शिकारी खोल्सी र साठ्ठीमुरे–सहकाले वडा नं. २ को आकर्षक गन्तव्य « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

शिकारी खोल्सी र साठ्ठीमुरे–सहकाले वडा नं. २ को आकर्षक गन्तव्य


यलम्वर टाइम्स
६ फाल्गुन २०७६, मंगलवार ११:४४

खुदुनाबारी । भ्रमण वर्षलाई सफल बनाउन र आफ्नो वडामा पर्यटक भित्र्याउने लक्ष्यका साथ वडा नं. २ ले जनता माविको खेल मैदानमा कला, साहित्य कार्यक्रमसँगै आफ्नो क्षेत्रमा रहेको पर्यटकका लागि आकर्षक गन्तव्य उल्लेख गरेको छ ।

विभिन्न जाति, जनजाति बसोबास भएको वडा नं. २ विशेष गरी कुमाल जातिहरुको इतिहास रहेको छ । पर्यटन वर्षसँगै कार्यक्रम गरिरहँदा वडाध्यक्ष रघुनाथ खनालले सहकाले झरनासँगै शिकारी खोल्सी (खोजपुर सिमसार) र साठ्ठीमुरे आकर्षक गन्तव्य रहेको बताए ।

उनले विकासको क्रममा यी गन्तव्य स्थल वडा नं. २ को महत्वपूर्ण रहेको जोड दिए । वडाध्यक्ष खनालले अगाडि भने, ‘भ्रमण वर्षले वडा नं. २को मुहार उज्यालो बनाएर जानेछ । ’

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले भ्रमण वर्षलाई वडा–वडामा पुर्याउन नगरको दायित्व भएको हुँदा यस्ता कार्यक्रमसँगसँगै खेलकुद, कला संस्कृति, साहित्यलाई प्राथमिकता दिएर अगाडि बढेको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य, प्रशासकीय अधिकृत पंकज भुर्तेल, नेकपाकी सावित्रा सापकोटा, नेपाली कांग्रेसका जिल्ला सदस्य पुण्यप्रसाद ओझा, जनता माविका जयप्रकाश भण्डारी, नमूना माविका प्रअ रुद्र श्रेष्ठ, ब्लू हेभनका कृष्ण थापा, सरस्वतीका नगेन्द्रप्रसाद खनाल, सिंहदेवीका लीलानाथ खनाल, नवज्योतिका तिलचन खनाल, रेडक्रसका सचिव मुकुन्द भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

वडा सदस्य राजेन्द्रप्रसाद वाग्लेले स्वागत गरेको कार्यक्रममा कुमाल जातिको मारुनी नाच, लिम्बू जातिको च्याब्रुङ नाच, साठ्ठीमुरेका शान्ति युवा समाजले मारुनी नाच प्रस्तुत गरिएको थियो ।

वडा सदस्य खड्गमाया पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सांगीतिक तर्फ सुगम नेम्वाङले सञ्चालन गरेका थिए ।

नगरपालिकाले महोत्सवसँगै शाखाद्वारा विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । कृषि शाखाका अनुसार ७१ जनालाई परामर्श सेवा र ३१ जनालाई विषादी वितरण गरिएको थियो भने नगरपालिकाले पञ्जीकरण परामर्श, घटना दर्ता जस्ता कार्यमा सहजीकरण गरेको थियो ।

कार्यक्रममा पशु सेवाका प्राविधिक बेनुपकुमार बस्नेतका अनुसार ७२ वटा गोबर जाँच, ६५ जनालाई परामर्श प्रदान गरिएको थियो ।