सालबारी पार्कमा लखन थापाको शालिक बन्ने « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

सालबारी पार्कमा लखन थापाको शालिक बन्ने


यलम्वर टाइम्स
४ फाल्गुन २०७६, आईतवार ०५:५३

[नरेश खाती]

अर्जुनधारा । अर्जुनधारा–९, स्थित सालबारी पार्कमा प्रथम शहीद लखन थापाको सालिक निर्माण हुने भएको छ ।

शुक्रबार युवा नेता ज्योतिसिंह दर्लामी मगर, मगर संघ केन्द्रिय सदस्य सुन्दर थापा, जिल्ला अध्यक्ष जगत राना मगर र नगर प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा सालिक रहने स्थानमा शिल्यान्यास गरेका थिए ।

सालिक स्थापनाका लागि समाजसेवी कमल थापा मगर र कमला थापा मगरले आफ्नो छोरा चन्दन थापा मगरको स्मृतिमा रु. १ लाख प्रदान गरेका छन् । सालिक यसै वर्ष निर्माण गर्नेे जिल्ला अध्यक्ष रानाले जानकारी दिए ।

यसरी नै प्रथम शहीद लखन थापाको १ सय ४३औं स्मृति दिवसमा एक अन्तरक्रिया कार्यक्रम भएको छ । मगर संघ जिल्ला समिति झापाको आयोजना र अर्जुनधारा नगर समितिको व्यवस्थापनमा अर्जुनधारा–८, स्थित सामुदायिक भवनमा भएको थियो ।

कार्यक्रममा नगर प्रमुख रानाले प्रथम शहीद लखन थापालाई राज्यले अपमान गर्न नहुने बताउँदै आफू शहीद थापाको सम्मानका लागि पछि नहट्ने बताए । प्रमुख अतिथि समेत रहेका रानाले भने, लखन थापाले स्वतन्त्रताका लागि सहादत प्राप्त नगरेका भए मुलुक यो अवस्थामा पुग्दैन थियो ।

कार्यक्रममा मगर संघ जिल्ला सचिव बबिता लुङगेलीले प्रथम सहिद लखन थापाबारे कार्यपत्र प्रस्तुत गर्दै सरकारले लखन थापालाई बिर्सिए मगर जातिको अपमान हुने बताए ।

अन्तरक्रियामा पर्शुराम मगर, रिना थापा मगर, खेमकुमारी आले मगर, सिर्जलाल चौधरी, प्रेसक्लब अध्यक्ष कुमार भट्टराई, इन्सेक प्रतिनिधि नरेश खाती लगायतले सहिद थापाको विषयमा आ–आफ्नो राय राखेका थिए ।

जिल्ला अध्यक्ष जगत राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्य प्रकाश दलबहादुर मगर, स्वागत नगर अध्यक्ष मनोज रैका मगर र सञ्चालन सुष्मा राना मगरले गरेका थिए ।