टीकाकै दिन माङसेबुङमा जनमुक्तिको अधिवेशन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

टीकाकै दिन माङसेबुङमा जनमुक्तिको अधिवेशन


यलम्वर टाइम्स
६ कार्तिक २०७८, शनिबार ०३:०४

माङसेबुङ । राष्ट्रिय जनमुक्ति पार्टी माङसेबुङ इलामले विजयदशमी टीकाकै दिन छैठौं गाउँ अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ ।

देश विजयदशमीको टीकामा होमिरहेको बेला माङसेबुङका जनमुक्तिहरु अधिवेशनमा व्यस्त देखिन्थे । अधिवेशन अगाडि केलाङ, माङलाङ, ढोल र झ्याम्टाले माङसेबुङ घन्किरहेको थियो ।

माङसेबुङ–५ को सभाहलमा भएको अधिवेशनमा उपस्थिति बाक्लै थियो । अधिवेशन उद्घाटन गर्न संघीय अध्यक्ष केपी पालुङ्वा सम्बोधन गर्न केन्द्रीय उपाध्यक्ष कमला थापा र सचिव गजेन्द्र आङबोहाङ उपस्थित रहँदा जनमुक्तिका कार्यकर्ताहरु अझ उत्साहित देखिन्थे ।

छैठौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले जनमुक्तिको उद्गम थलोको रुपमा माङसेबुङ लारुम्बा रहेको बताउँदै यो सन्देश अधिराज्यभरि छरिने बताए ।

अध्यक्ष पालुङ्वाले बहुल जातीयतामा रमाएको राष्ट्र एक जाति विशेषले सञ्चालन गर्दा अन्य जातिको चित्त दुखाई भएको जानकारी गराउँदै सबै जातको समान अधिकारका लागि जनमुक्ति लड्दै आएको बताए ।

कार्यक्रममा विशेष अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष महिला नेतृ कमला थापाले एकात्मकवादले जकडिएको हाम्रो मुलुक, त्यसलाई तोड्न जनमुक्ति पार्टी आवश्यक भएको बताए । उनले महिला स्वतन्त्रता, न्याय–समानता र अग्रअधिकार जनमुक्ति पार्टीको दस्तावेजमा रहेको बताए ।

महासचिव पदम जवेगुले एकात्मकवादको अन्त्य जनमुक्तिको मार्ग निर्देश रहेको बताए । केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले खस साहित्य आदिवासी जनजातिहरुको रुचिको विषय होइन, यो ऐच्छिक विषय हो । यसलाई निरन्तरता एकात्मकवादले लादेको हुँदा हाम्री स्वीकार्न सक्दैनौं त्यसैले बहुलवादमा रहेर चौतर्फी विकासमा यहाँका आदिवासी जनजाति रमाउन चाहन्छन् । हामी त्यही सिद्धान्त प्रदान गर्न लागि परेका छौं, उनले भने ।

राति अबेरसम्म चलेको अधिवेशनले सुरेन्द्र तुम्वहाम्फेलाई अध्यक्षमा चयन गरेको छ भने कार्यकारी अध्यक्ष अर्जुन सम्वाहाम्फेलाई चयन गरेको छ ।

यसरी नै उपाध्यक्षमा नुमा मावोहाङ, सचिव कुमार फेम्बो, संगठन सचिव सेन्छेङहाङ आङदाम्बे, सहसचिव रोशन आङ्दाम्बे र कोषाध्यक्ष समिक्षा कुरुम्बाङ रहेका छन् ।

यसरी नै सदस्यहरुमा डम्वरसिंह लिम्बू, सलबहादुर फ्याँक र भवानीप्रसाद आङदाम्बे रहेको अर्जुनधाराका अध्यक्ष राज खम्बूले बताए ।