‘चुनौतिलाई अवसरको रुपमा लिन सफल होस्’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

‘चुनौतिलाई अवसरको रुपमा लिन सफल होस्’


यलम्वर टाइम्स
५ श्रावण २०७७, सोमबार १०:०२

सिद्धहस्त दिपीन राईको नेतृत्वमा प्रकाशित यलम्वर टाइम्स साप्ताहिक १२ औं वर्ष पूरा गरेर १३ औं वर्ष प्रवेश गरेको जानकारी गराउँदा म हर्षित भएको छु । यस अवसरमा यलम्वर टाइम्स साप्ताहिक परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यस अखबारले अझै यस्ता वर्षहरु मनाउन सकोस् भन्ने कामना गर्दछु ।

नेपाली पत्रकारिताको केन्द्रीय स्तरमा निरन्तर उपस्थिति जनाउन सक्ने सञ्चारकर्मी दिपीन जी, अर्जुनधारा नगरपालिकाको बासिन्दार भएकोमा म गौरान्वीत छु । लामो समयदेखि नेपाली पत्रकारितामा पुर्याएको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु । दिपीन जी र उहाँको टिमको निरन्तरता र मिहेनतको प्रतिफल आज यलम्वर टाइम्सले प्रकाशनको १३ औं वर्ष प्रवेश गर्न सफल भएको छ ।

सीमित स्रोत, बजारको अभाव, पत्रिकारलाई पाठक सामु पुर्याउन समस्या लगायतका चुनौति पार गर्दै आजको अवस्थामा आउन सक्नु सामान्य विषय होइन । यस्तो अवस्थामा पनि प्रकाशनले हरेक चुनौति पार गर्दै यस नगरपालिकाका पाठकहरुलाई सूचना पाउने अधिकार प्रदान गर्न सफल भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

अहिले विश्व नै कोभिड–१९ महामारीमा गुज्रीरहेको छ । यस्तो बेला विश्वका धेरै अखबारहरु बन्द भएका छन् । तपाईहरु यही समयमा वार्षिक उत्सवतर्फ चढ्दै हुनुहुन्छ । यलम्वर टाइम्सलाई आजकै दिनदेखि यस्ता चुनौतिलाई अवसरका रुपमा प्रयोग गर्न सक्ने सामथ्र्य मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । यस्तो अकरिलो समयमा अन्य क्षेत्र जस्तै सूचना र सञ्चार क्षेत्रको दायित्व उच्च हुने कुरामा यहाँहरु जानकार हुनुहुन्छ । महामारीका बेला अझ जिम्मेवार पूर्वक सूचना सम्प्रेषण गर्न टिम सक्रिय हुनेछ भन्ने मेरो अपेक्षा छ । नगरको विकासमा यलम्वर टाइम्सले अहिलेसम्म खेलेको भूमिका प्रशंसनीय छ । आगामी दिनमा यो भन्दा प्रभावकारी भूमिका खेल्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।

काम गर्ने क्रममा हामीबाट भएका कमिकमजोरीहरु खुला दिलले औल्याइदिनुहुन म अनुरोध पनि गर्न चाहन्छु । यहाँहरुको सुझावलाई मनन् गर्दै नगरको विकासमा दत्तचित्त भएर लाग्ने प्रण गर्दछु । तपाई हामी सबैको साझा प्रयासले मात्र नगरले अघि सारेको समृद्ध अर्जुनधारा, खुशी अर्जुनधारावासी नारा सफल हुने हाम्रो ठहर छ । यहाँहरुको हातमा हात र साथमा साथ मिलाएर हामी तयार रहेको स्मरण गराउँदै पत्रिकाको निरन्तरताको लागि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

– हरिकुमार राना, प्रमुखः अर्जुनधारा नगरपालिका