कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ बिरामी डिस्चार्ज « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ बिरामी डिस्चार्ज


यलम्वर टाइम्स
२४ बैशाख २०७७, बुधबार ०८:१७

बिराटनगर । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठीक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनीहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए ।

उनीहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई बुधबार अस्पतालबाट विदाई गरिएको हो ।

डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन तयार गरिएको छ ।

कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् ।

अस्पताललमा उनीहरु भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिइन् ।

उनले भनिन्, ‘चिकित्सकको निगरानीमा उपचार गरी स्वास्थ्य लाभ गरेर उहाँहरु जानु भएको हो । अब क्वारेन्टाइनमा बसेपछि उहाँहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ । आवश्यक परे परीक्षण पनि गरिने छ ।’

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनीहरुलाई प्रदेश सरकारले कोशी कोभिड–१९ उपचार केन्द्रमा ल्याएको थियो ।

अस्पताल भर्ना गराइएका १२ जनामध्ये ६ जना बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुसँगै आएका बाँकीको अस्पतालमै उपचार भईरहेको छ ।

कोभिड–१९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।