अर्जुनधारा जलेश्वरधाम: ३७ औं अनुष्ठानको उद्घाटन किरात गुरुबाट « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अर्जुनधारा जलेश्वरधाम: ३७ औं अनुष्ठानको उद्घाटन किरात गुरुबाट


यलम्वर टाइम्स
३० कार्तिक २०७६, शनिबार ०३:४८

बाजे टेकबहादुर लिङ्देन र बोजु जोगमाया तुम्बापोका नाती पुण्यप्रसाद र चन्द्रमाया चेम्जोङका छोरा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ को जन्म वि.सं. २०११ मंसिर १८ गते इभाङ–५, अगौटेबारीमा सूर्योदयको समयमा भएको थियो । सानै उमेरदेखि बोजु जोगमायालाई पूजा पाठमा सहयोग गर्ने क्रममा गौरीगाउँको माङहिमका सेवासाबा बद्रिनन्द तुम्बापोले ‘आत्मानन्द’ नाम राखिदिनुभएको भनाइ छ । बाल्यावस्थादेखि नै आध्यात्मिक परिवेशमा हुर्कनु भएका किरात धर्मगुरु आत्मानन्द सर्वप्रथम २०२५ सालमा १३ वर्षको उमेरमा गौरीगाउँ माङहिम छेउको उपवनमा समय–समयमा जपतप, आराधना गर्ने क्रममा आत्मा, परमात्माको ज्ञान, विगत, वर्तमान र भविष्य जान्ने त्रिकालदर्शी वालागुरु रुपमा सर्वत्र चिनिनुभयो । मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नु भएको खत्रक्पाबाट ध्यान शुरु गरेको भएतापनि विविध कारणले असफल हुन गयो र जितपुर माङहिममा तीन दिन पूजाआजा गरिसकेपछि वि.सं. २०२६ मंसिरमा मोरङको बक्राहा खोलाको डिलमा रहेको पिपलको बोटमा उहाँले एक हप्ता ध्यान गर्नुभयो । वि.सं. २०२७ साल भदौदेखि माघसम्म ६ महिना माई, देउमाई र मेक्वा खोलाको दोभानमाथिको डाँडा फुलुङीमा आहुती गरी रातको समयमा ध्यान, जप, तप गरी माईपारीको माझीटार भित्ताको ओडारमा बस्नुहुन्थ्यो । यही नै ज्ञान प्राप्त गर्नुभयो ।

मुङहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन पुनः अवतारको रुपमा माङवाणी सिवाखाहुन वचनका माध्यमबाट किरात धर्म, संस्कृति भाषा, लिपिको विकास र प्रचारप्रसार गर्दै आउनुभएको छ । उहाँलाई थाकथाकु लिङ्देनहाङ सेत्छेन सेनिहाङ मुहिङगुम अङसीमाङ मुहिङगुम अङसीमाङ भनेर सम्बोधन गरिन्छ । सावायेत्हाङ किरातका सन्तानहरुले अब माङसेवाका माध्यमबाट आफ्ना प्राचीन इतिहास, सभ्यता र संस्कृतिहरुको संरक्षण गर्दै विकसित गर्नु पर्दछ भन्नुहुन्छ । यिनै किरातीहरुको धर्म, ‘किरात धर्म’ हाङसाम साम्यो हो भनी सर्वप्रथम प्रचार प्रसार उहाँबाटै भएको थियो ।

किरात धर्मावलम्बीहरुको तीर्थस्थल सिन्चेइ फक्ताङलुङमा वि.सं. २०२९ सालदेखि ४ पटक यात्रा गरिसक्नुभएको छ । सायद माङसँग समय–समयमा लिन हुनुपर्ने, माङको आदेश आफ्ना चेलाहरुमा दिइरहनु पर्ने भएकाले पटक–पटक विभिन्न ठाउँमा ध्यान, योग, तप जस्ता कार्यहरु गर्दै आउनुभएको छ । एकान्तप्रेमी, कम बोल्ने, क्रोध, घमण्डबाट सदवै टाढा रही सादा जीवन उच्च बिचारका मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन विश्वका किरात धर्मावलम्बीहरुको एकमात्र महात्मा हुनुहुन्छ । वि.सं. २०३४ देखि बाँझो ९ लारुम्बा स्थायी बसोबास गर्दै आउनुभएको धर्मगुरुकै निर्देशनमा माङसेबुङमा किरात धर्मको केन्द्रिय माङहिम २०५० सालमा निर्माण शुरु भयो ।

महागुरु फाल्गुनन्द लिङ्देनले थाल्नुभएको किरात समाजमा व्याप्त आर्थिक, सामाजिक कठिनाइ, सांस्कृतिक, संस्कार, परम्परागत मान्यतामा देखिएको विकृति र विसंगतिको विरुद्ध आध्यात्मिक बाटोबाट सुधार कार्य भइरहेको छ । किरात साम्जीक मुन्धुमलाई किराती लिपिमा लिपिबद्ध, किरात लोक गायन, हाक्पारे पालाम, साम्लो, याराक, सेवासाम्लोको लेखन, माङलाङ, केलाङ र किरातहरुको राष्ट्रिय पोशाक तागाबा (पुरुष), मेख्ली (महिला) विशेष प्रयोगमा प्रोत्साहन दिंदै आउनुभएको छ ।

इष्टेवको पूजा आराधना गर्दा शुद्ध, सफा–सुग्घर, फलपूmल फलेदोले शास्त्रद्वारा वाचन गरी परम्परागत बलिप्रधान संस्कारलाई परिवर्तन गरी समाजमा व्याप्त मद्यपान, धुम्रपान र मासुमंस प्रयोगलाई उहाँकै नेतृत्वमा बन्देज लगाइ सुधार कार्य भइरहेको छ ।

किराती तथा गैरकिरातीहरुको निम्ति साम्जीक मुन्धुमको व्यवस्थित अध्यायन–अध्यापन गर्न माङसेबुङ परिसरमा निसामहिम (पाठशाला) २०५० र ०५१ देखि शुरु भएको छ । हालसम्म यस निसाहिमबाट ५ सयभन्दा बढी साङदाङगेन वरुमसाबा (शाब्दी गुरु) र २ हजारभन्दा बढी माङसेवासाबा उत्पादन भई देशविदेशमा कार्यरत छन् ।

किरात धर्मले संसारको रक्षा गर्छ । किरात धर्म भनेको सत्य र साँचो चिताउनु, झुटो कहिले नबोल्नु, हत्या हिंसा नगर्नु, पशुपंक्षीहरुलाई हामी जस्तै समान व्यवहार गर्नुपर्छ । मादक पदार्थ, मासुमंस नखानु, सधैँ सत्य चिताउनु, घमण्ड नगर्नु, सधैँ माङसेवा गर्नु, पाप कहिले नगर्नु भनी मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनले अर्ती उपदेश दिनुहुन्छ । उहाँको उपदेशलाई हामी सबैले बुझ्नु अति जरुरी छ । यसरी माङहरु हाम्रो सामु प्रकट हुनुभएको छ । हामीले माङहरुको उपदेशलाई बुझ्यौं भने मात्र सत्य युगको शुरुवात् हुन्छ । संसारमा शान्तिको बत्ति बाल्ने एकमात्र किरात धर्म हो ।