टी दान गरेर पठाएको बताउँनु हुँदै प्राणी जगतको संरक्षणमा सबै जुट्नु अति आवश्यक भएको बताउँनु भयो ।

जसले देवता चिन्छ, उसको शरीरमा माङ बसेको हुन्छ । यो बेला सकारात्मक चिन्तन राखेर समाजमा जसले योगदान दिन्छ, उ नै देवताको दूत हुन् ।

किरात चोत्लुङ गुरु अङसिमाङगेन्ना सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले अर्जुनधारा जलेश्वर धामको निम्तो पत्रलाई अङ्सिमाङ गुरु आत्मानन्द ज्यूले स्वीकारी सकेपछि छलफल गरेर देवासन कसरी गराउँने भन्ने बारे प्रष्ट्याएका थिए ।

अध्यक्ष योङहाङले अर्जुनधारा जलेश्वर धाममा गुरुको सवार हुने जानकारी सबै क्षेत्रमा दिने बताए । धामका प्रचार सहसंयोजक दिपीन राईले सञ्चालन गरेको कार्यक्रममा माङसेबुङ वडा नं. ५ का अध्यक्ष नरेन्द्रकुमार राई, फाल्गुनन्द बहुमुखी क्याम्पसका प्राचार्य होम लिङदेन, भालुटार माविका प्रअ मुक्तिहाङ साँवा, गुरु आत्मानन्दका स्वास्थ्य सल्लाहकार खगेन्द्र लिङदेन, कृषि तथा भौतिक पूर्वाधार समितिका केन्द्रिय सदस्य लक्ष्मी इङनामको आतिथ्य रहेको थियो ।