एमसीसीबारे अर्जुनधाराका महिला नेतृहरुको आ–आफ्नै तर्क « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

एमसीसीबारे अर्जुनधाराका महिला नेतृहरुको आ–आफ्नै तर्क


यलम्वर टाइम्स
१२ माघ २०७६, आईतवार १०:४६

अर्जुनधारा । एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपालमा लागू हुने या नहुने सर्वोच्च चर्चा चलिरहेको बेला राजनीतिक दलभित्र नै एमसीसीका विषयमा ऐक्यबद्धता आउन सकिरहेको छैन ।

गरिब देशमा लागू हुँदै आएको यस परियोजना नेपालका लागि कतिको फापसिद्ध हुन्छ भनेर राजनीतिक दलले आफ्नो तल्लो तहसम्म आफ्नो तर्क ल्याउन नसक्नुले पनि द्विविधा देखिएको हो ।

विश्वको ४६ मुलुकमा एमसीसी प्रोजेक्ट कार्यान्वयन भइसकेको र त्यसबाट के कति राष्ट्रलाई हितकर भएको छ या बेफाइदा देखिएको छ, राज्यले स्पष्ट नपार्नुले स्वयं आफ्नै दलभित्र विवाद आउनु स्वभाविक ठानिन्छ ।

राजनीतिक दलका ठूला नेताहरुले एमसीसी प्रोजेक्ट हितकर भनेपनि के कारणले हो भन्ने कुरा आफ्नो कार्यकर्ताहरुलाई बुझाउँन नसक्दा गाउँमा रहेका कार्यकर्ताहरु खुलेर बोल्न सकिरहेको अवस्था छैन ।

साना राजनीतिक दलका नेताहरु एमसीसी परियोजना लागू भए देश अनिर्णायकको बन्दिमा फस्ने तर्क दिन्छन् । ठूला राजनीतिक दलका नेताहरु भने देश विकासमा टेवा पुग्ने एमसीसी योजना ठीक भएको बताउँछन् ।

यसै विषयलाई लिएर अर्जुनधारा नगरक्षेत्रका महिला नेतृहरुसँग प्रश्न गर्दा नेपाली कांग्रेसकी महिला नेतृ सरस्वती सिटौला गोले भन्छिन्, ‘यस विषयमा पार्टीको धारणा आउँन बाँकी नै छ तर परियोजना सकारात्मक भए स्वीकार्नु पर्छ, नकरात्मक भए समर्थनको अर्थ रहन्न ।’

यसैगरी नेकपाकी महिला नेतृ कुसुम राई ‘एमसीसी परियोजनाले देश समृद्ध हुन्छ भने स्वीकार्नु पर्ने धारणा राख्छिन् ।’

जनमुक्तिका महिला नेतृ मिना पन्धाक भन्छिन्, ‘एमसीसी परियोजना लागू भए देश बिदेशी हस्तक्षेपमा पर्ने भएको हुँदा हस्तक्षेपबाट जोगाउँनु पर्छ।’ पन्धाक अगाडि भन्छिन्, ‘समृद्ध नेपाल निर्माण गर्न बिदेशी पैसासँगै सेना नभित्रियोस् ।’

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेकी महिला नेतृ देवकला प्रसाई भन्छिन्, ‘एमसीसी परियोजनाभित्र डरलाग्दो षड्यन्त्र रहेको हामी पाउँछौं । राष्ट्रलाई आघात हुने खालको निर्णय सरकारले नगरोस् ।’