अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख ४१ हजार, बजेटले आत्मनिर्भरता निर्माण गर्न कृषि, पशु, शिक्षा र रोजगारमा प्राथमिकता « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख ४१ हजार, बजेटले आत्मनिर्भरता निर्माण गर्न कृषि, पशु, शिक्षा र रोजगारमा प्राथमिकता


यलम्वर टाइम्स
१० असार २०७७, बुधबार १२:२१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कोभिड १९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सातौं नगरसभाबाट आर्थिक वर्ष ०७७–०७८ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

सभामा नगर उपप्रमुख कमला खतिवडा आचार्यले नीति तथा कार्यक्रममा कृषिको विकास नीति, पशुपंक्षी, मत्स्य, सहकारी, पर्यटन, उद्योग तथा वाणिज्य, सामाजिक विकासका लागि रोजगारी सिर्जना हुने र उद्योग व्यवसायलाई राहत मिल्ने गरी योजना तयार गरेको बताइन् ।

नगरको पर्यटकीय स्थल सुखानी शहीद स्मृति पार्कमा बुधबार उपप्रमुख कमला खतिवडा आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समाजिक सुरक्षा भत्ता बाहेक ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँका योजना आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्तुत गरेकी हुन् ।

उनले कृषिको हकमा स्थानीय प्रजातिको बाली, लहरे खेती तथा धान, मकै, आलुको बीऊ विजन उत्पादन गर्ने, बाँझो जमिन नराख भनी भूमि बैंकको व्यवस्थापन गर्ने, साझेदारीमा एक हजार विगाहमा इनार, ट्युवेल, डिपबोरिङ गर्ने, प्याल र लसुनलाई व्यवसायीक खेति गर्न प्रोत्साहित गर्ने, कृषि उपज, संकलन तथा बिक्री वितरण केन्द्र अन्तर्गत खाद्य गोदाम, शीत भण्डार तथा खाद्य प्रशोधन उद्योग निर्माण गर्ने, सुपारी, उखु तथा नगदे खेतीलाई प्रोत्साहन गर्ने, बाली रोग नियन्त्रण पूर्व तयारी गर्ने रहेको बताइन् ।

पशुपंक्षी, मत्स्य नीतिको हकमा अर्जुनधारा नगरपालिकाले लोकल कुखुरा पकेट क्षेत्र घोषणा गरि न्यूनतम ६ सय परिवारलाई व्यवसायीक कृषिमा आत्मनिर्भर बनाउने, माछा, मासु, अण्डा, दूध आदिको व्यवसायीक उत्पादनमा प्रोत्साहित गर्ने साथै पशुपंक्षीलाई चाहिने दाना, घाँस उत्पादनमा प्रोत्साहित गर्ने, साप्ताहिक पशुहाटलाई आवश्यक व्यवस्थापन गर्ने, कृषकहरुलाई प्राविधिक ज्ञानको विकास गर्दै लगिने बताइन् ।

सहकारी, पर्यटन, उद्योग तथा वाणिज्य जस्तालाई प्रोत्साहित गरेर अगाडि बढाइने पनि उनले बताइन् ।

उपप्रमुख खतिवडाले शिक्षा र स्वास्थ्यलाई नगरले उच्च प्राथमिकता दिएको बताउँदै शिक्षा अन्तर्गत ‘नानीसँग ज्ञानी’ कार्यक्रम, जनप्रतिनिधिसँग अभिभावक भेटघाट कार्यक्रम अगाडि सारिएको बताइन् ।

स्वास्थ्य कार्यक्रम अन्तर्गत गरिब, विपन्न, दीर्घरोगी, मजदुर, किसान आदिको प्राथमिकताको आधारमा स्वास्थ्य विमा
गरिने, खुदुनाबारी स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै मेडिकल अधिकृत राखिने, हाल प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा खडा गरिने, अर्जुनधारा आयुर्वेद औषधालयको स्तरोन्नति गरिने जस्ता ११ बुँदा अगाडि सारिएको छ ।

उपप्रमुख आचार्यले युवा, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशी र मजदुरको हितमा पनि कार्यक्रम अगाडि ल्याइएको बताएकी छिन् ।

उनले युवाको हकमा एक वडा एक उद्यम खडा गर्दै टोल–टोलमा विस्तार गरिने, लागू औषध दुव्र्यवसनी न्यूनिकरण गर्न विद्यालय तथा क्याम्पसमा युवा जनचेतना, खेलकुदको हकमा एक वडा एक व्यायमशाला, नगरमा न्यूनतम् ३ वडा कभड हल, नगरमा ३ वटा फुटबल मैदान र लैङ्गिक समानताका लागि एक वडा एक महिला उद्यम, अपाङ्ग व्यक्तिहरुलाई आयमुलक सीप सञ्चालन गरिने, व्हील चेयर, बैशाखी तथा सेतो छडी वितरण गरिने, मजदुरको हकमा लगत संकलन तथा सूचिकृत गरि असंगठित कृषि निर्माण तथा खोला मजदुरको दुर्घटना बिमा गरिने बताइन् ।

पूर्वाधार विकासका लागि उपप्रमुख आचार्यले बहुबर्षीय योजना अन्तर्गत नगरभित्र ६० किलोमिटर सडकको स्तरोन्नति र २५ किलोमिटर कालोपत्रे निर्माण गर्नका लागि प्रदेश र संघसँग सहकार्य गर्ने, विरिङ, टाङटिङ खोलामा तटबन्धन, ग्रीन बेल्ट, शनिश्चरे बजारलाई व्यवस्थित तथा सौन्दर्यकरणमा निरन्तरता दिने, राजन गिरी मार्ग अन्तर्गत विरिङ खोलामा पुल निर्माण गरिने, वडा कार्यलयहरु निर्माण गर्दै जाने, नगरभित्रका अतिआवश्यक कल्र्भट निर्माण गरिने जस्ता विषय अगाडि सारिएको छ ।

वन वातावरण तथा विपद व्यवस्थापनका लागि शनिश्चरेको खानेपानीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न संघ तथा प्रदेशसँग समन्वय गरिने, हात्ती पीडित क्षेत्रमा सडक बत्तीको व्यवस्थापन गरिने, नगरभित्र रहेका विभिन्न वन उपभोक्ता समितिलाई नगरको नीति तथा कार्यक्रम अनुसार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने, जरुवा तथा खानेपानीको मुहान सम्भावियताको पहिचान गरि संरक्षण गर्ने नीति तथा कार्यक्रममा रहेको बताइन् ।

सुशासन तथा व्यवस्थापन विकासका लागि नगरअन्तर्गत रहेका कर्मचारीहरुलाई प्रविधिमैत्री बनाउने, नगरभित्र रहेका सामुदायिक विद्यालय तथा नगर महाततका कर्मचारीहरुलाई ई–हाजिरीको व्यवस्थापन गर्ने, विशिष्ट सहकारी सञ्चालन कार्यविधि निर्माण गर्ने, नगरको भौतिक निर्माण कार्यविधि निर्माण गर्ने, भूमिको वर्गीकरण गरि आवश्यक लगत संकलन गर्ने, न्याय सम्पादनमा वडा मेलमिलापकर्ताहरुलाई परिचालन गर्ने कुरा अगाडि ल्याइएको बताइन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको नगरसभाको उद्घाटन प्रदेश सांसद बृख प्रधानले गरेका थिए । प्रमुख अतिथि समेत रहेका प्रधानले विकासको गतिमा स्थानीय सरकार र प्रदेश सरकार नङ र मासु जस्तै भएर अगाडि बढेको जोड दिए ।

विकासको क्रम कुनै पनि ठाउँमा रोकिएको छैन, यसलाई आत्मसाथ गर्नका साटो आलोचना गरेर मुलुक समृद्धीको बाटोमा जान नसक्ने बताए ।

स्वागत मन्तव्य बिना नै नगरलाई समेटेर तयार पारिएको नगर गीत प्रस्तुत गरेर स्वागत गरिएको थियो । उक्त गीतमा नगरपालिकाको सबै वडा र पहिचान झलकाउने गरी तयार पारिएको शब्द रहेको थियो ।

सभामा नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटा बाहेक अन्य राजनीतिक दलको उपस्थिति थिएन । प्रशासकीय प्रमुख पंकज भुर्तेलले पहिलो पटक सञ्चालन गरेको नगरसभाको समापनमा अध्यक्ष नगर प्रमुख हरिकुमार रानाले १५ गतेसम्म सभा स्थगन भएको बताए ।

नेपाली कांग्रेसको उपस्थिति रहेन

सातौं नगरसभामा नेपाली कांग्रेसबाट प्रतिनिधि उपस्थित भएको देखिएन । यसअघिको नगरसभामा शुभकामना मन्तव्यसहित सुझाव राख्दै आएको कांग्रेसले जनप्रतिनिधिलाई विकासका कामको सिलिङ नदिइ आफू खुशी गरेको आरोप लगाउँदै नेपाली कांग्रेस नगर समितिले सांकेतिक बहिस्कार गरेको नगरका एक जिम्मेवार नेताले बताए ।

नगरसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व भएका कुनै पनि जनप्रतिनिधिहरुको उपस्थिति थिएन । नेपाली कांग्रेस वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष नविन ढुंगना ‘नवराम’ का अनुसार वडाको महत्वलाई यो पटक नगरले बुझ्न सकेन त्यसैले नगरसभामा उपस्थिति भएनौं ।

अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित ३ वडाध्यक्षसहित ६ जना वडा सदस्य रहेका छन् ।
यस विषयलाई लिएर नगरसँग सम्पर्क गर्दा वडामार्फत नै नगर भएको र नगरको समग्र विकास नै वडाको विकास भएको प्रतिक्रिया दिए ।