समृद्ध र पर्यटकीय गन्तव्यसहितको नगर बनाउन सबैको सहयोग आवश्यक: नगर प्रमुख राना « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

समृद्ध र पर्यटकीय गन्तव्यसहितको नगर बनाउन सबैको सहयोग आवश्यक: नगर प्रमुख राना


यलम्वर टाइम्स
७ माघ २०७६, मंगलवार ११:३५

अर्जुनधारा । समृद्ध नगरसँगै पर्यटनको आकर्षक नगर बनाउन नगरपालिका लागेको नगर प्रमुख हरिकुमार रानाले नगरपालिकासँग आवद्ध सूचना तथा सञ्चार सदस्यहरुसँग बताए ।

सूचना तथा सञ्चारसँग पहिलो पटक भएको बैठकमा नगर प्रमुख हरिकुमार रानाले समृद्ध नगर बनाउने गोरेटो नगरले बनाए पनि पूर्णता दिनका लागि सम्पूर्ण जनता र राजनीतिक दलहको अह्म भूमिका र सहयोग हुनुपर्ने बताए ।

त्यसमा पर्यटन पनि त्यही ढंगबाट अगाडि बढ्ने सुनाए । करिब २ घण्टा ३० मिनेट बसेको सूचना बैठकमा पर्यटनका लागि अर्जुनधारा–५ स्थित पाण्डापुरमा पाण्डवका प्रतिमा, अर्जुनधारा–८ स्थित हात्ती किल्लामा हात्तीलाई बाँधिएर राखिएको प्रतिमा, अर्जुनधारा–१ स्थित हात्ती आहालमा पोखरीमा हात्ती खेलेको प्रतिमा यसै वर्षबाट निर्माण गर्दै लैजाने बताए ।

शनिश्चरेको दुर्गा मन्दिर अगाडि युद्धमा अर्जुनले वाण हानेको प्रतिमा जस्तै शनिश्चरे बजारको नजिक गोरु गाडामा सुर्ति ल्याउँदै गरेको प्रतिमा बन्दै गरेको समेत जानकारी दिए ।

नगर प्रमुख रानाले अर्जुनधारा नगर क्षेत्रमा रहेको ८ वटा सामुदायिक वनभित्र सामुदायिक वन र डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै ८ वटा संग्राहलय स्थापना गर्ने, उक्त संग्राहलयमा किरात वंश, मल्ल वंश र यदु वंश लगायतका सामग्रीहरु संकलन गरि आउने पर्यटकहरुका लागि आकर्षक गन्तव्य निर्माण गरेर लैजाने लक्ष्य रहेको बताए ।

यसरी नै अर्जुनधारा–२ स्थित सहकाले झरनालाई शिव गंगा झरनाको स्वरुप दिएर आकर्षक गन्तव्य बनाउने, सोही क्षेत्रमा पर्ने साठ्ठी मुरेमा बुद्धको प्रतिमा निर्माण गरि आन्तरिक होम स्टेको निर्माण गरि पर्यटक बस्ने स्थल बनाउने लक्ष्य रहेको जानकारी दिए ।

उनले शनिश्चरे बजार चोकदेखि अर्जुनधारा धामसम्म जोडिने गरि (सिक्किमको एमजी रोड जस्तो) बनाउने, खोलाको दुवै किनारमा बहुमुल्य वृक्षरोपण गरिने समेत जानकारी दिए ।

यी सबै कार्य हाम्रै पालामा गर्ने प्रयास रहने जानकारी दिँदै नगरलाई समृद्ध बनाउन तत्कालिन ५ वर्षे नीति र दीर्घकालिन १५ वर्षे योजना रहने समेत बताए ।

आउने सन्ततिका लागि राम्रो बाटो निर्माण गरिदिए नगर समृद्धसँगै पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने समेत बताए ।

०७६÷०७७ अर्जुनधारा प्रवेश गर्ने द्वार महानन्द चोक, दुर्गापुर, सहरेडाँगी, माटे, लाप्चेटार, दहिझोडा, दानाबारी लगायत ८ स्थानमा स्वागत द्वार निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै नगर निर्माणमा यी कुरा बोर्डलाई कति बुझाउन सक्छु र बोर्डले वडाहरुलाई कति बुझाउन सक्छन् । रै पनि स्थानीय सरकारको नाताले नगरपछि हट्ने छैन ।

सूचना तथा सञ्चार समूहका अध्यक्ष सकुन्तला बरालको सभापतित्वमा भएको कार्यक्रममा सूचना तथा सञ्चार नीति, सञ्चालन कार्यविधि बारे नगरका प्राविधिक प्रमुख विनोद खनालले वाचन गरेर जानकारी दिए ।

बैठकमा प्रशासकीय प्रमुख पंकज भुर्तेल, सूचना अधिकृत डेनजोनी आचार्य लगायतको आतिथ्य रहेको थियो ।

कार्यविधि बारे पत्रकारहरुले विभिन्न सुझाव समेत सुझाएका थिए ।