लकडाउनमा पनि रोकिएन लागूऔषधको तस्करी « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

लकडाउनमा पनि रोकिएन लागूऔषधको तस्करी


यलम्वर टाइम्स
६ बैशाख २०७७, शनिबार १०:००

झापा । कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागूऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागूऔषधसँग जोडिएको पाइएको छ ।

दुई साताअघि काठमाडौंबाट दुई युवा बा ६ च ७०१९ नम्बरको कार लिएर काँकडभिट्टा आइपुगेका थिए । आफुलाई शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो ।

तर, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई शङ्का लाग्यो । केरकार गर्दा दुबै जना लागूऔषध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए ।

हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुबै युवालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा लागूऔषधका कारोवारी र प्रयोगकर्ता समेत छन् ।

बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

दुई जना लागूऔषधका प्रयोगकर्ता केही दिन अघि क्वारेन्टाइनको झ्याल फोडेर राति भागेका समेत थिए ।

यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती र अस्थायी शिविर छ । सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिहरुले असफल प्रयास भने गरिरहेकै छन् ।

काँकडभिट्टा पारि भारतको पानीटङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागू औषध नेपालतिर आपूर्ति गर्ने अखडाहरु छन् ।

पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको छ ।

नाकाबाट आवतजावत ठप्प भएपछि लागूऔषधका कारोवारीले नयाँ–नयाँ जुक्तिहरु प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्रहरीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताएकी छन् ।

उनले खोलामा नुहाउने बहानामा लागूऔषध वारपार भइरहेको हुँदा सतर्क हुनुपर्ने बताइन् ।

‘नुहाउने बहाना गर्दै नेपालतिरबाट युवाहरु मेची नदीमा जाने गर्दारहेछन्,’ उपप्रमुख उप्रेतीले भनिन्, ‘भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी लागूऔषध दिँदारहेछन् ।’ खोलामा नुहाउन जानेमाथि समेत प्रहरीले हाल निगरानी बढाएको छ ।

भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले २५ स्थानमा अस्थायी पोस्ट बनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बन्दाबन्दीको समयमा २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ती सवारी साधनहरु शङ्कास्पद लागूऔषध कारोवारीका हुन् ।

उनले बन्दाबन्दीमा सुरक्षा व्यवस्था कडा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि लागूऔषधका प्रयोगकर्ता र कारोवारीहरु भने सल्बलाइरहेको बताए ।

उनले लागूऔषधका प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुनसक्ने चुनौती र समस्याको समाधानका बारेमा स्थानीय सरकारसँग छलफल भइरहेको बताए । सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट पारे ।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा लागूऔषधको धन्धा विगतदेखि नै सञ्चालन हुँदै आएको हुँदा कारोवारको जालो बलियो हुनसक्ने अनुमान गरिएको छ ।

मेचीनगर–१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरी लगायत विभिन्न सहरबाट लागूऔषध खोज्दै आएका युवाहरुलाई स्थानीय टोल समितिले केही दिन अघि भाटेकार्वाही गर्दै लखेटेको थियो ।

लागूऔषध नियन्त्रण र प्रयोगकर्ताहरुलाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को–अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै कारणवश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए ।

त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्नेगरी शारीरिक र मानसिक पीडा हुने, पेट बटारिने, मांसपेशी बाउँडिने जस्ता समस्या देखा पर्ने उहाँले बताए ।

बन्दाबन्दीको अवस्थामा लागूऔषध खानका लागि त्यस्ता व्यक्तिहरुले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चोरी र लुटपाट गर्ने गर्नसक्ने ढकालले सम्भावना व्यक्त गरेका छन् ।

उनीहरुलाई स्थानीय सरकारले खोजी खोजी छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै लागू गरेको मौखिक प्रतिस्थापन विधि (ओएसटी)बाट औषधोपचार गर्ने उपाय भएको उनले बताए । रासस