‘गुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का तयार नपारिदिएको भए मानव बस्तीमा शान्ति हुने थिएन’ « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

‘गुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का तयार नपारिदिएको भए मानव बस्तीमा शान्ति हुने थिएन’


यलम्वर टाइम्स
२५ कार्तिक २०७६, सोमबार १२:०९

दानाबारी । महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्तीको अवसरमा माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेले किरात महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का तयार नपारिदिएको भए मानव बस्तीमा शान्ति नहुने बताएका छन् ।

माई नगरपालिका वडा नम्वर ४ मा अवस्थित किरातेश्वर फाल्गुनन्द माङहिममा आयोजित महागुरु फाल्गुनन्दको जन्म जयन्तीको उद्घाटन गर्दै नगर प्रमुख थेवेले हिंसाको बाटो नै काटमार भएको हुनाले गुरु फाल्गुनन्द ज्यूले किरात भूमिमा हत्याहिंसा त्याग्न र मद्यपान र धुम्रपानलाई अन्त्य गर्न चाल्नुभएको कदम मानव सभ्यताको लागि अचुक उपाय भएको बताए ।

कार्यक्रममा विशेष अतिथि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का इन्चार्ज दिपीन राईले मुन्धुमको प्रणेता महागुरु फाल्गुनन्द गुरु ज्यू भएको हुँदा विश्व शान्ति, भाइचारा एकतालाई पालना गर्न दिएको सन्देश विश्वकै उत्कृष्ट वाणी भएको बताए ।

अर्का अतिथि भगिहाङ नेम्वाङले महागुरु फाल्गुनन्द समाज सुधारकसँगै उहाँका वाणी दार्शनीक भएको हुँदा विश्व महागुरु फाल्गुनन्दले उठाएको वाणीमा केन्द्रीत हुने दिन आएको बताए ।

माङहिम अध्यक्ष चन्द्रकुमार फागोको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खाका राम राई, मगर संघका ज्ञानबहादुर गुर्बाछाने, चुम्लुङका बालकृष्ण लिम्बू, छत्रबीर केरुङ, भिमकुमार लावती, नेत्रप्रसाद गौतम, टुकेन्द्र येक्तेन, धनबहादुर चोङबाङ, नालिफुवाका गंगा लिङ्देन, किरात धर्म गुरु आर्थिक विभाग केन्द्रीय सदस्य टंक मगर, किरात धर्मका आइन्द्रकुमार शेर्मा, ठगबहादुर फागो, गम्भीर तामाङ लगायतले महागुरु फाल्गुनन्दका विषयमा आफ्ना भनाईहरु राखेका थिए ।

बसन्त शेर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रेमबहादुर योङहाङले गरेका थिए । कार्यक्रममा केलाङ माङलाङ र शिव पोखरीका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।