हात्ती आहाल र साधुटार वडा नम्वर १ को मुख्य पहिचान « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

हात्ती आहाल र साधुटार वडा नम्वर १ को मुख्य पहिचान


यलम्वर टाइम्स
५ फाल्गुन २०७६, सोमबार ११:२९

सिस्ने । अर्जुनधारा नगरपालिकाले वडा स्तरमा नगर महोत्सव चलाईरहेको बेला सोमबार सम्पन्न वडा नं. १ को महोत्सवमा मुख्य वक्ताले हात्ती आहाल र साधुटार वडावासीहरुका लागि पर्यटकीय गन्तव्यको मुख्य थलो र पहिचान भएको बताएका छन् ।

मंगलबारे हाटमा आयोजित महोत्सवमा नगर प्रमुख हरिकुमार रानाले हात्ती आहालको इतिहाससँग वडा नं. १ लाई जोड्दै हात्ती आहाल गरेको प्रतिमा राख्न सके पर्यटकका लागि आकर्षक गन्तव्य हुनेमा जोड दिए ।

प्रमुख रानाले साधुटार धार्मिक गन्तव्य र यहाँका जातजाति, भाषाभाषी गहना भएको हुँदा भ्रमण वर्ष २०२० लाई गन्तव्यमा पुर्याउन वडा नम्वर १ को महत्वपूर्ण भूमिका हुने जनाए ।

कार्यक्रममा अर्का वक्ता नेपाली कांग्रेस उपसभापति चन्द्र प्रसाईले पर्यटकको गन्तव्य स्थल रहे पनि विकासको दृष्टिकोणमा पाइला सर्दै गरेको वडा हो, सबै मिली यस वडाको उन्नति र प्रगतिमा हातेमाले गर्न जरुरी रहेको बताए ।

अर्का वक्ता नेकपाका भक्ति कोइरालाले भ्रमण वर्ष नगरले सञ्चालन गरेर वडाको पहिचान गराउन सफल भएकोमा नगरपालिकाका सम्पूर्ण टिमलाई बधाई ज्ञापन गरेका थिए ।

वडाध्यक्ष गजाधर खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल, वडा नं. ७ का अध्यक्ष नवराम ढुंगाना, वडा नं. १०का अध्यक्ष बलदेव गोम्देन, वडा नं. ९ का अध्यक्ष पुष्प प्रसाई, वडा नं. ४ का अध्यक्ष दुर्गा दाहाल, हचुमासा सामुदायिक वनका अध्यक्ष चक्र तामाङ, हलुवागढका युवराज लोहार, समाजसेवी रामबहादुर निरौला, खगेन्द्र काफ्ले साहित्यकार कालीबहादुर थापा, कुमार भट्टराई, कृष्ण बराल, संगीतकार हस्त परियार, कृष्ण पौडेल, नृत्यकार सुशन समालको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्वी किरातीहरुको उत्कृष्ट नृत्य साकेला, खस आर्यहरुको मारुनी, मगर जातिको कौरा, लिम्बू जातिको च्याब्रुङ, तामाङको सेलो जस्ता मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अस्मिता पोखरेल, अभिषेक पोखरेल, कालीबहादुर थापा, चाहना खतिवडा लगायतले कविता वाचन गरेका थिए । यसरी नै ईशा फुयाँल, रोजन काफ्ले, सेविका कोइराला लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

विभिन्न शाखाबाट सेवा लिनेहरु उल्लेखीय

वडा महोत्सव चलिरहेको बेला महोत्सव हेर्न र सेवा लिनेहरुको संख्या उल्लेखीय रहेको वडा सदस्य दिलबहादुर सारुले बताए ।

महोत्सवसँगै सेवा पनि प्रदान हुनेछ भनी प्रचार गरेपछि किसानहरुले आफ्नो बारीमा लगाइएका बोट विरुवादेखि पशुपंक्षी र माटो परीक्षण समेत गराएका छन् ।

पशुपंक्षी विकास शाखाका अनुसार १६५ गोवर परीक्षण, ६ गोरु, २५ बोकाको उपचार र ९५ जना कृषकहरुलाई पशु सम्बन्धि परामर्श दिइएको छ ।

पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतका अनुसार वडा नं. १ मा पशु सम्बन्धि उत्सुकता राख्नेहरुको संख्यासँगै उपचारका लागि औषधी लानेहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।

नगरपालिकाबाट प्रदान गरिने पञ्जीकरणमा १५ जनाभन्दा बढीले पञ्जीकरण गरेको र सामाजिक सुरक्षा जस्ता परामर्श सेवा प्रदान गरेको नगरपालिकाकी कर्मचारी संगीता सिटौलाले जानकारी दिइन् ।

कार्यक्रममा ६० जनाले सेवा लिएको त्यसमध्ये बोट विरुवामा लागेका किराहरुलाई मार्न उपायको विषयमा २६ जनालाई विषादी वितरण गरिएको, ३ जनाको माटो परीक्षणसँगै मकैमा लाग्ने फौजी किराका विषयमा परामर्श दिएको कृषि शाखाका अर्जुन पोखरेलले जानकारी दिए ।

१८० जनाले परामर्श सेवा, ४० जना महिलाले भीआईए टेष्ट, ५७ जनाले सुगर टेष्ट र ७५ जनाले स्क्रिन टेष्ट स्वास्थ्य शाखाकी दुर्गा चापागाईले जानकारी दिइन् ।

स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार ग्रामिण बस्तीमा भीआईए टेष्ट राम्ररी नगरेसम्म रोग च्यापेर बस्नेहरुको संख्या देखिने अवस्था छ ।

वडा नं. १ का एक दर्जनभन्दा बढी संघसंस्था र विद्यालयले जनचेतना जस्ता सचेतनाका पम्लेटहरुर प्रदर्शन गरेको वडा सदस्य तुलसा पोखरेलले जानकारी दिइन् ।

दिलबहादुर सारुले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।