प्रभावकारी शिक्षा नीतिबारे अर्जुनधारामा अन्तरक्रिया « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

प्रभावकारी शिक्षा नीतिबारे अर्जुनधारामा अन्तरक्रिया


यलम्वर टाइम्स
२३ पुष २०७६, बुधबार १२:०८

अर्जुनधारा । नगरको शिक्षाको क्षेत्रलाई प्रभावकारी र उपयोगी बनाउने उद्देश्यका साथ शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला बीच शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया भएको छ ।

मानवअधिकार समूह अर्जुनधाराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बिराटनगरको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षाका क्षेत्रमा भएका संवैधानिक व्यवस्था, नीति, प्रावाधान र त्यसको कार्यान्वयन बारे अन्तरक्रिया भएको थियो ।

अर्जुनधारा–८ शिवालय मन्दिरको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी डोल्मा शेर्पाले विद्यालयमा झ्याल, ढोका राम्रो नहुँदा चिसो मौसममा पठनपाठनमा समस्या आएको हुनाले यसको उचित व्यवस्थापन कसले गरिदिने हो ? भनी प्रश्न राखेकी थिइन् ।

शिक्षा शाखाका प्रतिनिधि जानुका गुरागाँई मात्र थिएनन् जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष सोमनाथ पोर्तेल समेत उपस्थित रहेका कार्यक्रममा शनिश्चरे माविका विद्यार्थी समेत रहेकी शेर्पाले नगरको नजरमा रहेको शनिश्चरे माविमा पुरुष शौचालतको अवस्था त नाजुक छ भने अन्य विद्यालयमा कस्तो अवस्था होला ? भनी प्रश्न गरेकी थिइन् ।

कार्यक्रममा गणेश आधारभूत विद्यालयका विद्यार्थी दिव्य पौडेलले कम्प्युटर शिक्षा प्रदान गर्ने शिक्षक भए पनि दरबन्दी खडा नहुँदा २१ औं शताब्दीमा प्राविधिक ज्ञान पाउन गाह्रो भएको जिज्ञासा राखे ।

अन्तरक्रियामा भानु माविका प्रअ रुपक दाहालले आफ्नो विद्यालयमा १५ प्रतिशत विद्यार्थीहरु आधा पेट खाएर विद्यालय धाउने गरेको र शौचालयसँगै छात्रालाई सेनेटरी प्याडको उचित व्यवस्था भए पढाईमा समस्या नआउने जस्ता समस्या राखेका थिए ।

अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित भएको कार्यक्रममा प्रमुख अतिथि सोमनाथ पोर्तेलले राज्यबाट गाँस, बास, शिक्षा र स्वास्थ्यका लागि राज्यले संविधानमै उल्लेख गरिएको हुँदा स्थानीय सरकार र त्यस मातहतमा रहेको शिक्षा शाखा, स्वास्थ्य शाखा लगायतको ध्यान जान जरुरी देखिन्छ ।

जनताको करबाट सञ्चालन भएको विषयगत शाखा स्थानीय स्तरमै आएको हुँदा कुन विद्यालयमा के समस्या छ ? अन्तरक्रिया गरेर शिक्षा शाखाले समाधानको बाटो खोज्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले नगरमा देखिएका समस्या समाधान गर्दै लाने बताउँदै यस्ता अन्तरक्रियाबाट नगरको चेत खोल्ने भएको हुँदा कार्यक्रम गरिरहन आयोजकलाई आग्रह गरेका थिए ।

शिक्षा शाखाबाट प्रतिनिधित्व गर्दै आएकी जानुका गुरागाईंले जनप्रतिनिधिले शिक्षा नीतिप्रति स्पष्ट बुझाईको अभावले काम गर्न असहज भएको बताउँदै शिक्षामा सुधारको विषयमा आफूबाट पहल गर्ने बताइन् ।

थुप्रै जिज्ञासा रहँदा रहँदै गुरागाईँ कार्यक्रम स्थलबाट बीचैमा बाहिरिएपछि विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरुले राखेका जिज्ञासाको जवाफ नआउँदा खल्लो महशुस भएको आयोजक समितिका एक सदस्य सोना गेलालले बताइन् ।

कार्यक्रममा पूर्व प्रअ सरस्वती सिटौला गोले, शनिश्चरे माविका प्रअ चेतामणी खनाल, इन्सेक झापा प्रतिनिधि नरेश खाती लगायतले जिज्ञासा सहित आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ, फोनिज प्रदेश १ का इन्चार्ज दिपीन राई, अरुणोदय आधारभूतका अध्यक्ष राजकुमार बराईली, शनिश्चरे माविका पूर्व प्रअ भैरव पौडेल, शिक्षा सेवी लोकनाथ पौडेल, शनिश्चरे माविका पीटीए अध्यक्ष मोहन पौड्याली लगायतको आतिथ्य रहेको थियो ।

मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सहसचिव सोना गेलालले गरेकी थिइन् भने सञ्चालन सचिव विष्णु आचार्य र सहजकर्ता राजन राईले संयुक्त रुपमा गरेका थिए ।