जनमुक्तिको २९ औं स्थापना दिवसमा सरकारको व्यापक आलोचना « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

जनमुक्तिको २९ औं स्थापना दिवसमा सरकारको व्यापक आलोचना


यलम्वर टाइम्स
७ माघ २०७६, मंगलवार ११:४९

झापा । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो २९ औं स्थापना दिवस झापाको कनकाई पर्यटकीय नगरी धनुषकोटीमा एक अन्तरक्रियाको कार्यक्रम गरि मनाएको छ ।

२९ औं स्थापना दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रशिक्षक विभाग प्रमुख मोहन धिमालले दुई तिहाई सरकार आफू खुशी नीति निर्माण गर्दै राष्ट्रलाई आघात हुने कार्यमा अगाडि बढेको बताए ।

लोकतन्त्रमा समृद्ध नेपाल, सुखी नेपाली भनेर सरकारले नारा ल्याए पनि त्यस नारासँगसँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) जस्तो योजना लादेर देशलाई अनिर्णयको बन्दी बनाउन सरकार लागेको आरोप लगाए ।

प्रमुख अतिथि धिमालले संघीय लोकतान्त्रिक गणतन्त्रसँगै पूर्ण समानुपातिक पद्धतिमा मुलुकलाई लैजान नसके जातीय मुक्ति प्राप्त हुन नसक्ने बताए ।

कार्यक्रमका विशेष अतिथि पार्टीका केन्द्रीय सचिव बलदीप प्रभास्कर चाम्लिङ राईले मुक्ति भनेको पीडकको पिछे लघु होइन बराबर हैसियत हो, त्यसैले आदिवासी जनजाति, दलित र उत्पीडित र महिलाहरुको मुक्तिका लागि बराबर हैसियत निर्माणमा जनमुक्ति पार्टी अगाडि बढेको बताए ।

विशेष अतिथि समेत रहेका चाम्लिङले ठूला दलबाट अज्ञानताको ज्ञानहरु छरेर जनजातिहरुलाई भुलाइरहेका छन् ज्ञानको ज्योति दिँदै राजनीति गर्न जनमुक्ति जनजातिहरुलाई अग्रगतिमा ल्याउन कम्मर कसेको बताए ।

ठूला दलमा रहेका आदिवासी जनजाति सुन्दर भए पनि सग्लो रुखमा फुलेका सुनाखरी मात्र हुन्, निर्णायक भएर फुल्न सक्दैनन् ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेको उदाहरण दिँदै ठूलो वृक्षमा शिवमायाको योग्यता सुनाखरी फुलमात्र हुन सक्छ निर्णायक हुन सक्दैन । त्यसैले आदिवासी जनजातिहरुलाई निर्णायक भूमिकामा उभ्याउन जनमुक्ति तयार रहेको सचिव चाम्लिङले बताए ।

जिल्ला उपाध्यक्ष पार्वता माङ्मुको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सचिव कृष्णकुमार थेवेले पूर्ण समानुपातिक पद्धति सबै खाले मुक्तिको एउटा बाटो भएको बताए ।

कार्यक्रममा संघीय परिषद सदस्य राज खम्बू, बहुजातीय सांस्कृतिक मोर्चाका अध्यक्ष कैलाश थापा, आदिवासी नेता बैसागु राजवंशी, प्रदेश कार्यवाहक अध्यक्ष पर्शुराम मगर लगायतको आतिथ्य रहेको थियो ।

जिल्ला सचिव पदम सुब्बाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मानु साम्मेखामले गरेका थिए । अन्तरक्रियामा सांस्कृतिक कार्यक्रमसँगै वनभोजको समेत आयोजना गरिएको थियो ।