समस्या लुकाउँदा ज्यान गुम्यो « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

समस्या लुकाउँदा ज्यान गुम्यो


यलम्वर टाइम्स
२० बैशाख २०७७, शनिबार ०९:५५

अर्जुनधारा । नगरका जनता खाद्य समस्याबाट पीडित नहुन् भन्दै राजनीतिक दलसहित नगर अवलोकन गरेको तीन दिन पनि नबित्दै एक वृद्धले औषधिको अभावमा ज्यान गुमाउँनु परेको स्थानीयहरुले बताए ।

अर्जुनधारा–५ स्थित सुकुम्बासी बस्तिमा खाद्य अभाव भएको भनी नगरपालिकामा सूचना पुगेपछि नगर प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख र राजनीतिक दलसँगै सञ्चारकर्मी र प्रहरी प्रशासन सुकुम्बासी बस्ति पुगेका थिए ।

नगर प्रमुख हरिकुमार रानाले समस्याबारे सोधपुछ गर्दा प्रायः जसोले राशनको समस्या दर्शाए तर दैनिक औषधि सेवन गर्ने गरेको कसैले खुलेर भनेनन् ।

औषधिभन्दा खाद्य समस्या देखाएपछि नगरले चामल, दाल र तेल त पुर्यायो । तर, करिब ८ दिनदेखि पैसाको अभावले औषधि सेवनबाट बन्चित ६० पार गरेका हरि राजबंशीको उच्च रक्तचापका कारण मृत्यु भएको थियो ।

स्थानीय किरण श्रेष्ठले समस्याबारे नगर प्रमुखलाई सबै कुरा खुलेरै भन्नु भनेका थिए तर औषधि खाँदै गरेको कुरा लुकाएपछि यस्तो दुर्दसा राजबंशीले भोग्नु पर्याे ।

हरिले भोगेको यो नियती त एउटा प्रतिनिधि पात्र मात्र हो । यस्तो अवस्था भने सबै ठाउँमा देखिन थालेको छ ।

मृत्युशैयामा नपुगे पनि अधिकांश मानिसहरु आर्थिक अवस्था नाजुक भएका कारण औषधी सेवनमा समस्या आई परेको देखिन्छ ।

त्यसैले मानव अधिकार सञ्जालले रोगीहरुको सेवामा ध्यान पुर्याउन नगर सरकारलाई अनुरोध पनि गरेका छन् ।

अर्जुनधारा नगरका केही वडाहरुले बीमा नभएका वृद्धहरुलाई स्रोतको पहिचान गरि औषधी दिलाए पनि अधिकांश वडामा दैनिक जसो औषधी सेवन गर्ने मानिसलाई अर्थ अभावका कारण समस्या देखा पर्दै आएको छ ।

यस नगरमा अधिकांश मानिसहरुले स्वास्थ्य बीमा नगरेको तथ्य छ । बीमा नभएका रोगीहरुको समस्यालाई पहिचान गरि सम्बन्धित टोल विकास समितिले पहिचान गरि समस्याको निकासमा सेवा पुराउन पर्ने देखिन्छ ।

यसै बिषयलाई लिएर नगर प्रमुख हरिकुमार रानासँग कुरा राख्दा समस्या भएका मानिसहरुले आफ्नो समस्या वडा वा टोल विकासलाई राख्दा खाद्य मात्र नभई दैनिक सेवन गर्दै आएको औषधिका समस्या पनि खुलेर राख्न अनुरोध गरे ।

लकडाउनका बावजुद औषधि सेवन गर्दै आएकाहरुले बिहान ८ देखि ११ सम्म सडक खुल्ला रहने भएका कारण खरिद गर्न सक्ने पनि जनाए ।

यता स्वस्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार बीमावालाका लागि घर–घरमा औषधि पुर्याउँदै आएको जनाउँदै समस्या परेको छ भन्दै लाजले अन्य समस्या नलुकाउन समेत अनुरोध गरे ।

नगर कोरोना बिरुद्धको अभियानमा जुटेका कारण समस्या आई परे फोन नम्बर ९८४२६५९६२० मा सम्पर्क गर्न अनुरोध गरे ।